राजनीति


गगन थापाको राजीनामाबारे छलफल गर्न कांग्रेस बैठक बस्दै, अध्यक्षता विश्वप्रकाशले गर्ने

गगन थापाको राजीनामाबारे छलफल गर्न कांग्रेस बैठक बस्दै, अध्यक्षता विश्वप्रकाशले गर्ने

नेताहरू गगन थापा र विश्वप्रकाश शर्मा


नेपालखबर
चैत ५, २०८२ बिहिबार ९:१५, काठमाडौँ

सभापति गगन थापाले राजीनामा दिएपछि नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक भोलि शुक्रबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने उक्त बैठकको अध्यक्षता नेता थापाले गर्ने छैनन्। उपसभापति विश्वप्रकाश शर्माले अध्यक्षता गर्ने तय भएको छ।

बैठकको मुख्य कार्यसूची सभापति गगनकुमार थापाले दिएको राजीनामा र हालैको निर्वाचनमा पार्टीले भोगेको पराजयको समीक्षा रहेको छ। विशेष महाधिवेशनबाट नेतृत्वमा आएका थापाले निर्वाचनमा अपेक्षा गरे अनुसारको नतिजा नआएपछि नैतिकताका आधारमा राजीनामा घोषणा गरेका थिए।

बैठकमा उपसभापति शर्माले निर्वाचनमा ब्यहोरेको पराजयबारे प्रारम्भिक प्रतिवेदन पेस गर्नेछन्। धेरै ठाउँबाट विवरण आउन बाँकी रहेकाले अहिले प्रारम्भिक विवरण मात्रै राखिने कांग्रेसले जनाएको छ। केन्द्रीय कार्यालयले यसअघि नै सबै निर्वाचन क्षेत्रमा परिपत्र गरेर हार र जितका प्राविधिक तथा राजनीतिक कारण खुलाएर पठाउन निर्देशन दिइसकेको छ।

पार्टी स्रोतका अनुसार बैठकमा सभापति थापाको राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्नेमा चर्को बहस हुने देखिएको छ। शेरबहादुर देउवा पक्षले राजीनामाको पक्षमा दबाब बढाउन सक्ने भए पनि उपसभापति शर्माले भने राजीनामा अस्वीकृत गर्नुपर्ने प्रस्ताव लैजाने तयारी गरेका छन्।

शर्माको तर्क गर्दै आएका छन्,  'चुनाव हार्नुमा व्यक्तिको मात्र दोष छैन। विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वले निर्वाचनका लागि तयारी गर्ने निकै कम समय पाएको थियो। यस्तो छोटो अवधिमा भएको चुनावको परिणामलाई लिएर सभापतिले मात्रै जिम्मेवारी लिनु न्यायोचित हुँदैन। यो संस्थागत समीक्षाको विषय हो।'

भोलि हुने बैठकमा समानुपातिकतर्फको सिट बाँडफाँड र नयाँ बन्ने सरकारमा कांग्रेसको भूमिकाबारे पनि छलफल हुनेछ। हालैको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई तिहाइ मत ल्याएपछि कांग्रेस प्रतिपक्षमा बस्ने कि सरकारमा सहभागी हुने भन्नेमा पनि पार्टीभित्र दुई धार देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad