राजनीति


नीति तथा कार्यक्रममा विपक्षी: निराश बनायो, बालेनको हर्कत ‘अशोभनीय’

नीति तथा कार्यक्रममा विपक्षी: निराश बनायो, बालेनको हर्कत ‘अशोभनीय’

लोकेन्द्र भट्ट
बैशाख २८, २०८३ सोमबार १९:४६, काठमाडौँ

विपक्षी दलहरूले दुई तिहाइ नजिकको सरकारको नीति तथा कार्यक्रमले निराश बनाएको प्रतिक्रिया दिएका छन्। संघीय संसद्को संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि विपक्षी दलहरूले यस्तो प्रतिक्रिया दिएका हुन्। 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रमले ठूलो परिवर्तन ल्याउन नसकेको टिप्पणी गरे। 

नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि कांग्रेस सांसद केसीले भने, ‘नीति तथा कार्यक्रमले ठूलो परिवर्तनको अपेक्षालाई सम्बोधन गर्न सकेन। संयोजन गरिनेछ, केन्द्रित हुनेछ जस्ता कुरा आएका छन्। यी सबै पहिला पनि यस्तै हो।’ 

निरन्तरतामा कर्मकाण्ड, केही जलप र केही आर्कषण मात्र देखाउन खोजेको उनले बताए। 

‘कर्मकाण्डी खालको नीति तथा कार्यक्रम छ। ठूलो परिवर्तनको दिशा पकड्नेछ भन्ने संकेत पाएको छैन,’ उनले भने।

देशको स्रोत साधनको कमी र जनताको आकांक्षालाई सन्तुलन गरेर कस्तो बजेट आउँछ भन्नेमा पर्खनुपर्ने केसीको भनाइ छ। 

प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको नीति तथा कार्यक्रमलाई झुटको पुलिन्दाको संज्ञा दिए। 

‘नीति तथा कार्यक्रम झुटको पुलिन्दा बाहेक केही होइन। कार्यान्वयन हुन नसक्ने खालको देखिन्छ,’ महरले भने, ‘यसमा थप टिप्पणी गर्नुपर्ने खालकै छैन।’

यस्तै विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम जेनजी आन्दोलनको मर्म अनुसार नआएको बताए। 

नेपालखबरसँग उनले भने, ‘सरकारको नीति तथा कार्यक्रममा नयाँ पाना देखिएन, निरन्तरता मात्र देखियो। क्रमभंग गर्ने, जनताको अपेक्षा, युवाहरूको धेरै अपेक्षा पूरा गर्ने आएन। नवयुवाहरूको चाहना थियो नि त, नयाँ कार्यक्रम, नयाँ नीति, नयाँ शक्ति भन्ने थियो, निरन्तरता मात्रै भयो।’

नीति तथा कार्यक्रमले युवा निराश हुने र जनतामा निराशा छाउने उनको भनाइ छ। 

‘उत्साहप्रद छैन। बजेट पनि यस्तै आयो भने त जनता, युवा निराश हुन्छन्। जनमत निराश हुन्छ। असाध्यै छरिएको पनि भयो। के भन्ने खोजेको? कता केन्द्रित हुन खोजेको? प्राथमिकता निर्धारण नै गर्न सकेको देखिएन,’ उनले भने। 

पूर्वअर्थमन्त्री समेत रहेका पुनले अगाडि भने, ‘सुशासनमा हो कि, समृद्धिमा हो कि, रोजगारी सिर्जनामा हो कि, शिक्षामा हो कि, स्वास्थ्यमा? केमा फोकस गर्न खोजेको हो, देखिएन, प्राथमिकीकरण गर्नुपथ्र्यो।’

यस्तै श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सरकारको नीति तथा कार्यक्रम समय सुहाउँदो नआएको प्रतिक्रिया दिए। 

‘यो समय सुहाउँदो र स्वभाविक आएन। यसबारे गम्भीर छलफल गर्नुपर्ने भयो। प्रधानमन्त्रीलाई बोर लाग्ने नीति तथा कार्यक्रमले जनतामा के आशा जगाउँछ,’ उनले नेपालखबरसँग भने। 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले पनि सरकारको नीति तथा कार्यक्रममा पुरानै कुरा दोहोरिएको बताए।

‘सरकारको नीति तथा कार्यक्रममा केही नयाँ छैन। सबै पुरानै कुरा छ। इ गभर्नेन्स, डेटा सेन्टर, एआईको कुरा अघिल्लो सरकारले पनि ल्याएको थियो,’ उनले भने।

रास्वपा सरकारले फेरि पनि कर्णालीलाई उपेक्षा गरेको उनको आरोप छ। 
‘कर्णालीलाई कसैले नहेर्ने भयो। पूर्वाधार विकासको क्षेत्रमा कर्णालीलाई समेटिएन। द्रुतमार्ग कुरा गरियो। कर्णालीको कुरा खै?’ शाहीको प्रश्न छ। 

राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दापढ्दै प्रधानमन्त्री रिसाएर हिँडेको भन्दै कार्यान्वयन हेर्न बाँकी रहेको उनको भनाइ छ। सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भने सरकारको नीति तथा कार्यक्रमको बचाउ गरेका छन्।

विपक्षी दलहरूले नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको स्वामित्वमाथि नै प्रश्न उठाएका छन्। 

नेकपा एमालेका सांसद गुरु बरालले भने ‘राष्ट्रपतिज्यूले नीति र कार्यक्रम प्रस्तुत गरिरहनुभएको छ। देशको प्रधानमन्त्री, जो यो टेबुल गर्ने प्रक्रियामा हुनुहुन्थ्यो। उहाँले बीचैमा बहिष्कार गरेर हिँड्नुभएको हामीले देख्यौँ। यसले यो नीति र कार्यक्रमप्रतिको उहाँको स्वामित्व के हो? यो संसद्ले बुझ्न चाहन्छ।’ 

नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बालेन्द्र शाह सदनबाट निस्कनु अशोभनीय भएको बताए। आफैँले हस्ताक्षर गरेको कार्यक्रम वाचन भइरहँदा प्रधानमन्त्री निस्कनु लज्जाको विषय भएको दुलालको भनाइ छ। 

‘आधा पढ्दापढ्दै प्रधानमन्त्री हिँड्नु अशोभनीय हर्कत हो। राष्ट्रपतिले सदनमा आफैँले हस्ताक्षर गरेका प्रति पढ्दा प्रधानमन्त्री छोडेर हिँड्नु राष्ट्रिय लज्जाको कुरा हो,’ उनले भने। 

सरकारको नीति तथा कार्यक्रमले प्रधानमन्त्रीमै आशा ल्याउन नसकेको उनको भनाइ छ। 

‘नयाँ कुरा सुन्न नपाउँदा ऊर्जा हराएको जस्तो नीति तथा कार्यक्रम लाग्यो। आफैँले बनाएको नीति कार्यक्रम राष्ट्रपतिज्यूले पढिनसक्दै आधा हुँदानहुँदै सायद सुन्न बोर नै लागेर होला प्रधानमन्त्री संसद्को हल नै छोडेर हिँड्नुपर्ने स्थिति आयो,’ उनले भने।

यस्तै राप्रपाका दलका नेता शाहीले सरकारको नीति तथा कार्यक्रम सुनेर प्रधानमन्त्री नै रिसाएर हिँडेको बताए। 

‘कार्यान्वयन गर्ने कुरा उहाँहरूको हातमा छ। राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दापढ्दै प्रधानमन्त्री रिसाएर हिँड्नुभयो। हेरौ कार्यान्वयन कसरी हुन्छ,’ उनले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad