पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने भएका छन्।
आज दिउँसो तीन बजे काठमाडौँको बागबजारस्थित हार्दिक होटलमा हुने कार्यक्रममा किराँतीसँग एकताको घोषणा हुने श्रम संस्कृति पार्टीका महासचिव आरएन राईले जानकारी दिए।
पूर्व माओवादी नेता किराँती विगत केही सातायता श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग पार्टी एकता सम्बन्धी छलफलमा थिए।
‘आज दिउँसो ३ बजे बागबजारस्थित हार्दिक होटलमा एक विशेष कार्यक्रमको आयोजना गरी किराँतीसहितको टोली पार्टी प्रवेश गर्न लागेको हो,’ राईले नेपालखबरसँग भने, ‘उहाँलाई पार्टीमा विशेष जिम्मेवारी दिने तयारी छ।’
किराँतीले पछिल्लो समय ‘श्रम संस्कृति’ अभियानलाई जोड दिँदै आएका थिए। हर्क साम्पाङ धरानको मेयर हुँदादेखि नै ‘श्रम संस्कृति’ अभियान चलाउँदै आएका नेता हुन्।
पार्टी एकता कार्यक्रममा श्रम संस्कृति पार्टीका शीर्ष नेताहरू र किराँती पक्षधर नेता-कार्यकर्ताको उपस्थिति रहने बताइएको छ। त्यसक्रममा पार्टीको भावी कार्यदिशाबारे समेत स्पष्ट पारिने राईले बताए।
स्रोतका अनुसार एक महिनाअघि नै श्रम संस्कृति पार्टीमा किराँतीलाई साम्पाङपछिको दोस्रो वरियतासहितको वरिष्ठ नेता र कोसीको मुख्यमन्त्री दिने सहमति भइसकेको थियो।
तर, पछिल्लो समय सामपाङले किराँतीलाई वरिष्ठ नेता र कोसीको मुख्यमन्त्री दिन आनाकानी गरेपछि उनी कुलमान घिसिङसँगसमेत नजिकिएका थिए।
घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र सुदन किराँतीको समूहबीच एकता प्रयोजनका लागि छलफलसमेत भएको थियो।
कुलमानसँग किराँती नजिकिएपछि साम्पाङले पुरानै सहमतिअनुसार उनलाई वरिष्ठ नेता र कोसीको मुख्यमन्त्री दिन सहमति जनाएका स्रोतको दाबी छ। त्यसपछि मात्रै किराँती श्रम संस्कृति पार्टीमा समाहित हुन तयार भएका हुन्।
Shares

प्रतिक्रिया