नेपाली कांग्रेसको संस्थापन पक्षलाई कमजोर बनाउने योजनाका साथ इतर पक्ष प्रदेशसम्म पुग्ने भएको छ। संस्थापन पक्षसँग सार्थक संवाद हुन नसकेपछि इतर पक्षले एकता नभए विभाजनसम्मको आन्तरिक रणनीति तयार गरिसकेको नेताहरूले बताएका छन्।
वैशाख १८ मा पूर्णबहादुर खड्का समूहका शीर्ष नेताको बैठकले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र जरा अभियान अवज्ञा गर्ने रणनीति तय गरेको नेता मीन विश्वकर्माले नेपालखबरलाई बताए। त्यसका लागि सातै प्रदेशमा शीर्ष नेतालाई जिम्मा दिएको छ।
कोसीमा कृष्णप्रसाद सिटौला, मधेसमा आननन्द ढुंगाना, बागमतीमा प्रकाशमान सिंह र प्रकाशशरण महत, गण्डकीमा मेखलाल श्रेष्ठ, लुम्बिनीमा किशोरसिंह राठौर, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा एनपी साउदलाई जिम्मेवारी दिइएको छ।
उनीहरूले क्रियाशील सदस्यता अद्यावधिक र जरा अभियान अवज्ञाका लागि सम्बन्धित प्रदेशमा छलफल र भेलाको संयोजन गर्ने विश्वकर्माको भनाइ छ।
‘क्रियाशील सदस्यताका नाममा गरिएको पुनः नवीकरणलाई नमान्ने एउटा निष्कर्ष छ,’ उनले भने, ‘दोस्रो जरा अभियान पूवाग्रही ढंगले सञ्चालन गरेकोले केन्द्रीय तहमा पार्टी एकताको वातावरण नबनेसम्म जरा अभियानमा सहभागी नहुने भन्ने छ। तेस्रो १५ औँ महाधिवेशनका लागि साझा अभियान सुरु गर्ने कुराको नेताहरूले संयोजन गर्नुहुन्छ।’
१५ औँ महाधिवेशनलाई साझा महाधिवेशन बनाउनका लागि सातै प्रदेशका नेता कार्यकर्तासँग परामर्श गर्ने इतर समूहको योजना छ। पार्टीको जरा अभियान निष्प्रभावी बनाएर सभापति थापामाथि संवादको दबाब सिर्जना गराउने इतर पक्षको तयारी छ।
सभापति थापाले अहिलेसम्म एकताको अलिकति पनि पहल नगरेको इतर पक्षको नेताको आरोप छ।
‘गगनजीले जरा अभियान सुरु गर्नुभन्दा टुप्पो अभियान सुरु गर्नुपर्थ्यो। झगडा टुप्पोमा छ। निर्वाचन आयोगबाट मान्यता पाएपछि पार्टी मिलाएर लैजान गर्नुपर्ने पहल गगनजी गर्नुभएन,’ एक नेताले भने, ‘सर्वोच्च अदालतबाट आधिकारिक सभापति भएँ भनेर एकताको प्रस्ताव ल्याएर आउनुपर्थ्यो।’
यद्यपि वैशाख ६ मा सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति खड्काबीच भेटवार्ता भएको थियो। खड्काको निवास गोल्फुटारमा थापा र खड्काबीच पार्टी एकताका विषयमा एक घण्टा संवाद भएको थियो। सभापति थापाले पार्टीमा देखिएका बेमेल हटाएर एकताका लागि पहल गर्न सुरु भएको बताएका थिए। त्यसपछि सभापति थापा र खड्काबीच संवाद भएको छैन।
सभापति थापासँगको संवादबारे खड्काले आफ्नो समूहमा ब्रिफिङ गरेका थिए। पार्टीलाई कसरी एकताबद्ध गरेर लैजाने भन्नेबारे सभापतिले सुझाव मागेको र त्यसबारे आफूले सुझाएका बैठकमा सुनाएका थिए।
‘पार्टी एकता गर्ने वा विभाजनतर्फ लैजाने भन्ने जिम्मेवारी अब सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माको काँधमा छ। त्यसबारे कसरी अगाडि बढ्ने भन्ने तपाईंहरूको योजना र रणनीतिमा भर पर्छ,’ खड्काले भने।
उनका अनुसार सभापति थापाले एकताका लागि प्रस्ताव ल्याएर पुनः संवादमा बस्ने जवाफ दिएका थिए। त्यसपछि वैशाख १५ मा कांग्रेस नेता रमेश लेखकले सभापति थापासँग भेटवार्ता गरेका थिए। सभापति थापा पार्टी एकताका लागि जिम्मेवार नदिएको संस्थापन इतर पक्षको बुझाइ छ।
संस्थापन पक्षले एकताभन्दा विभाजनलाई बल पुग्ने गरी गतिविधि अगाडि बढाएको इतर पक्षको दाबी छ। यही वैशाख १५ र १६ मा खड्का समूह र वैशाख १७ मा नेता शेखर कोइराला समूहको बैठकले एउटै निष्कर्ष निकालेको थियो। गत पुसमा सम्पन्न विशेष महाधिवेशनले कांग्रेस कमजोर भएको उनीहरूको निष्कर्ष छ। यस्तै क्रियाशील सदस्यता अद्यावधिक अभियान गलत र बदनियतपूर्ण भएको उनीहरूको दोस्रो साझा निष्कर्ष छ। सोही बैठकमा खड्काले पार्टी एकताका लागि सभापति गगन थापा पक्षले कम्तीमा चार वटा सर्त मान्नुपर्ने बताएका थिए।
विशेष महाविधेशनबाट आएको केन्द्रीय कार्यसमिति र १४औँ महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई एकीकृत बनाउनुपर्ने उनको पहिलो सर्त छ। दुवै पक्षलाई समेटेर १५औँ महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने खड्काको दोस्रो सर्त छ। यस्तै १५औँ महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति पनि दुवै पक्षलाई समेटेर सहमतिमा बनाउनुपर्ने खड्का तेस्रो सर्त छ।
चौथो सर्तका रूपमा खड्काले क्रियाशील सदस्यता छानबिन समितिको माग राखेका छन्। यो समिति पनि दुवै पक्षलाई समेटेर सहमतिकै आधारमा बनाउनुपर्ने उनको भनाइ छ।
यी चारै विषय सम्बोधन भएमा पार्टी एकता कायमै रहने उनको भनाइ छ। तर, महामन्त्री गुरुराज घिमिरेले बिनासर्त आउन आग्रह गर्दै सबैलाई केन्द्रीय कार्यालय सानेपामा स्वागत प्रतिक्रिया दिए।
‘विगतका आपसी मतभेद र कटुतालाई भुलेर आन्तरिक एकतालाई सुदृढ तुल्याउँदै पार्टीको १५औं महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्न क्रियाशील बनौँ। हामी पार्टीका सम्पूर्ण अग्रज, नेता तथा सबै साथीहरूलाई केन्द्रीय कार्यालय सानेपामा स्वागत गर्न तयार र आतुर छौँ,’ घिमिरेले भने।
संस्थापन पक्षले संवादभन्दा प्रतिशोध र कारबाहीको नीति लिएपछि इतर पक्ष थप आक्रोशित छ। कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाएपछि खड्काले विरोध जनाएका थिए।
कांग्रेसको सम्पूर्ण एकताको अपरिहार्य आवश्यताको ऐतिहासिक महत्वपूर्ण क्षणमा सिटौला हटाउने निर्णय शुभः संकेत नभएको उनको भनाइ थियो।
‘राष्ट्रियतामाथि जुन संकटको कालो बादल मडारिएको छ, पार्टी जुन अवस्थामा आज विवादको दलदलमा फसेको छ, मन विभाजित छ, यस्तो अवस्थामा नेपाली कांग्रेसको सम्पूर्ण एकताको पहल गर्नु पर्ने जिम्मेवारीमा भएकाहरूबाट हतारमा पार्टीको एक अनुभवी, अग्रज नेतालाई सामान्य राजनीतिक शिष्टाचारसम्म नराखी पूर्वजानकारी बिना नै हठात् हटाउने निर्णय गरियो,’ उनले लेखेका छन्, ‘त्यसले स्तब्ध छु। यो कांग्रेस पार्टीको सम्पूर्ण एकताको अपरिहार्य आवश्यताको ऐतिहासिक महत्वपूर्ण क्षणमा हतारको निर्णय शुभः संकेत होइन भन्ने मेरो ठम्याइ छ।’
यस्तै कांग्रेसको केन्द्रीय अनुशासन समितिले तीन जना प्रदेश सरकारका मन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण मागेको छ। गत बुधबार बसेको अनुशासन समितिको बैठकले प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै उनीहरूसँग स्पष्टीकरण मागेको छ।
लुम्बिनी प्रदेशका वनमन्त्री देवकरणप्रसाद कलवार, कोसी प्रदेशका मन्त्री प्रदीप सुनुवार र लुम्बिनी प्रदेशका यातायात तथा पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपानेलाई प्रष्टीकरण सोधेको छ। यस्तै लुम्बिनी प्रदेश सभाका सांसद राजु खनाल, मधेस प्रदेशका सांसदहरू जंगीलाल राय, सकुन्तीदेवी महरा र कौशलकिशोर रायसँग पनि स्पष्टीकरण सोधिएको छ।
पार्टीमा एकताको वातावरण बिथिलिँदै गएको भन्दै विभाजनको दोष सभापति थापामाथि लगाएर नयाँ पार्टी निर्माण गर्ने तयारी पनि अगाडि बढेका एक नेताले बताए।
‘पूर्ण दाइ र शेखर कोइराला पर्ख र हेरको अवस्थामा हुनुहुन्छ। बाँकी सबैजसो नेताहरू नयाँ ढंगले अगाडि बढ्नुपर्छ भन्नेमा प्रष्ट हुनुहुन्छ,’ ती नेताले भने।
राजनीतिक गतिविधि तीव्र बनाउन नेताहरू कुन्दनराज काफ्ले, गुरुराज बराल, किरण पौडेल लगायतका नेताहरूले सम्पर्क कार्यालय खोलिसकेका छन्।
‘उनीहरूले खेलेको सम्पर्क कार्यालय सानो छ। भोलि पार्टी कार्यालय सञ्चालन गर्न मिल्ने घरको खोजी भइरहेको छ। साथीहरू लागिराख्नुभएको छ। अवस्था हेर्दा पार्टी जोगिन्छ जस्तो लागेको छैन,’ ती नेताले भने।
Shares

प्रतिक्रिया