राजनीति


समानान्तर गतिविधि थालेको देउवा-कोइराला समूहका तीन रणनीति

नयाँ पार्टी गठनको तयारीसम्मको छलफल
समानान्तर गतिविधि थालेको देउवा-कोइराला समूहका तीन रणनीति

लोकेन्द्र भट्ट
चैत १७, २०८२ मंगलबार २१:५१, काठमाडौँ

समानान्तर गतिविधि थालेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइराला समूह तीन वटा रणनीतिमा केन्द्रित देखिन्छ। देउवा–कोइराला पक्षका नेताहरूका अनुसार समूहगत छलफलमा पार्टी आधिकारिताको मुद्दा, संवादको दबाब र नयाँ पार्टी गठनको तयारीसम्मको विषयमाथि विमर्श भइरहेको छ। 

कांग्रेसको आधिकारिताको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ। पुस मसान्तमा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशन भएपछि कांग्रेस दुई खेमामा विभाजित भएको छ। विशेष महाधिवेशनले १४औँ महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्वको कार्यसमिति भंग गरी थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो। निर्वाचन आयोगले थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध देउवा र खड्काले सर्वोच्च अदालतमा दायर गरेको रिटमा चैत २२ गते पेसी तोकिएको छ।

चैत २२ गतेअघि तत्कालीन केन्द्रीय सदस्य, प्रदेश र जिल्ला सभापतिको भेला बोलाएर अदालतलाई प्रभाव देखाउने देउवा–कोइराला पक्षको रणनीति प्रस्ट देखिन्छ। विशेष र नियमित महाधिवेशनको राजनीतिक लडाइँमा निर्वाचन आयोगबाट प्रतिकूल निर्णय आएपछि रक्षात्मक बनेको यो समूह समानान्तर गतिविधि गरेर संस्थापन पक्षमाथि मनोवैज्ञानिक दबाब सिर्जना गराउने रणनीतिमा छ।

संस्थापन पक्षले आत्मसमर्पण गराउने नीति लिएपछि समानान्तर गतिविधिमार्फत दबाब बढाएर पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन बाध्य बनाउने आफूहरूको रणनीति रहेको देउवा–कोइराला पक्षका नेताहरू बताउँछन्। पार्टीभित्र मतमतान्तरले संवादको वातारण बनाउने उद्देश्यले नेताहरू छलफल र विमर्शमा जुटेको नेता मीन विश्वकर्मा बताउँछन्।

‘पार्टीमा कुनै तरंग सिर्जना नगरेर संवाद हुँदैन नि त। एउटा जीवन्त पार्टीमा मतमतान्तर हुन्छ। यसलाई मन्थनको विषय बनाएर एकतामा पुर्‍याउँछ,’ उनी भन्छन्। 

देउवा–कोइराला पक्षका नेताहरू पार्टीभित्र दबाब बढाएर सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मालाई १५औँ महाधिवेशन आयोजक समिति बनाउने ठाउँमा पुर्‍याउने रणनीतिमा छन्। सभापति थापाले भने आफ्नो पक्षका केही नेतालाई केन्द्रीय समितिमा मनोनयनको तयारी गरेपछि देउवा–कोइराला आक्रामक देखिएका छन्। 

नेता श्याम घिमिरेले आफ्नो पनि विचार समूहमा आत्मविश्वास र ऊर्जा भर्न आन्तरिक छलफल गरिएको बताए। 

‘आफ्ना साथीहरू एउटा ठाउँमा ल्याइराख्ने, उनीहरूका कुरा सुन्ने र पार्टीको बहुमत पक्ष हामी हौँ भन्ने सन्देश दिने कुरा हो,’ उनी भन्छन्। 

सर्वोच्च अदालतबाट पनि थापा नेतृत्वको केन्द्रीय समितिलाई मान्यता दिँदा कसरी जाने भन्नेमा देउवा–कोइराला पक्षभित्र आन्तरिक रणनीति बनिरहेको उनको भनाइ छ। 

‘अहिले फरक पार्टी निर्माणको गृहकार्य भएको छैन,’ घिमिरे भन्छन्, ‘भोलि सर्वोच्चले उनीहरूलाई नै मान्यता दियो। उनीहरूले कसैलाई वास्ता नगर्ने अवस्था बन्यो भने विद्रोह त राजनीतिमा हुन्छ होला। अहिले नै सबै जना पार्टी एकताकै पक्षमा हुनुहुन्छ।’ 

मंगलबारको छलफलमा नेता जीवनबहादुर शाहीले भने मिल्न नसक्ने भए समानान्तर गतिविधि गर्नुभन्दा नयाँ पार्टी बनाउनुपर्ने मत राखेका थिए। 

‘यो समानान्तर भन्ने कुरा हुँदैन। पार्टी उनीहरू (गगन थापा र विश्वप्रकाश शर्मा) ले लगिहाले। कि गएर मिलौँ, मिलेर जाऊँ, त्यसका लागि संवाद अघि बढाऊँ। संवादमा बस्न मन छैन, बस्ने इच्छा छैन भने अर्को पार्टी खोलौँ,’ शाहीले भने। 

नेता रामहरि खतिवडाले पार्टीलाई एकताबद्ध बनाउने काम अरूले गर्ला भनेर पर्खिन नहुने बताए। 

‘मुद्दा अदालतमा छ। तर, पार्टीलाई एकताबद्ध बनाएर लैजाने सोच हुनुपर्छ। एकताबद्ध बनाउने पहल यताबाट गर्ने कि उताबाट भनेर पर्खनेभन्दा पहल जहाँबाट हुन्छ, त्यहाँबाट गर्नुपर्छ,’ खतिवडाले भने।

सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले निर्वाचनबाट थापा नेतृत्वको कार्यसमितिले आधिकारिता पाए पनि पार्टीमा आफूहरू बलियो भएको बताए। 

‘हामी बलियो छौँ, आधिकारिकता पुष्टि गरेर मात्र पुग्दैन। यो समय दुवै पक्षले चिन्तन गर्ने बेला हो,’ उनले भने।

वास्तविकतालाई स्वीकार गरेर एकतामा जानुपर्ने उनको भनाइ छ। 

‘सहनशीलताका साथ एकताको बाटोमा जानुपर्छ,’ उनले भने, ‘यसलाई समानान्तर गतिविधि भनिँदैन। यो अधिकारको कुरा हो। अर्को पार्टी गठन गर्न जम्मा भएको हैन। कसैलाई खुइल्याएर कोही बलियो हुने अवस्था छैन,’ उनी भन्छन्। 

यस्तै छलफलमा नेता मानबहादुर नेपालीले पार्टीमा एकदमै धेरै अन्याय भएको बताए। 

‘पार्टीमा एकदमै धेरै अन्याय गरे। यसको उपाय पार्टी सुधार गर्ने हो। गलत मान्छेको हातमा पार्टी जाँदै छ, सुधार गरौँ,’ उनले भने। 

छलफलमा सहभागी नेताहरूले समूहगत भेटघाट र विमर्शबाट पार्टीलाई ध्रुवीकरण नभई एकताबद्ध गर्न सहयोग गर्ने बताएका छन्। 

फेसबुकमा संस्थापन पक्षको अपिल
देउवा–कोइरालाले पक्षले समानान्तर गतिविधि तीव्र पारेपछि कांग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टी एकताका पक्षमा एकजुट हुन सबै नेता–कार्यकर्तालाई अपिल गरेका छन्। अहिलेको प्रतिकूलतामा छिन्नभिन्न भएर बिग्रन नहुने उनको भनाइ छ। देशका हरेक संकटमा एकजुट रहेको एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गरी सफलता हासिल गरेको पौडेलले स्मरण गरे। 

‘अहिलेको प्रतिकूलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न,’ उनले भने, ‘म पार्टी महामन्त्री मात्र नभई एक इमान्दार कार्यकर्ता भएर भन्दैछु– हामी सबै एकजुट होऔँ।’ 

महामन्त्री पौडेलले कांग्रेसका सबै नेता–कार्यकर्तालाई एकतामा नै शक्ति रहेको सम्झाए। 

‘एकताको बलमा नै हामीले फेरि उज्यालो भविष्य प्राप्त गर्नेछौँ,’ उनले भने। 

यस्तै कांग्रेसका सहमहामन्त्री उदयशम्शेर राणाले पनि पार्टीलाई एकताबद्ध बनाएर अघि बढेमात्रै देशको भविष्य सुरक्षित र सही दिशामा अघि बढ्ने बताए। कांग्रेसले आफ्नो इतिहासमा गौरव गर्दै र त्यसलाई पछ्याउँदै हिँड्नुपर्ने सहमहामन्त्री राणाको भनाइ छ। 

‘देशले चुनौतीपूर्ण मोडहरू पार गर्दै आएको प्रत्येक समयमा नेपाली कांग्रेस एकता, संयम र प्रतिबद्धताका साथ अघि बढ्दै आएको गौरवपूर्ण इतिहास हामीसँग छ,’ उनले भनेका छन्।

लोकतान्त्रिक अभ्यासमा विचार र दृष्टिकोणमा फरकपन स्वाभाविक भए पनि विभाजनको आधार बनाउनु नहुने उनको भनाइ छ। 

‘लोकतान्त्रिक अभ्यासमा विचार र दृष्टिकोणमा फरकपन स्वाभाविक हो, तर त्यसलाई विभाजनको आधार बनाउनु हाम्रो संस्कार होइन,’ उनको आग्रह छ, ‘एक जिम्मेवार कार्यकर्ताको हैसियतले म सम्पूर्ण साथीहरूलाई विनम्र आग्रह गर्दछु, खुला संवाद गरौँ, आपसी विश्वासलाई अझ सुदृढ बनाऔँ र पुनः एकताबद्ध भएर अघि बढौँ। हाम्रो एकताले मात्र जनताको भरोसालाई सुदृढ बनाउँदै देश र हाम्रो भविष्यलाई सुरक्षित र सही दिशातर्फ अघि बढाउँछ।’

यस्तै कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीको संस्थापनइतर पक्षले अगाडि बढाएको समानान्तर गतिविधिले पार्टीलाई न्याय नगर्ने बताए। देउवा र कोइराला समूहले पार्टीभित्रको असहमतिलाई आत्मकेन्द्रित र समानान्तर गतिविधिमा रूपान्तरण गरेको उनको भनाइ थियो। 

‘प्रजातान्त्रिक पार्टीमा फरक मत र असहमति व्यक्त गर्नु स्वाभाविक मानिन्छ। यसले नै संस्थागत निर्णयहरूलाई थप परिपक्व र बलियो बनाउँछ,’ उनले लेखेका छन्, ‘तर जब यो असहमति पार्टीभित्रको मर्यादित संवादबाट बाहिर निस्केर आत्मकेन्द्रित, समानान्तर गतिविधिमा रूपान्तरण हुन्छ, तब यसले पार्टीलाई न्याय गर्दैन।’

महाधिवेशन नजिकिँदै गर्दा आफ्ना स्पष्ट योजना, ठोस तर्क र सकारात्मक ऊर्जासहित कार्यकर्ताको मन जित्न लाग्नु सबैका लागि श्रेयस्कर हुने उनको भनाइ छ। 

‘नेतृत्वको बाटो विधानअनुसार खुला छ। पार्टीको अनुशासन सबैले पालना गर्नुपर्छ। आजका कर्मले भोलि आफैँलाई लज्जित नपारोस् भन्ने सोचका साथ अघि बढौँ,’ उनी लेख्छन्।
 
संस्थापन पक्षका नेताहरू फेसबुकमा एकताको अपिल गरिरहँदा उनीहरू पार्टीभित्र अपौचारिक संवादका लागि भने तयार देखिएका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad