अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिएको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धानपछि चार वटा कसुरमा अभियोग दायर भएको परिसरका डीएसपी कौशलकुमार बुढाथोकीले जानकारी दिए।
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी, काभ्रेपलान्चोकको तेमाल गाउँपालिका १ स्थायी घर भइ फिलिपिन्समा लुकीछिपी बस्दै आएका ३४ वर्षीय प्रकाश पाठक र झापाको बुद्धशान्ति गाउँपालिका २ का ५६ वर्षीय ताराप्रसाद खरेलविरुद्ध मुद्दा दायर भएको हो।
उनीहरुविरुद्ध आपराधिक लाभ लिन नहुने कसुर, आपराधिक षडयन्त्र गर्न नहुने कसुर, विद्युतीय कारोबार ऐन विरुद्धको कसुर र सङ्गठित अपराध निवारण ऐन विरुद्धको कसुरमा मुद्दा दायर गरिएको छ।
प्रदिप अधिकारीविरुद्ध अख्तियारले भ्रष्टाचारको आरोपमा अनुसन्धान अगाडि बढाएपछि उनकै निर्देशन र मिलेमतोमा प्रकाश पाठक र उनी निकट प्रतिवादी तारा प्रसाद खरेलले अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलाई ईजीएन भन्ने आतङ्कवादी सङ्गठनको नाम लिई पत्र र वाट्सएपबाट भिडियो पठाएर राजीनामा माग गरेका थिए। राजीनामा नदिए ज्यानै लिनेसम्मको धम्की दिएका थिए।
Shares

प्रतिक्रिया