कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र सुदन किराती समूहबीच एकता प्रयोजनका लागि छलफल सुरु भएको छ। बुधबार घिसिङ र किरातीबीच २ घण्टा कुराकानी भएको थियो। उनीहरूबीच मोर्चाबन्दी गर्दै एकतासम्म पुग्न सकिने समझदारी बनेको निकटस्थ नेताहरूले बताएका छन्।
उनेपा यसैपटक चुनावको बेला खुलेको दल हो। चुनावको बेलामा राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गरे पनि १२ दिनमै टुटेको थियो। त्यसपछि एक्लै चुनावमा होमिएको उनेपाले देशभर राम्रो मत पाए पनि सिट भने जित्न सकेन।
त्यसपछि सो पार्टीले देशभर संगठन विस्तारलाई तीव्रता दिएको छ। उनेपाका उपमहासचिव जीतराम वाइबाले विचार र एजेन्डा मिल्नेसँग सहकार्य र एकता गर्दै जाने पार्टीको नीति अनुसार किरातीसँग वार्ता भएको बताए।
लामो समय नेकपा माओवादीमा रहेका किरातीले यसपटकको प्रतिनिधि सभाको चुनावताका प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका थिए। तर, प्रलोपाले चुनावको बेलामा लिएको नीतिप्रति असहमति जनाउँदै उनले चुनावताकै पार्टी छोडेका थिए। हाल उनी आफ्नै नेतृत्वको समूह चलाइरहेका छन्।
यसअघि हर्क साम्पाङले उनलाई श्रम संस्कृति पार्टीमा भित्र्याउने सहमति गरिसकेका थिए। सोही अनुसार किरातीलाई आगामी चुनावमा कोसी प्रदेशको मुख्यमन्त्री बनाउने वचन पनि दिएका थिए।
तर, हर्कले केही दिनयता त्यसको खण्डन गर्दै सामाजिक सञ्जालबाटै सुदनले मिडिया ट्रायल गरेको आरोप लगाएका थिए। त्यसकारण उनी हर्कसँग बिच्किएका छन्।
‘एकताको तयारी भइसकेको थियो, पदीय जिम्मेवारी पनि हर्कजीले नै तोक्नुभएको हो। तर, पछिल्ला दिन उहाँले साह्रै अराजनीतिक व्यवहार देखाउनुभयो,’ किराती समूहका एक सदस्यले भने, ‘हाम्रो समूहले हर्कलाई नेता मानिसकेको थियो, मिलेर जाने भनिसकेपछि सोसल मिडियामा जे पायो त्यही लेख्ने काम गर्नुभयो। उहाँ सुध्रिन गाह्रो देख्यौँ। यहीबेला कुलमानजीले मिलेर जाने प्रस्ताव राख्नुभयो।’
त्यसो त साम्पाङले सुदन किराती समूहलाई पदीय कुरामा नअल्झन आह्वान गरेका थिए।
तर, किराती समूह हर्कको स्वभावबाट आफूहरू चिन्तित भएको बताउँछ। यही अन्यालेका बेला घिसिङसँगको किरातीको भेट भएको हो।
उनेपासँग भविष्यमा एकता गर्नेगरी मोर्चाबन्दी गर्दै जाने समझदारी जुटेको सो समूहका एक सदस्यले दाबी गरे।
‘विचार मिल्दाखेरी एकता गर्नेगरी एक किसिमको सहमति जुटेको छ,’ उनले भने, ‘बाँकी कुरा छलफलले टुंगो लगाउला।’
उनेपाका अध्यक्ष घिसिङले किरातीसँगको भेटमा समसामयिक विषयमा कुरा भएको बताए।
‘विचार, मुद्दा मिल्ने साथी, व्यक्ति, समूह र पार्टीसँग एकता हुने विषयमा छलफल भयो,’ उनले भने, ‘कार्यगत एकता गरेर जाने कि एकता नै गर्ने, निर्णय भइसकेको छैन। सबै सम्भावना छ। असम्भव भन्ने केही छैन। अहिले यही गरिहालौँ भन्ने हुँदैन।’
रास्वपासँगको एकता नटिकेकाले उनेपा सजग र सचेत रहेको उनी बताउँछन्। त्यसले चुनावमा ठूलै धक्का लागेकोले यसपटक निकै सोच विचार गरेर अघि बढ्ने उनेपाको तयारी छ।
उनका अनुसार श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङले पनि एकताको प्रस्ताव राखेका छन्।
‘एकै पटक त कसरी हुन्छ र, छलफल गर्दै यदि समझदारीमा पुगियो भने एकता गर्न सकिन्छ भन्ने हो। छलफल गर्न त मिल्यो नि त,’ घिसिङले थपे, ‘पहिला सबैसँग सबै विषयमा छलफल गर्ने नीति अनुसार कुराहरू भइराखेको छ।’
उनेपाका उपमहासचिव जीतराम वाइबाले साम्पाङसँग दुईतीन चरणमा वार्ता भएको बताए। उनका अनुसार अरु समूहहरूसँग पनि कुरा भइराखेको छ। तर, घिसिङ हतारिएर होइन सोच विचार गरेर मात्र एकताको निर्णय गर्न चाहन्छन्।
‘कोसँग पहिला हुन्छ थाहा भएन, सबैसँग छलफल भइराखेको छ। सहमति भइसकेको छैन,’ वाइबाले भने।
घिसिङले पनि मोर्चा बनाएर जाने, अनि एकतासम्म पुग्ने सम्भावना रहेको बताए।
‘सीके राउत र रेशम चौधरी लगायतसँग पनि छलफल भइराखेको छ,’ उनले भने।
किराती समूहले पनि नयाँ राजनीतिक शक्तिसँग मिलेर जान चाहेको छ।
‘जनताको मुद्दा अलपत्र हुँदै गए, अन्य दलहरूले उठाउँदै उठाएनन्। जनताको मुद्दा छायामा परेको सन्दर्भमा अब अगाडि कसरी जाने भन्ने सन्दर्भमा कुराकानी गरिएको हो,’ किराती समूहका अर्का नेताले भने।
सुदन किरातीले उज्यालो पार्टीसँग मोर्चा बनाएर जान सकिने बताए।
‘जनताको मुद्दा र जनजीविकाको एजेन्डा उठाउन मोर्चाबन्दी हुनसक्छ,’ किरातीले भने, ‘विभिन्न पार्टी र घटकसँग छलफल भइराखेको छ।’
Shares

प्रतिक्रिया