राजनीति


सप्तरी १ की सांसद पुष्पा : स्वास्थ्यकर्मी हुँदा समाज बुझिन्, बदल्न राजनीतिमा होमिइन्

सप्तरी १ की सांसद पुष्पा : स्वास्थ्यकर्मी हुँदा समाज बुझिन्, बदल्न राजनीतिमा होमिइन्

लक्ष्मी बलायर
फागुन २७, २०८२ बुधबार २०:४४, काठमाडौँ

केही वर्षअघि सप्तरीकी पुष्पाकुमारी चौधरी देशभरिका गाउँ–गाउँ पुग्थिन्। र, जनतालाई स्वास्थ्य सेवा दिन्थिन्।

तर, अब पुष्पाको परिचय र जिम्मेवारी फेरिएको छ। स्वास्थ्यकर्मी पुष्पा अब सांसद बनेकी छिन्। पुराना राजनीतिक दलको गढ मानिने सप्तरी क्षेत्र नम्बर–१ बाट पुष्पाले पहिलो प्रयासमै जित निकालेकी छिन्।

पुष्पाले यूएसएआईडी र मेरी स्टोप्स जस्ता संस्थाहरूमा काम गरिन्। स्वास्थ्यकर्मीका रूपमा जनताको सेवा गर्दागर्दै उनलाई समाजको मुख्य समस्या समाधान गर्न राजनीतिमै आउनुपर्ने बोध भयो। त्यसकारण आफू यसपटक चुनावमा होमिएको उनको भनाइ छ।

‘पेसाले म स्वास्थ्यकर्मी हुँ, स्वास्थ्य क्षेत्रबाट त सेवा भइरहेकै थियो, तर समाजमा अझै परिवर्तन ल्याउन राजनीतिमा जोडिनुपर्छ भन्ने लागेर चुनावमा होमिएँ,’ उनले नेपालखबरसँग भनिन्।

पुष्पा सप्तरी क्षेत्र नं. १ कञ्चनरुप नगरपालिकामै जन्मे–हुर्किएकी हुन्। सप्तरीकै छोरी भनेर जनताले आफूमाथि गरेको आशा र विश्वासलाई कायम राख्ने उनको भनाइ छ।

भन्छिन्, ‘सप्तरीको मलाई धेरै माया लाग्छ। किनकि यो मेरो जन्मभूमि हो। जहाँ म जन्मेँ अनि हुर्केँ। मलाई सानैदेखि यहाँको हरेक समस्या थाहा छ। जनताले जुन आशा र भरोसाका साथ मलाई मौका दिनुभएको छ, त्यो विश्वास म टुट्न दिने छैन।’

हुन त पुष्पालाई राजनीतिक विषयवस्तुमाथि चासो थियो। उनी देशमा हुने राजनीतिक घटनाक्रम र गतिविधिबारे जानकार थिइन्। तर, राजनीतिबाट भने टाढै थिइन्।

२०७९ सालमा रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भयो। रास्वपाको सुरुवातसँगै पुष्पा राजनीतिमा सक्रिय भइन्। त्यसबेलादेखि नै पार्टीलाई सहयोग गरेकी उनी यसपटक प्रत्यक्षतर्फको चुनावी मैदानमा होमिइन्।

३८ हजार १९५ मत ल्याउँदै ३६ वर्षीया पुष्पा संसदमा प्रवेश गरिन्। पुष्पाले स्वाभिमान पार्टीका सुमितकुमार, नेकपा एमालेका सुमनराज प्याकुरेल र कांग्रेसका रामदेव साहजस्ता नेताहरूसहितका २० जना प्रतिस्पर्धीलाई हराइन्।

उनका अनुसार राजनीतिमा युवाहरूको सहभागिता अनिवार्य छ। यस्तोमा युवा पुस्तान्तरणको लागि जन्मिएको रास्वपाको नीति र प्रक्रियाले आफूलाई आकर्षित गरेको सुनाउँछिन् उनी।

‘हामी युवा हौँ र युवाले देशको लागि चासो राख्नैपर्छ। हामीले नेतृत्व गर्नुपर्छ भन्ने लागेरै राजनीतिमा आएकी हुँ,’ उनले भनिन्, ‘नयाँ सोच र विचारले गर्दा रास्वपा जन्मियो। युवा पुस्तान्तरणको जुन अवसर पार्टीले दियो, त्यसैका कारण सांसदसम्मको यात्रा तय भयो।’

सप्तरी क्षेत्र नम्बर–१ बाट २१ जना उम्मेदवारमध्ये पार्टीबाट उठ्नेमा पुष्पा एक्ली महिला उम्मेदवार थिइन्। उनका प्रतिस्पर्धीहरू कोही पूर्वसांसद त कोही दशकौँदेखि राजनीतिमा चिनिएका अनुहारहरू थिए। तर, जनताले पुराना आश्वासनभन्दा नयाँ अनुहार र नयाँ क्षमतालाई रोजेको उनको भनाइ छ।

‘पहिला पुराना दल र नेताहरूले आश्वासन मात्र दिनुभयो तर काम गर्नुभएन। त्यसैले उहाँहरूप्रति जनतामा असन्तुष्टि थियो। जुन कुरा मैले घरदैलो कार्यक्रममा जाँदा देखेँ। र, उहाँहरूले परिवर्तन खोज्नुभयो,’ उनले भनिन्।

पुष्पालाई आफ्नो क्षेत्रका दुःख र अभावबारे नजिकबाट थाहा छ। उनका अनुसार कृषि र शिक्षा क्षेत्रको खस्कँदो अवस्था त्यहाँको मुख्य चिन्ताको विषय हो। त्यस्तै, कोसी टप्पु वन्यजन्तु आरक्ष नजिकै भएकाले स्थानीयले भोग्नुपरेको वन्यजन्तुको त्रासलाई पनि उनले प्राथमिकतामा राखेकी छन्।

‘यहाँ कृषि र शिक्षाको स्तर गुणस्तरहीन बन्दै गएको छ। स्वास्थ्य क्षेत्रको अवस्था पनि उस्तै छ। अर्ना र हात्तीको आक्रमणले स्थानीयहरू असुरक्षित छन्। मलाई जिताउने जनताको सुरक्षा मेरो प्राथमिकता हो,’ उनले प्रतिबद्धता व्यक्त गरिन्।

यसबाहेक पुष्पाले मधेस प्रदेशमा जरा गाडेर बसेको दाइजो प्रथा र महिलामाथि हुने विभेदलाई आफ्नो मुख्य एजेन्डा बनाएकी छन्। सामाजिक कुप्रथाविरुद्ध काम गर्ने उनले बताइन्।

‘मलाई सानैदेखि त्यहाँको हरेक समाज थाहा  छ नि त। महिलाहरू अझै पनि घरबाहिर निस्कन र शिक्षामा विभेद भोगिरहेका छन्। मधेसमा दाइजो प्रथा र महिलामाथि हुने हिंसा विकराल छ। दाइजो प्रथा न्यूनीकरणका लागि म संसदमा बुलन्द आवाज उठाउनेछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad