राजनीति


शेरबहादुर तामाङप्रति गोकुल बास्कोटाको आक्रोश: म तपाईंजस्तो चरम अवसरवादी होइन

शेरबहादुर तामाङप्रति गोकुल बास्कोटाको आक्रोश: म तपाईंजस्तो चरम अवसरवादी होइन

शेरबहादुर तामाङ र गोकुल बास्कोटा


नेपालखबर
फागुन ३०, २०८२ शनिबार ७:५२, काठमाडौँ

नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले अर्का केन्द्रीय सदस्य शेरबहादुर तामाङको कडा आलोचना गरेका छन्। 

शनिबार बिहान सामाजिक सञ्जालमार्फत बास्कोटाले तामाङ आफूविरुद्ध सार्वजनिक रूपमा जाई लागेको आरोप लगाउँदै आक्रोश व्यक्त गरेका हुन्। 

‘भन्न मन थिएन तर मेरो मत मैले राखेबापत उनको कोदोबारी फाँडेसरह शेरबहादुर तामाङजी ममाथि सार्वजनिक रूपमा जाई लागेछन्’, पूर्वमन्त्रीसमेत रहेका बास्कोटाले लेखेका छन्, ‘म तपाईंजस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होइन, पटकपटक पार्टी नै फुटाउनसमेत पछि नपर्ने चरम अवसरवादी पात्र होइन। ०३८ यताका इतिहस हेरौँ न।’

तर बास्कोटाले तामाङले आफूविरुद्ध के भने भन्ने कुरा खुलाएका छैनन्।

यद्यपि तामाङले शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा चुनावी परिणामबारे समग्रमा समीक्षा गर्नुपर्ने बताउँदै आफ्नो निर्वाचन क्षेत्रसमेत जोगाउन नसक्ने नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई दोष देखाएर उम्किन नमिल्ने टिप्पणी गरेका थिए।  

अध्यक्ष ओलीको आलोचना गरेकै कारण यसपटक टिकट नदिइएको बास्कोटाको निर्वाचन क्षेत्र काभ्रे-२ मा एमाले हारेको छ। जहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बदनकुमार भण्डारी विजयी भए भने एमालेका उम्मेदवार अशोक कुमार व्याञ्जु श्रेष्ठ तेस्रो स्थानमा सीमित भए। 

त्यसो त यसपालि (फागुन २१ गते) को प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले झन्डै दुईतिहाइ (१८२) सिट जित्दा एमाले धेरै ठाउँमा पराजित भएको छ। तेस्रो स्थानमा रहँदै एमालेले प्रत्यक्ष ९ र समानुपातिक १६ गरी जम्मा २५ सिट जितेको छ। 

स्वयं अध्यक्ष ओली पनि झापा-५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग ५० हजार मतान्तारले हारे। 

यसपछि झन् ओली इतर नेताहरूले नेतृत्व परिवर्तनको आवाज चर्को पारेका छन्। जसमा बास्कोटा पनि पर्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad