कोशी


बसोबास गरेकै ठाउँमा धनीपुर्जा पाउनुपर्ने माग गर्दै विर्तामोडमा प्रदर्शन

बसोबास गरेकै ठाउँमा धनीपुर्जा पाउनुपर्ने माग गर्दै विर्तामोडमा प्रदर्शन

नेपालखबर
बैशाख २३, २०८३ बुधबार १५:२२, विराटनगर

झापा बिर्तामोडका सुकुमबासीहरूले डोजर आतंक बन्द गर्न माग गर्दै आजबाट आन्दोलन सुरु गरेका छन्। सुकुमबासी क्षेत्रमा बसोबास गर्नेहरूले बसोबास गरेकै ठाउँको धनीपुर्जा पाउनुपर्ने माग गरेका हुन्।

वर्षौंदेखि बसोबास गरेको ठाउँबाट हटाउन नपाइने बताउँदै उनीहरूले धनीपुर्जाको व्यवस्था गर्न जोडदार माग गरेका छन्। देशभर डोजर आतंक सुरु गरिएको बताउँदै आन्दोलित सुकुमबासीहरूले नागरिकको आवासको हकमाथि खेलवाड नगर्न चेतावनी दिएका छन्।

बिर्तामोड नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै भूमिहीन सुकुमवासी संयुक्त संघर्ष समितिले नगरपालिका क्षेत्रभित्रका घर–टहरा भत्काउने कार्य तुरुन्त रोक्न, वास्तविक सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन र भू–माफियाहरूलाई कारबाही गर्न माग गरेको छ।

साथै, डोजर आतंकका कारण ज्यान गुमाएकाहरूलाई शहिद घोषणा गरी उनीहरूको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग समेत अघि सारिएको छ।

बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा देवी महतारा प्रसाईलाई बुझाइएको ज्ञापनपत्रमा सरकारले चलाएको डोजर आतंकले भूमिहीन सुकुम्वासीहरूको मौलिक हक कुण्ठित गरेको उल्लेख गरिएको छ।

नेपालको संविधान २०७२ को धारा ३७ ले प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने व्यवस्था गरेको र सर्वोच्च अदालतले समेत वैकल्पिक व्यवस्था नगरी उठिबास नलगाउन निर्देशन दिएको अवस्थामा सुकुम्वासी बस्तीहरूमा डोजर चलाउनु अमानवीय भएको संघर्ष समितिले जनाएको छ। 

बिर्तामोडमा मात्रै १०३५ भूमिहीन सुकुम्वासी र १५२० अव्यवस्थित बसोवासीहरू रहेको तथ्य प्रस्तुत गर्दै ज्ञापनपत्रमा डोजर आतंकका कारण १७ वर्षीय रबिन तामाङ र ६१ वर्षीय इन्द्रबहादुर राईले आत्महत्या गरेको दुःखद घटना समेत स्मरण गराइएको छ।

संयोजक विष्णुमाया विश्वकर्मा र सचिव रमेश मुर्मुद्वारा हस्ताक्षरित उक्त पत्रमा यी मागहरू यथाशीघ्र पुरा नगरिए चरणबद्ध आन्दोलनमा उत्रने र त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने चेतावनी दिइएको छ। सयौंको संख्यामा सहभागी सुकुमबासीहरूले सरकारको कडा विरोध गरेका छन्।

सुकुम्बासीले यसअघि धरान, दमक, पथरी, कमल गाउँपालिकामा विरोध गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad