राजनीति


गोविन्द केसीलाई समर्थन गर्दै आफ्नै सरकारलाई तोसिमा कार्कीको चेतावनी: ‘हामीले त्यो अवस्था कुर्न हुन्न’

गोविन्द केसीलाई समर्थन गर्दै आफ्नै सरकारलाई तोसिमा कार्कीको चेतावनी: ‘हामीले त्यो अवस्था कुर्न हुन्न’

नेपालखबर
साउन ८, २०८३ शुक्रबार १२:२३, काठमाडौँ

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सांसद डाक्टर तोसिमा कार्कीले धनगढीमा अनशनरत डाक्टर गोविन्द केसीका माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छन्। 

शुक्रबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै प्रतिनिधिसभा सदस्य कार्कीले डा केसीका जायज माग तत्काल सम्बोधन गर्न आफूले शिक्षामन्त्री र प्रधानमन्त्रीको सचिवालयको पनि ध्यानाकर्षण गराइसकेको जानकारी दिएकी छन्।

यस क्रममा उनले आफ्नो पार्टीको सरकारलाई पुरानै सरकारको पारा नदोहोर्‍याउन चेतावनी पनि दिएकी छन्। 

‘अनशन बस्नुपर्ने अवस्था आउनै नपर्ने थियो, आएछ। सर अनशन बस्नुभयो’, कार्कीले लेखेकी छन्, ‘अब हाम्रो सरकारले तत्कालै डा केसीका जायज मागहरू सम्बोधन गरोस् र भनोस्- सर! तपाईंंजस्तो निष्ठावान् सत्याग्रही मानिसले आफ्नो ज्यानको बाजी राखेर यो सरकारलाई खबरदारी गर्न आमरण अनशन बस्नै पर्दैन, यो सरकार तपाईंंकै हो, तपाईं सिधै आएर प्रधानमन्त्रीसँग छलफल गर्न सक्नुहुन्छ, सिधै शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई सुझाव दिन सक्नुहुन्छ। विगतका सरकारमा तपाईंले पटकपटक शोषक र शासक देख्नुभयो होला, अहिले हाम्रो सरकार सेवक सरकार हो, जनताको सरकार हो। जनताको सुन्छ, तपाईंजस्तो नि:स्वार्थी विज्ञको पनि सुन्छ। भयो सर, अनशन छोडिदिनुस, चिकित्सा शिक्षालाई सफा, प्रभावकारी र जनतामुखी बनाउन तपाईंका जायज मागहरूमा हामी तपाईंसँगै सहकार्य गर्दै अघि बढ्नेछौँ। अघिल्ला सरकारले तपाईंसँग सम्झौता गरेका मागहरू पनि हामी पूरा गर्नेछौँ।’

उनले सरकारलाई चेतावनी दिँदै अगाडि लेखेकी छन्, ‘ढिला नहोस्। शरीर गलेपछि, आन्दोलन चर्किएपछि, मिडिया जागेपछि, जनदबाब बढेपछि त पहिला पनि सम्बोधन हुन्थ्यो, हामीले त्यो अवस्था कुर्न हुन्न।’

यस्तो छ तोसिमा कार्कीको पूरा भनाइ

अनशन बस्नुपर्ने अवस्था आउनै नपर्ने थियो, आएछ। सर अनशन बस्नुभयो। अब हाम्रो सरकारले तत्कालै डा केसीका जायज मागहरू सम्बोधन गरोस् र भनोस्, "सर! तपाईंंजस्तो निष्ठावान् सत्याग्रही मानिसले आफ्नो ज्यानको बाजी राखेर यो सरकारलाई खबरदारी गर्न आमरण अनशन बस्नै पर्दैन, यो सरकार तपाईंंकै हो, तपाईं सिधै आएर प्रधानमन्त्रीसँग छलफल गर्न सक्नुहुन्छ, सिधै शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई सुझाव दिन सक्नुहुन्छ। विगतका सरकारमा तपाईंले पटकपटक शोषक र शासक देख्नुभयो होला, अहिले हाम्रो सरकार सेवक सरकार हो, जनताको सरकार हो। जनताको सुन्छ, तपाईंजस्तो नि:स्वार्थी विज्ञको पनि सुन्छ। भयो सर, अनशन छोडिदिनुस, चिकित्सा शिक्षालाई सफा, प्रभावकारी र जनतामुखी बनाउन तपाईंका जायज मागहरूमा हामी तपाईंसँगै सहकार्य गर्दै अघि बढ्नेछौँ। अघिल्ला सरकारले तपाईंसँग सम्झौता गरेका मागहरू पनि हामी पूरा गर्नेछौँ।"

उहाँका जायज मागहरू तत्काल सम्बोधन गर्न शिक्षामन्त्री स्वयम् तथा प्रधानमन्त्रीको सचिवालयको पनि ध्यानाकर्षण गराइसकेको छु।ढिला नहोस्। शरीर गलेपछि, आन्दोलन चर्किएपछि, मिडिया जागेपछि, जनदबाब बढेपछि त पहिला पनि सम्बोधन हुन्थ्यो, हामीले त्यो अवस्था कुर्न हुन्न!!

नोट- डा. केसीले पटकपटक भनिरहनुभएको छ- "मैले गेटामा दशरथ चन्द विश्वविद्यालयको विरोध गरेको होइन। सुदूरपश्चिमको गेटामा ३०० शय्या अस्पताल चाहियो, एमबीबीएस चाँडै सुरु गर्नुपर्‍यो भन्ने नै म हुँ। मैले विश्वविद्यालयको विरोध गरेको भन्ने भ्रम फैलाइएको छ।"

उहाँको मागलाई समर्थन गर्नु नगर्नु आआफ्ना धारणा होलान् तर मागहरूलाई र विगतका उपलब्धिहरूलाई नै तोडमोड गरिनु भनेको एक सत्याग्रहीको त्याग र संघर्षमाथिको अपमान हो। त्यसो नगरौँ। उहाँको योगदान नभुलौँ। भ्रममा नपरौँ। सुदूरपश्चिममा तत्कालै विशिष्ट सेवासहितको अस्पताल बनाउनुपर्‍यो र चिकित्सा शिक्षा पनि सुरु गर्नुपर्‍यो भनेर पटकपटक अनशन बसेर विगतका सरकारलाई त्यहाँ ७५ बिघामा त्यत्रो संरचना, भवन र सेवा दिने व्यवस्था गर्न बाध्य बनाउनुभएको पनि डा. गोविन्द केसीको सत्याग्रहले नै हो। नत्र त चिकित्सा शिक्षा ऐनको कति पटक धज्जी उडाउन खोजियो भन्ने कुराको साक्षि तपाईं हामी नै छौँ। ३०० त के १०० शय्या अस्पतालको पनि दरबन्दी स्विकृति दिन पनि वर्षौँ लगाइयो, म आफैँले कति पटक विगतका सरकारलाई यही विषयमा झकझकाएको थिएँ।

विडम्बना, ६०० शय्याको लागि बनिसकेको त्यो संरचनाले आजसम्म ३०० शय्या अस्पतालको समेत स्वीकृति पाएको छैन। कैले मेडिकल कलेज, कैले प्रतिष्ठान, कैले विश्वविद्यालय भन्दै प्रक्रिया लम्बाइरह्यो। यता सुदूरपश्चिमले भने वर्षौँसम्म सेवाविनाका ती ठुलाठुला भवनमा कैले अस्पताल सुरु होला भनी कुर्दै बस्नुपर्ने बाध्यता बनाइयो, जबकि त्यहाँ ३०० शय्याको अस्पताल सुरु गर्न विगतका सरकारलाई केहिले रोकेकै थिएन। हो, विगतका सरकारले गरेको जस्तो अलमल र ढिलाइ अब नहोस् भन्न खोजेका हुन् डा.केसीले। म स्वयम्‌ले पनि अघिल्लो कार्यकालमा गेटामा तत्काल ३०० शय्या अस्पताल सुरु गर्नुपर्‍यो र विधेयक पनि यथाशीघ्र टुंगो लाउनपर्‍यो भनेर पटकपटक संसद्‌मा र संसदीय समितिमा बोलेको थिएँ। साथै विधेयकका छलफलहरूमा सक्रिय भूमिका निभाएको थिएँ। केही सम्बोधन भए, केही भएनन् तर खुसीको कुरा हो, अन्तत: गेटामा बन्दै गरेको संरचना अब सुदूरपश्चिमको मात्र होइन, चिकित्सा शिक्षासँग मात्र डेडिकेटेड देशकै एक मात्र विश्वविद्यालयको रुपमा सहिद दशरथ चन्द विश्वविद्यालय अघि बढाइएको छ, यो स्वागतयोग्य उपलब्धि हो। यो उपलब्धिलाई गुम्न दिन हुन्न। रह्यो कुरा- डा. केसीलाई मेरो समर्थनको- नेपाली जनताको हित केन्द्रित अभियानमा चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको लागि आदरणीय प्रा डा.गोविन्द केसीसँग सधैँ थिएँ, छु, रहनेछु।

यो पनि : स्वार्थ बाझिने व्यक्तिलाई गेटाको जिम्मेवारी दिएपछि सत्याग्रहमा डा.केसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad