राजनीति


गृहमन्त्री गुरुङलाई जेनजी नेताहरूको सुझाव : फेसबुकमा स्पष्टीकरण होइन, राजीनामा दिनुस्

गृहमन्त्री गुरुङलाई जेनजी नेताहरूको सुझाव : फेसबुकमा स्पष्टीकरण होइन, राजीनामा दिनुस्

आयुषा ढकाल
बैशाख ७, २०८३ सोमबार २१:४८, काठमाडौँ

गृहमन्त्री सुधन गुरुङ सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग व्यापारिक साझेदारीलगायतका कारण विवादको घेरामा छन्। त्यस्तै, जेन–जी आन्दोलनपछि खरिद गरेको सेयरबारे सम्पत्ति विवरणमा नखुलाएको आरोप पनि उनीमाथि लागेको छ।

यस विषयमा सोमबार गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिएका छन्। आफूले गल्ती नगरेको उनको दाबी छन्। पार्टीको निर्णय मान्ने र आवश्यक छानबिनका लागि सघाउने बताएका छन्।

‘म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु,’ उनले भनेका छन्।

जेनजी अगुवाहरू भने उनले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने बताउँछन्।

माजिद अन्सारीले गुरुङमाथि उठेका प्रश्नहरूको निष्पक्ष छानबिन हुनका लागि गृहमन्त्रीबाट उनले तत्काल राजीनामा दिनुपर्ने बताए। जेन–जीहरूको मूल एजेन्डा नै कसैमाथि प्रश्न उठिसकेपछि उसले निष्पक्ष तवरबाट उत्तर दिनुपर्छ भन्ने रहेको उनको भनाइ छ।

‘गृहमन्त्री पनि जेन–जी आन्दोलनकारी भएकै कारणले गर्दा उहाँले मार्गप्रशस्त गर्नुपर्छ। उहाँले आफूमाथि निष्पक्ष छानबिन हुन दिनुपर्छ। प्रधानमन्त्रीले एउटा निष्पक्ष टोली बनाउनु पर्छ,’ माजिदले नेपालखबरसँग भने, ‘गृह प्रशासन नेपाल प्रहरी मातहतमा छ र अनुसन्धान नेपाल प्रहरीले नै गर्ने हो। त्यसैले उहाँ गृहमन्त्री हुँदाहुँदै अनुसन्धान हुने हो भने त्यहाँ स्वार्थको द्वन्द्व हुन्छ। त्यसैले उहाँले राजीनामा दिनुपर्छ।’

‘उहाँले अहिले राजीनामा दिनुपर्छ। १५–२० दिनमा अनुसन्धान सकिइसक्छ। त्यतिबेलासम्म प्रधानमन्त्रीले गृह आफैँसँग राखे हुन्छ,’ उनले थपे, ‘चोखिएर आएपछि गुरुङले पदभार सम्हाल्दा हुन्छ।’

छानबिन हुन दिँदा नै गुरुङका लागि फाइदा हुने उनको तर्क छ।

‘दोषी हो भने त कानुन बमोजिम सम्पत्ति शुद्धीकरणको मुद्दामा जानै पर्छ। हैन भने उहाँले त राम्रो पैसा कमाउनु भएको छ। उहाँ निर्दोष साबित भएर आइसकेपछि हामीलाई पनि कसरी त्यति पैसा कमाउन सकिन्छ भनेर सिकाइदिनुपर्छ, टेक्निक दिनुपर्छ,’ अन्सारी भन्छन्।

एकै महिनामा चार वटा काण्डमा फस्नु राम्रो सुरुवात होइन : तनुजा पाण्डे
गृहमन्त्रीका व्यक्तिगत कुराले जनताको नेताप्रति र एउटा पुस्ताप्रतिको विश्वासलाई कमजोर बनाउन दिन नहुने जेन–जी अगुवा तनुजा पाण्डेको भनाइ छ।

‘मान्छेहरूले त उहाँलाई मात्र प्रश्न गरिराखेका छैनन् नि, आन्दोलनलाई नै प्रश्न गरिरहेका छन्। उहाँले अलिकति व्यक्तिभन्दा माथि उठेर आन्दोलनलाई सोचेर जवाफ दिनुपर्छ,’ उनी भन्छिन्, ‘आफूमाथि लागेको आरोपमा पदमा बसेर नै छानबिन गर्नु भनेको दूधको साक्षी बिरालो बस्नु जस्तै हो।’

जेन–जी आन्दोलनमा गएका अधिकांश आन्दोलनकारी आजसम्म सामान्य जीवनमा फर्किन नसकेको, काम नपाइरहेको, अस्पतालको बेडमा रहेको अवस्थामा आन्दोलनको राप सेलाउन नपाउँदै गृहमन्त्री सुधन गुरुङले त्यति ठूलो रकमको कारोबार गर्नु शंकास्पद रहेको उनको भनाइ छ।

‘आन्दोलनले यत्रो नैतिकता र प्रवृत्तिको कुरा निकाल्यो अनि उहाँहरूचाहिँ आफैँ पोखराको अतिक्रमणको जग्गा भाडामा लिने, हाम्रो कानुनले नदिने मापदण्डको २०० रोपनी जग्गा होल्ड गर्नु, भ्रष्ट भनेका व्यक्तिसँग आर्थिक कारोबार देखिनु, सम्पत्ति विवरण सार्वजनिक गर्दा सम्पूर्ण सेयरहरू पनि सार्वजनिक नगर्नुले उहाँको नियत राम्रो देखिएन,’ तनुजाले भनिन्, ‘कुनै पनि व्यक्ति नैतिक रूपमा राम्रो छ कि छैन भन्ने कुरा उसको आर्थिक कारोबारले देखाउँछ।’

एक महिनामा चार पटक सम्पत्तिको काण्डमा फस्नु राम्रो सुरुवात नभएको तनुजाले बताइन्।

‘गृहमन्त्री सुधन गुरुङमाथि नैतिक प्रश्न उठेको छ र त्यो नैतिकताको जवाफ उहाँले आफ्नो न्यायाधीश आफैँ बनेर दिन मिल्दैन,’ उनले भनिन्, ‘यदि आफू सही हुनुहुन्छ भने प्रमाण देखाउनुपर्छ। फेसबुकमा स्ट्याटस लेखेर भिडलाई म्यानुपुलेट गरेर आफैँलाई सफाइ दिने काम गर्न मिल्दैन। यदि फेसबुकबाट सफाइ दिने हो भने हिजोको दिनमा हामीले भ्रष्ट भनेका व्यक्तिहरू पनि ठिक हुन सक्छन्।’

रक्षा बम पनि अनुसन्धानलाई सघाउन आवश्यक पर्ने सबै कदम गुरुङले चाल्नुपर्ने बताउँछिन्।

‘अनुसन्धानलाई सघाउनको निम्ति के प्रक्रिया अपनाउनुपर्छ त्यो गर्नु पर्छ। यदि त्यसका लागि राजीनामा दिनुपर्छ भने त्यो पनि दिनुपर्छ,’ उनले भनिन्, ‘उहाँहरूको विधान के छ, पार्टीले के बोलेको छ, ती कुराहरू पूरा गर्न प्रक्रिया अनुसार अगाडि बढ्नुपर्छ। उहाँले फेसबुकमा स्पष्टीकरण दिएर भएन। त्यो अब अनुसन्धान गर्ने निकायलाई दिनुपर्छ। फेसबुकमा त हामी को हौँ र?’

अर्का जेनजी अगुवा उपार्जुन चाम्लिङले भने स्पष्टीकरण नसुनी राजीनामा माग्न नमिल्ने तर्क गरे।

‘निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट निकाल्दा उनको स्पष्टीकरण पनि सुन्न चाहेका थियौँ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad