नेपाली कांग्रेसको संस्थापन इतर पक्ष तितर–वितरको अवस्थामा पुगेको छ। सभापति गगन थापाले व्यक्तिगत संवादमार्फत इतर पक्षका नेताहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेपछि उक्त समूहमा विभाजन देखिएको हो।
सभापति थापाले सोमबार निवर्तमान सभापति शेरबहादुर देउवा, नेता डा शेखर कोइराला र डा शशांक कोइराला समूहका १९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए। देउवा पक्षले समानान्तर गतिविधि अघि बढाइरहेका बेला देउवा र कोइराला पक्षका १९ जना नेतालाई केन्द्रीय समितिमा समेटिएका छन्।
संस्थापन पक्षले देउवा पक्षका ११ जना, शेखर पक्षका ७ जना र शशांक पक्षका १ जना केन्द्रीय सदस्यमा मनोनीत गरेको देखिन्छ। देउवा पक्षबाट पूर्वसहमहामन्त्री महेन्द्र यादव, निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठ, नेताहरू रमेश रिजाल, अजयकुमार चौरासिया, लक्ष्मी परियार, आङगेलु शेर्पा, दिनेशकुमार यादव, राजीव ढुंगाना, सुशीला मिश्र भट्ट, नागिना यादव र जीवन राना छन्।
शेखर पक्षबाट पूर्वसहमहामन्त्री जीवन परियार, नेताहरू सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, चन्द्रकान्त भण्डारी, राजीव कोइराला, डा गोविन्दराज पोखरेल र दिनेश कोइराला केन्द्रीय सदस्यमा मनोनीत भएका छन्। शशांक पक्षबाट भने सीता थपलिया ‘उर्मिला’ मात्र मनोनयनमा परेकी छन्।
सभापति थापाले परामर्श नगरी आफू पक्षीय नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेपछि शेखर कोइरालाले मंगलबार आन्तरिक छलफल राखेका थिए। उक्त छललफलमा केन्द्रीय सदस्यमा मनोनीत जीवन परियार, गोविन्दराज पोखरेल, दिनेश कोइराला, सीता थपलिया लगायत सहभागी थिए। शेखरले उनीहरूलाई एक्लाएक्लै अगाडि बढेकोमा असन्तुष्टि व्यक्ति गरेका थिए।
‘तपाईंहरू केन्द्रीय सदस्यमा मनोनीत भएको मैले मिडियामा आएपछि थाहा पाएँ। गगनजीलाई सबैलाई समेटेर लैजानुहोस् भनेको थिएँ। तपाईंहरू एक्लाएक्लै अगाडि बढ्नु भएछ,’ उनको गुनासो थियो।
पार्टीको बृहत् एकताका लागि संस्थापन पक्षसँग अनौपचारिक संवाद भए पनि आफूहरूले केन्द्रीय सदस्य बन्न छुट्टै लबिङ नगरेको उनीहरूको प्रष्टोक्ति थियो।
‘तपाईंले अस्वीकार गर्न भन्नुहुन्छ भने पनि हामी तयार छौँ। हामी छुट्टै हिँड्न चाहेको होइन,’ उनीहरूले भनेका थिए।
सभापति थापाले परियार, भण्डारी, बडू, पोखरेल लगायतलाई केन्द्रीय सदस्य बनाएर कोइराला समूह पनि कमजोर पारिदिएका छन्। कोइरालासँग अब सिनियर नेतामा पूर्वउपसभापति धनराज गुरुङ, पूर्वसहमहामन्त्री बद्री पाण्डे, मिनेन्द्र रिजाल, बलबहादुर केसी लगायत मात्र छन्।
कोइरालाले केन्द्रीय सदस्य अस्वीकार गर्न नभने पनि उक्त मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको बताएका छन्।
‘वैशाख २८ गते कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको छ,’ बैठकपछि कोइरालाले भने, ‘पार्टीको १४औँ महाधिवेशनपछि नवीकरण गरिएका र नयाँ वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा नै पार्टीको १५औंँ महाधिवेशन सम्पन्न गरिनुपर्छ। कांग्रेस एकताको मुख्य आधार यो हुनुपर्छ।’
देउवा पक्षका नेता पूर्णबहादुर खड्काले पनि १९ जनाको मनोनयनको निर्णयले पार्टीको बृहत एकता गर्ने उद्देश्यमा ठेस पुगेको बताए।
