राजनीति


प्रभु साहको टिप्पणी: बालेनले जित्दा रामराज्य बन्छ भन्नेहरू अहिले ‘राम राम’ भन्न थालेका छन्

प्रभु साहको टिप्पणी: बालेनले जित्दा रामराज्य बन्छ भन्नेहरू अहिले ‘राम राम’ भन्न थालेका छन्

नेपालखबर
बैशाख २०, २०८३ आइतबार १३:३५, सिराहा

आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकारले संविधान छलेर सेनाको बलमा शासन गर्न खोजेको आरोप लगाएका छन्। 

आज (आइतबार) सिराहाको गोलबाजारमा पार्टीले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद् छलेर अध्यादेशबाट शासन गरिनु संसदीय लोकतन्त्रको उपहास भएको दाबी गरेका हुन्। 

उनले विगतमा केपी ओलीले अध्यादेशबाट शासन गर्न खोज्दा र संसद्को अपमान गर्दा बेहोरेको घटना स्मरण गर्न वर्तमान सरकार र सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुझाव दिएका छन्। 

उनले नेपाली जनताले कांग्रेस, एमाले र नेकपाजस्ता पुराना दलको दलतन्त्र र नेतातन्त्रविरुद्धमा रास्वपालाई अभूतपूर्व जनमत दिएको तर सरकार उल्टो बाटोमा हिँडेको आरोप लगाए।

उनले भने, ‘हिजो पुराना दलहरूले दलतन्त्र लादे, लोकतन्त्र लज्जित बनाए अनि गणतन्त्रलाई गन्हाउने बनाएकाले नै नेपाली जनताले रास्वपाको नाममा झण्डै दुईतिहाइको बहुमत दिएका हुन्। तर, शासन गर्ने कुर्सीमा बसेकाहरूसँग जनताको सेवा गर्ने चरित्र देखिएन। उनीहरू दमनकारी हुन थालेको आभास भएको छ।’

बालेनले जित्दा रामराज्य बन्छ भन्नेहरू नै अहिले एक महिनामै शासन देखेर ‘राम राम’ भन्ने अवस्थामा पुगेको दाबी पूर्वमन्त्री साहले गरे।

उनले भने, ‘बालेनसँग धैर्यता देखिएन। हतार गर्दा दुईतिहाइ बहुमत नै धरापमा पर्ने जोखिम बढ्यो, यो कुरा रास्वपा नेतृत्व पंक्तिले राम्रोसँग हेक्का राख्दा हुन्छ। यो सरकारले जताततै हात हालेर असफलताको मार्गमा हिँडेको संकेत देखायो। यसले मुलुक र जनतालाई ठुलो घाटा छ।’

उनले सुकुमवासी बस्ती खाली गराउन नेपाली सेना नै फिल्डमा खटाइएकामा आपत्ति जनाए। उनले प्रधानमन्त्री शाहले सेनाको आडमा संविधान छलेर कतै सैनिक शासनको अभ्यास गर्न खोजेको त होइन भन्ने आशंका सर्वसाधारण जनतामा उब्जिएको दाबी गरे। 

देशैभरिका सुकुमवासी बस्तीमा बुलडोजर चलेको र हजारौँ जनता विस्थापित भएको जिकिर गरे। 

उनले भने,‘अहिलेको सरकारको शासन शैली हेर्दा उनीहरू देश बनाउन होइन, बिगार्न आएजस्तो देखियो। अहिले त एक सय दिन नपुग्दै यो सरकारले एकसय एक बितन्डा मच्चाउने भय उत्पन्न भएको छ। रास्वपा अहिलेसम्म त छँदै छ, अब बालेनको छत्रछायामा यसको अस्तित्व नै स्वाहा हुने लक्षण देखिएको छ।’

सुकुमवासीहरूलाई उचित विकल्प नदिईकन फिल्मी शैलीमा बुलडोजर आतंक सिर्जना गरिनु मानवअधिकारको गम्भीर उल्लंघन भएको टिप्पणी पनि उनले गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad