राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १६ जना प्रत्यक्षतर्फका महिला उम्मेदवार मध्ये १३ जना निर्वाचित भएका छन्। जुम्लामा बिनिता कठायत राप्रपाका ज्ञानेन्द्र शाहीसँग, सुनसरी–१ मा सरिन तामाङ श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राईसँग र हुम्लामा टासी ल्हान्जोम कांग्रेसका जयपती रोकायासँग पराजित भइन्।
संघीय संसदमा दलहरुले ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनै पर्ने बाध्यकारी कानूनी व्यवस्थाका कारण रास्वपाको बन्दसूचीबाट कम्तिमा ४८ जना महिला संसदमा पुग्ने निश्चित भएको छ।
रास्वपाको बन्दसूचीको विभिन्न क्लस्टरमा समावेश ६० जना महिलामध्ये ४८ जना महिला सांसद बन्ने देखिन्छ। रास्वपाबाट बन्दसूचीमा परेका १३ जना महिला उम्मेदवार मात्र सांसद बन्न वञ्चित हुने छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ६० (४) अनुसार दलले प्राप्त गर्ने सिट संख्या निर्धारण गर्दा आयोगले त्यस्तो दलका तर्फबाट संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) मा प्रतिनिधित्व गर्ने कुल सदस्य संख्याको ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी निर्वाचित गर्नुपर्छ ।
रास्वपाको राष्ट्रिय सभामा प्रतिनिधित्व नभएकाले ३३ प्रतिशत महिला प्रतिनिधिसभाबाटै पूर्ति गर्नुपर्छ। रास्वपाले समानुपातिकतर्फ पाएको मत को हिसाब गर्दा ५७ सिट जित्ने आँकलन छ। प्रत्यक्षतर्फ रास्वपाबाट १२५ जना निर्वाचित भइसकेका छन्। कुल मिलाएर रास्वपाको १८२ सिट हुन्छ र यसको ३३ प्रतिशत भनेको ६० जना हुन आउँछ। रास्वपाबाट प्रत्यक्षमा १३ जना मात्रै निर्वाचित भएको हुँदा बाँकी परिपुर्ति समानुपातिकबाट गर्नुपर्ने छ। समानुपातिकबाट न्यूनतम ४८ जना महिला आउँदा मात्रै ३३ प्रतिशत पुग्छ। रास्वपाले प्रत्येक क्लस्टरमा माथिल्लो प्राथमिकतामा राखेका उम्मेदवारहरु सांसद बन्ने निश्चित छ।
रास्वपाकी सहमहामन्त्री तथा सभापति रवि लामिछानेको विश्वास पात्र प्रतिभा रावल खसआर्य महिलाको पहिलो नम्बरमा छिन्। रास्वपाले समानुपातिकका लागि गरेको प्राइमरी इलेक्सनमा महिलातर्फ पहिलो बनेकी उनी सांसद बन्ने पक्का छ। जेनजी आन्दोलनका शहिद रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री खसआर्यतर्फ दोस्रो नम्बरमा छिन्। उनी पनि सांसद बन्ने छिन्। रास्वपाकी केन्द्रीय कोषाध्यक्ष लिमा रास्वपाबाट माननीय बन्ने लगभग निश्चित देखिएको छ।
यस्तै, गोल्डस्टार जुत्ता उत्पादक कम्पनी म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशक बिधुषी राणा पनि खस आर्य महिला कोटाबाट समानुपातिक सांसद बन्ने लगभग निश्चित छ।
निर्वाचनअघि एकता प्रक्रियाबाट रास्वपामा आएकी विवेकशील साझा पार्टीकी तत्कालीन अध्यक्ष समिक्षा बास्कोटा पनि सांसद बन्ने छिन् भने रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौला पिछडिएको क्षेत्रको कोटाबाट सांसद बन्ने निश्चित छ। क्रान्तिशिखा धिताल पनि सांसद सम्भावना छ। कलाकारिता क्षेत्रबाट राजनीतिमा आएकी रिमा विश्वकर्मा दलित महिलाको कोटाबाट समानुपातिक सांसद बन्दैछिन्।
रास्वपाकी सह कोषाध्यक्ष बसुमाया तामाङ रास्वपाले सुरुमा बुझाएको समानुपातिक बन्दसूचीमा थिइनन्। संसोधित सूचीमा उनको नाम आदिवासी जनजातितर्फ पहिलो नम्बरमा छ। शारीरिक अपांगता भएकी गंगा छन्त्याललाई रास्वपाले आदिवासी जनजाति महिला क्लस्टरमा तेस्रो नम्बरमा राखेको छ।
सीएनएन इन्टरनेसनलकी पूर्व दिल्ली बेस रिपोर्टर सुम्निमा उदास पनि सांसद बन्दै छिन्। आदिवासी जनजाति महिला क्लस्टरमा चौंथो नम्बरमा रहेकी पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ पनि सांसद बन्ने निश्चित देखिएको छ। मधेसी महिला क्लस्टरतर्फ पहिलो नम्बरमा रहेकी पुनमकुमारी अग्रवाल सांसद बन्ने पक्का देखिन्छ। प्राइमरी इलेक्सनमा मधेसी महिलातर्फ पहिलो भएकी थिइन्। रास्वपाकी केन्द्रीय सदस्य निशा मेहता मधेसी महिला क्लस्टरमा दोस्रो नम्बरमा रहेकी छन्। उनी रास्वपाबाट समानुपातिक सांसद बन्ने पक्का छ।
मुस्लिम महिलातर्फ पहिलो नम्बरमा रहेकी समिना मिया र अफ्सना बानुको पनि लगभग निश्चित छ। मधेसी महिलातर्फ ललिताकुमार, अंकिता ठाकुर, सरिता महतो लगायत आउन सक्नेछन्। आदिवासी जनजातितर्फ ओजश्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमिला कुलुजु, सुजता तामाङ, कृपा मर्हजन लगायत प्रतिस्पर्धामा छन्। दलित महिला कोटाबाट अमृता विक, सीता वादी, थारुबाट गीता चौधरी समानुपातिक सांसद बन्ने प्रवल सम्भावना छ।
यस्तै खस आर्य पुरुष रमेश प्रसाईं, सुदीप ढकाल र प्रमोद न्यौपाने, जनजाती पुरुषतर्फ डा राम लामा, खुश्बु सरकार श्रेष्ठ, मधेसी पुरुषतर्फ सुप्रभात यादव, खगेन्द्र कर्ण, दलित पुरुषतर्फ प्रकाशचन्द्र परियार,थारू पुरुषतर्फ सुरेन्द्र चौधरी पनि संसाद बन्ने सम्भवना बलियो छ।
Shares

प्रतिक्रिया