‘सम्बन्धित सबैमा प्रस्ट होस्, हिजो वैशाख २८ गते गरेको भनिएको केन्द्रीय कार्यसमतिको मनोनयन सम्बन्धमा मसँग कुनै छलफल, परामर्श भएको छैन, मेरो जानकारीमा पनि छैन,’ उनले भने, ‘मेरो प्रस्ट मत छ— २८ गतेको निर्णयले पार्टीको बृहत् र सम्पूर्ण एकता गर्नुपर्ने उद्देश्यमा ठेस पुग्न गएको छ।’
संस्थापन पक्षले व्यक्तिगत रुपमा डिल गर्न थालेपछि देउवा पक्षले गरेको प्रदेश भेलामा पनि नेता कार्यकर्ताको उपस्थिति पातलो देखिन थालेको छ।
गगन–विश्व कित्तामा उभिए बालकृष्ण
देउवा पक्षका १० जना नेतालाई बालकृष्ण खाँणको सिफारिसमा सभापति थापाले केन्द्रीय सदस्यमा मनोनीत गरेको नेताहरू बताउँछन्। सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा र नेता खाँणबीच पछिल्लो समय निरन्तर संवाद भइरहेको छ।
खाणका विश्वासपात्र मध्येका पुष्पा भुसाल, उदयशम्शेर राणा, योगेन्द्र चौधरी, डिला संग्रौला लगायत विशेष महाधिवेशनमै सहभागी भइसकेका थिए। विशेष महाधिवेशनबाट भुसाल उपसभापति बनेकी छन् भने राणा, चौधरी, संग्रौला सहमहामन्त्री छन्। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई पनि खाँणका निकटस्थ मानिन्छ। पछिल्लो समय खाँण देउवा समूहको बैठकमा पनि सहभागी हुन छोडेका छन्।
सभापति थापा, उपसभापति शर्मा र खाँणबीच औपचारिक र अनौपचारिक रुपमा संवाद भएको नेताहरूले बताए।
कांग्रेसका एक पदाधिकारीले भने, ‘सभापति र उपसभापतिसँग खाँण निरन्तर संवादमा हुनुहुन्थ्यो। उहाँसँग सभापति र उपसभापतिले भेटघाट पनि गर्नुभएको सुनेको छु।’
१४ औँ महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्न नपाएपछि खाँणले शर्माप्रति सद्भाव राखेका थिए। आफ्ना विश्वासपात्रलाई महामन्त्रीमा शर्मालाई भोट दिन भनेको कांग्रेसवृत्तमा अहिले पनि चर्चा छ।
उपसभापति शर्माले खाणसँगको समन्वयमा जेठ १४ र १५ मा लुम्बिनी प्रदेश स्तरीय भेला रुपन्देहीमा राखेको नेताहरू बताउँछन्। प्रदेश राजधानी दाङमा कार्यक्रम राख्न आग्रह गर्दा खाँणको समन्यवमा रुपन्देहीमा राखिएको शर्माको जवाफ थियो। निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठ बाहेक १० जना खाणकै सिफारिसमा केन्द्रीय समितिमा मनोनीत गरिएको नेताहरू बताउँछन्।
खाँणले महेन्द्र यादव, नेताहरू रमेश रिजाल, अजयकुमार चौरासिया, लक्ष्मी परियार, आङगेलु शेर्पा, दिनेशकुमार यादव, राजीव ढुंगाना, सुशीला मिश्र भट्ट, नागिना यादव र जीवन रानाको नाम सिफारिस गरेका थिए।
‘हामी खाँण दाइको सिफारिसमा केन्द्रीय सदस्य भएको हौँ। उमेश श्रेष्ठजी पहिलेदेखि नै कार्यसमितिभित्रै हुनुहुन्थ्यो,’ केन्द्रीय सदस्यमा मनोनीत एक जनाले भने, ‘केन्द्रीय समिति बैठक सेयर गरिराख्नु भएको थियो।’
सुदूरपश्चिमका सिनियर नेताहरूसँग रानाले पनि खाँणको सिफारिसमा केन्द्रीय सदस्य बनेको बताएकी थिइन्। केही दिन थप केन्द्रीय सदस्य मनोनीत गर्ने सभापति थापाको तयारी छ।
‘सभापतिज्यूको कुरा गुटगत भागबण्डाका आधारमा भन्दा व्यक्तिगत रुपमा नै समेटेर जाने भन्ने छ। केही दिनमा थप केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी छ,’ कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘त्यसमा पूर्ण दाइ र शेखर दाइलाई नै समेट्ने प्रयास रहन्छ। त्यो सम्भव नभए केही साथी थपिन्छन्।’
Shares

प्रतिक्रिया