राजनीति


कांग्रेस दलको नेतामा केसी र आङदेम्बे गणितीय खेल, चर्चामा ३५ वर्षीय निश्कल

कांग्रेस दलको नेतामा केसी र आङदेम्बे गणितीय खेल, चर्चामा ३५ वर्षीय निश्कल

लोकेन्द्र भट्ट
चैत ५, २०८२ बिहिबार १६:५०, काठमाडौँ

आठ दशक लामो इतिहास भएको नेपाली कांग्रेसको संसदीय दलको नेतामा ३५ वर्षीय निश्कल राईको नाम चर्चामा छ। प्रतिनिधिसभा निर्वाचनमा सबै शीर्ष नेता पराजित भएपछि दलको नेतामा इलाम–१ बाट निर्वाचित निश्कलको नाम अगाडि आएको हो। 

भावी प्रधानमन्त्रीका रुपमा चुनावी मैदानमा उभिएका सभापति गगन थापासहित सबै पदाधिकारी पराजित भए। महामन्त्रीद्वय प्रदीप पौडेल, गुरुराज घिमिरे, सहमहामन्त्रीहरूमा फरमुल्लाह मन्सुर, उदयशम्शेर राणा, प्रकाश रसाइली स्नेही, योगेन्द्र चौधरी र कर्णबहादुर बुढा जित निकाल्न असफल भए। 

शीर्ष नेता शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशशरण महत, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, मिनेन्द्र रिजाल, चन्द्र भण्डारी लगायत पराजित भए। कांग्रेसका उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल संसदीय प्रतिस्पर्धामै सामेल भएनन् भने केही शीर्ष नेतालाई टिकटबाट वञ्चित गरिएको थियो।

प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिएको कांग्रेस प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सिटका साथ संघीय संसदको दोस्रो ठूलो दल बनेको छ। संसदमा प्रत्यक्षतर्फबाट शीर्ष नेता प्रवेश गर्ने ढोका बन्द भएपछि संसदीय दलको नेताका रुपमा निश्कल धेरैको नजरमा परेका छन्। निश्कल पनि कांग्रेस संसदीय दलको नेताको जिम्मेवारी लिन तयार सुनिन्छन्। 

नेपालखबरसँग उनले भने, ‘पार्टीले जिम्मेवारी दिन्छ भने तयार छु।’ 

निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी प्रधानमन्त्रीमा ३६ वर्षीय बालेन्द्र शाह ‘बालेन’लाई अगाडि सारेर करिब दुई तिहाइ सिट प्राप्त गरिसकेको छ।

चैत दोस्रो साता रास्वपा वरिष्ठ नेता बालेनले देशको नेतृत्व सम्हाल्ने निश्चित छ। कांग्रेस संसदीय दलको नेता बनेर निश्कल संसदमा बालेन सरकारसामु रचनात्मक प्रतिपक्षी भएर उभिन चाहन्छन्। 

‘३५ वर्षको व्यक्ति (बालेन शाह) प्रधानमन्त्री हुन्छन् भने ३५ वर्षकै अर्को व्यक्ति म प्रमुख प्रतिपक्षी दलको नेता किन नबन्ने भन्ने हो,’ उनी भन्छन्, ‘सरकारको आलोचना मात्र होइन, राम्रो कामको समर्थन पनि हुनेछ। विकल्प र समाधान पनि प्रस्तुत गर्ने छौँ। अबको यात्रा संस्कारयुक्त जवाफदेही र नागरिकप्रति उत्तरदायी सदन बनाउनु हो।’ 

पार्टीमा आम सहमतिबाट आफू दलको नेता बन्ने उनको चाहना छ।

संसदीय गणितमा देउवा–कोइराला समूह हाबी
कांग्रेस संसदीय दलको विधानबमोजिम संसदीय दलको नेता चयन गर्ने विषयमा सर्वसम्मत नभए निर्वाचन हुने व्यवस्था छ। कांंग्रेस नेताहरुका अनुसार यसपटक संसदीय दलको नेतामा सहमतिको सम्भावना बढी छ। कांग्रेस संसदीय दलको विधानमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट एक जनालाई दलको नेता चयन गर्ने व्यवस्था छ।

यस्तो दलको नेताका लागि एकभन्दा बढीले दाबी गरेको अवस्थामा निर्वाचन प्रक्रियाबाट छान्नुपर्ने भए निर्वाचित हुन कम्तीमा ५१ प्रतिशत मत प्राप्त गर्नैपर्ने हुन्छ। कांग्रेसको युवा पंक्तिमा निश्कललाई दलको नेता बनाउनुपर्ने आवाज उठिरहँदा समानुपातिकबाट निर्वाचित पूर्व सहमहामन्त्रीद्वय अजुननरसिंह केसी र भिष्मराज आङ्देम्बेलाई सम्भावित दाबेदारका रुपमा हेरिएको छ।

