राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलकी नेता कमला पन्तले प्रधानमन्त्री बालेन शाहले अध्यादेश र अंकगणितको आडमा महिलामाथि जघन्य हिंसा गरेको बताएकी छन्। सोमबार राष्ट्रिय सभाको बैठकमा पन्तले प्रधानन्यायाधीश सिफारिस प्रकरणको मुद्दा उठाउँदै प्रधानमन्त्री शाहले सक्षम महिलामाथि बहुमतको अहंकार प्रदर्शन गरेको बताइन्।
‘कुनै दिन आफ्नो श्रीमतीसँग जोडिएको एउटा घटनामा खुवै संवेदनशील देखिएर सामाजिक सञ्जालमा नानाभाँती लेख्नुहुने सम्माननीय प्रधानमन्त्रीज्यूले आज अर्को सक्षम महिलामाथि बहुमतको अहंकार प्रदर्शन गर्नुभएकोबाट समग्र महिलाको मन दुखेको छ। हामी महिलाहरू दुःखी छौं,’ उनले भनिन्, ‘महिला भएकै कारणले निमित्त चलाइ सकेको सिनियर महिला न्यायाधीशमाथि आक्रमण गरिएको छ। अध्यादेश र अंकगणितको आडमा गरिएको यो जघन्य महिला हिंसा हो भन्ने आम ठम्याई छ।’
पूर्ववर्ती सरकारको विकल्पका रूपमा परिवर्तनको नाराका साथ सत्तारोहण भएको वर्तमान सरकारले पहिलो गासमै अध्यादेश मार्फत संवैधानिक परिषद्को कार्यविधिमा पुरानै चलखेललाई समेत उछिन्ने गरी पराक्रम देखाएको पन्तको आरोप छ।
सर्वोच्च अदालतको गरिमा, सम्मान र भरोसा पूर्ण निरन्तरतामाथि प्रधानमन्त्री शाहले प्रहार गरेर आफ्नो नियतलाई छर्लङ्ग पारेको उनले बताइन्। यसबाट नेपाली न्यायिक क्षेत्रको निष्पक्ष निर्मल आकाशमा दुर्गामी गलत अभ्यासको धब्बाको विजारोपण भएको पन्तको भनाइ छ।
Shares

प्रतिक्रिया