नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट निगरानीका लागि प्रहरी गुण्डुमा खटाइएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार ओली र उनको सरकारका गृहमन्त्री रमेश लेखकलाई जसरी पनि पक्राउ गर्नु पर्ने गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि प्रहरीले त्यसका लागि लिखित आदेश माग गरेको छ।
लिखित आदेशविना जरुरी पक्राउ पुर्जी दिन नमिल्ने प्रहरीको अडान छ।
त्यसका लागि गुरुङले कानुन मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानालाई समेत प्रहरी मुख्यालय झिकाएका थिए। गृहसचिव राजकुमार श्रेष्ठ र दुवै प्रहरी प्रमुखसहित १ बजेसम्म पनि सहमती जुटिसकेको छैन।
जुनसुकै बेला ओली र लेखकलाई पक्राउ गर्नु पर्ने भएपछि प्रहरी प्रधान कार्यालयसहित उपत्यकाका प्रहरी युनिटलाई तयारी अवस्थामा रहन मौखिक सर्कुलर जारी भइसकेको छ।
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरिसकेको छ। सुरक्षाकर्मीको हकमा भने तत्काल कार्यान्वयन नगर्ने र आयोगको सिफारिस अध्ययन गरेर मात्रै अगाडि बढ्ने निर्णय भएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी र काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई तत्काल पक्राउ गरेर कारबाही अगाडि बढाउने सरकारको तयारी छ।
Shares

प्रतिक्रिया