पञ्चायती व्यवस्थादेखि संसदीय राजनीतिमा रहेका केसी वर्तमान संसदमा सबैभन्दा अनुभवी राजनीतिज्ञ हुन्। २०३८ मा राष्ट्रिय पञ्चायतबाट निर्वाचित ७८ वर्षीय केसी कांग्रेसबाट २०४८, २०५१, २०७० र २०७९ मा नुवाकोटबाट निर्वाचित भएका थिए। आङदेम्बे दोस्रो संविधान सभामा निर्वाचित भएका थिए। कांग्रेसको संस्थापन पक्षीय नेता केसी र शेरबहादुर देउवा–शेखर कोइराला समूह निकट आङदेम्बेबीच सहमति नभए युवा भावनाको प्रतिनिधित्व हुने गरी विकल्पमा निश्कल दलको नेतामा अगाडि आउन सक्ने कांग्रेसवृत्तमा चर्चा छ।

कांग्रेस संसदीय दलको नेता चयनका सन्दर्भमा सोमबार पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा शेखर कोइरालाबीच भेटवार्ता भएको थियो। स्रोतका अनुसार चुनावपछि खड्काको निवासमा पुगेका कोइरालाले पार्टीको राजनीति र संसदीय दलको नेता चयनमा चासो राखेका थिए।

खड्का र कोइराला आङदेम्बेलाई दलको नेता बनाउने विषयमा एकमत देखिएको स्रोतको दाबी छ। सभापति थापा र देउवा–कोइराला समूहका नाममा सांसदहरु विभाजित भए निर्वाचन हुने छ। प्रत्यक्षमा निर्वाचित १८ जनामध्ये अधिकांश सभापति थापापक्षीय छन् भने समानुपातिकबाट आएका २० जनामा देउवा–कोइराला समूह हाबी छ।

संस्थापन पक्षका निश्कल राई, फिरदोस आलम, अभिषेकप्रताप शाह, खडकबहादुर बुढा, प्रकाशसिंह कार्की, बासना थापा, सन्तोष सुब्वा, भरतकुमार स्वार, मोहन आचार्य, नरेन्द्रकुमार केरुङ, जनकराज गिरी, खड्ग शाही, रेनुका काउचा, अर्जुननरसिंह केसी, कालीबहादुर सहकारी र मनमाया विक गरी १६ जना छन्। 

देउवा समूहमा विष्णुबहादुर खड्का, सन्दीप राना, जयपति रोकाया, टेकबहादुर गुरुङ,  भीष्मराज आङदेम्बे, मदनकृष्ण श्रेष्ठ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, सुशीला ढकाल आचार्य, सीता थपलिया, हरिनादेवी कामी, पवित्रा विक, नीनुकुमारी कर्ण, रेखाकुमारी यादव, र शाहजान खातुन गरी १५ जना छन्। यस्तै कोइराला समूहका भरतबहादुर खड्का, योगेश गौचन थकाली, गीताकुमारी सेन्दाङ, रुक्मिणी देवी कोइराला, रीना उप्रेती, प्रमिला कुमारी गच्छदार र डा चन्द्रमोहन यादव गरी ७ जना छन्। 

दलको नेतामा कोइराला समूह निर्णायक देखिन्छ। यद्यपि लामो समय देउवा र कोइराला क्याम्पमा रहेका नेताहरु विशेष महाधिवेशनबाट सभापति थापातिर ढल्किएकाले दलको नेताका लागि चुनाव हुँदा को कता उभिन्छन्, अनुमान गर्न कठिन छ।

टिकटमा जस्तै निश्कलले मार्लान् त बाजी?
कांग्रेसका ३८ जना सांसदमा संसदीय अभ्यास र अनुभव भएका प्रत्यक्षतर्फ निर्वाचित ६ र समानुपातिकतर्फका ३ जना मात्र छन्। यसअघि संसदमा पुगेकामध्ये कपिलवस्तु–३ बाट अभिषेकप्रताप शाह, बाजुराबाट जनकराज गिरी, डोटीबाट भरतबहादुर खड्का, रसुवाबाट मोहन आचार्य, मुस्ताङबाट योगेश गौचन थकाली र मनाङबाट टेकबहादुर गुरुङ निर्वाचित भएका छन्।

समानुपातिकतर्फबाट सांसद बनेका अनुभवीमा अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे र डा चन्द्रमोहन यादव छन्। यसपटक कांग्रेसबाट २९ जना नयाँ अनुहार संसदमा प्रवेश गरेका छन्। 

३६ वर्षीय बालेन प्रधानमन्त्री भएको अवस्थामा कांग्रेसले प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा निश्कल राईलाई अगाडि बढाउनुपर्ने आवाज कांग्रेसका युवा नेता टेकराज अवस्थीले आवाज उठाएका छन्। 

अवस्थी जस्तै कांग्रेसको धेरै युवाहरुले सामाजिक सञ्जालमा ‘कांग्रेस साँच्चै सुधारको बाटोमा जान चाहन्छ भने अब बन्ने संसदीय दलको नेतामा युवा नेता निश्कल राईलाई चयन गरेर अघि बढ्न सक्नुपर्छ,’ भन्दै अभियान चलाएका छन्।

