नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामालाई लिएर राजनीतिक वृत्त तातिरहेका बेला नेकपा एमालेका नेता सूर्य थापाले तिखो टिप्पणी गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत नेता थापाले गगनको राजीनामाको चर्चालाई ‘राजनीतिक स्टन्ट’ र ‘फण्डा’को संज्ञा दिएका हुन्।
थापाले राजीनामाको आधिकारिकतामाथि नै प्रश्न उठाउँदै यसलाई ‘बचपनापनको पराकाष्ठा’ भनेका छन्। उनले लेखेका छन्, 'राजीनामा दिनेले दिएको भनेका छैनन्, बुझ्नेले हो पनि भनेको पाइँदैन। राजीनामाको औपचारिक पत्रसमेत गायब छ। यो त खालि मिलोमतो र फण्डा जस्तो मात्रै देखिन्छ।'
७८ वर्ष लामो इतिहास बोकेको कांग्रेस जस्तो पुरानो पार्टीमा यस्तो 'अदृश्य' खेल हुनु दुखद रहेको थापाको तर्क छ। उनले राजीनामा सत्य हो भने कांग्रेस केन्द्रीय कार्यालय वा स्वयम् सभापतिले आधिकारिक रूपमा सार्वजनिक गर्नुपर्ने चुनौती दिएका छन्।
नेता थापाले फेसबुकमा कडा शब्दमा लेखेका छन्, 'मोही माग्ने ढुंग्रो लुकाउने यो तरिका वाहियात भयो। राजीनामा दिने वा नदिने भन्ने कुरा सम्बन्धित व्यक्तिको ४८ वर्षे जीवन र जवानीको निर्णय होला, त्यसमा हामीलाई चासो छैन। तर, यसरी देशलाई गुमराहमा राख्ने काम हुनुहुँदैन।'
पछिल्लो समय निर्वाचनमा अपेक्षित नतिजा नआएपछि कांग्रेस सभापति थापाले नैतिकताका आधारमा राजीनामा दिएको चर्चा चले पनि पार्टीले यसबारे औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन। शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले यसबारे ठोस निर्णय लिने बताइएको छ।
Shares

प्रतिक्रिया