निश्कलले इलाम–१ को टिकटमा बाजी मारेजस्तै दलको नेतामा पनि निर्वाचित होऊन् भन्ने चाहना युवा नेताहरुमा देखिन्छ। निश्कलले कांग्रेस इलाम सभापति डम्बर खड्का, अग्रज नेता बेनुपराज प्रसाईं, केशव थापा, टीकाराम सुब्बालगायत पन्छाएर टिकट हात पारेका थिए। 

उनले २६ वर्षपछि इलाम–१ मा कांग्रेसलाई जित दिलाएका थिए। २०५६ सालमा कांग्रेस नेता बेनुपराज प्रसाईंले झलनाथ खनाललाई हराएर बनाएको इतिहास दोहो‍¥याउन सफल भएका थिए निश्कल। इलाम–१ मा २०४८ को आम निर्वाचन, २०५१ को मध्यावधि निर्वाचन, २०६४ र २०७० का संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन एमालेका नेता खनाल विजयी भएका थिए। 

२०५६ मा कांग्रेसका प्रसाईंसँग पराजित खनाललाई २०७९ मा एमालेका महेश बस्नेतले हराएका थिए। फागुन २१ को निर्वाचनमा निश्कलले श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बूलाई ९ सय ११ मतान्तरले पराजित गर्दै संघीय संसदको यात्रा तय गरेका थिए।

इलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तुमा २०४७ फागुन ७ गते जन्मिएका निश्कलले काठमाडौंस्थित शंकरदेव क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन्। अविवाहित निश्कल हाल अर्थशास्त्रमा एमफिल गरिरहेका छन्। निश्कल विद्यालय जीवनदेखि नेपाल विद्यार्थी संघ (नेविसंघ)मा सक्रिय थिए।

विद्यालय–क्याम्पस इकाइ हुँदै नेपाल विद्यार्थी संघ इलामका विभिन्न जिम्मेवारी सम्हालेका छन्। अध्ययन, अनुसन्धान, समाजसेवा, प्रशिक्षण, शैक्षिक तथा वित्तीय संस्थाको अनुगमन र मूल्यांकनसँगै उनी निरन्तर राजनीतिमा सक्रिय छन्। 

सात वर्षअघि आमा बितेपछि वृद्ध बुबाको सहारा बन्न गाउँ फर्केका निश्कल कांग्रेसको जिल्ला राजनीतिमा केन्द्रित भए। इलाम क्षेत्र १ को क्षेत्रीय सहसचिवको जिम्मेवारी समेत सम्हालेका निश्कल १४ औँ महाधिवेशनबाट प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का सभापति बने। पुस २७–३० मा विशेष महाधिवेशनबाट केन्द्रीय नेतृत्व फेरिए पनि निश्कलको प्रदेश निर्वाचन क्षेत्रीय सभापति पद कायमै छ।

तत्कालीन संस्थापन इतर पक्षबाट प्रदेश क्षेत्रीय सभापति बनेका निश्कल अहिले पार्टी सभापति गगन थापाको कित्तामा छन्। विशेष महाधिवेशनको अभियानमा जोडिएका निश्कलको सम्बन्ध नेता शेखर कोइरालासँग पनि राम्रै देखिन्छ। कांग्रेसमा संसदीय अंकगणितको खेलमा केसी र आङदेम्बे अगाडि देखिए पनि वर्तमान राजनीतिक परिस्थितिमा निश्कलको चर्चा बढ्ता सुनिन्छ। प्रमुख प्रतिपक्षी कांग्रेसको दलको नेता संवैधानिक परिषदको सदस्य समेत रहने व्यवस्था भएकाले नेताहरुले महत्वका साथ हेरिरहेका छन्। 

महामन्त्री गुरुराज घिमिरेले दलको नेताको चयनबारे पार्टीमा अनौपचारिक छलफल सुरु भएको बताए। 

‘हामी सल्लाह गर्दैछौँ। सबैसँग परामर्श हुँदैछ। बाहिरबाट हेर्दा देखिएका नाम (अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे) नै त हो। त्यसमा नयाँ पुरानाको विषय एउटा भयो। सबैभन्दा राम्रो जे हुन्छ, त्यही गर्ने भन्ने छ। युग नै युवाको हो। कांग्रेस आफैँमा पुरानो पार्टी हो फेरि। मिलाएर गर्ने हो,’ उनी भन्छन्। 

पार्टीका ३८ जना सांसदको कुरा सुनेर एउटा बाटो तय गर्ने घिमिरेको भनाइ छ।
 
‘अनुभव र युवालाई मिलाएर निर्णय लिन्छौँ। सर्वसम्मतबाटै दलको नेता चयन गर्ने प्रयास भइरहेको छ,’ उनी भन्छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad