नेपाली कांग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गरेका छन्।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद श्रेष्ठले प्रधानमन्त्री उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ नदिएसम्म सदनको कारबाही अघि बढ्न नदिने चेतावनी दिएका हुन्।
सांसद श्रेष्ठकाअनुसार सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन र सुझावहरू राख्ने कार्यक्रम रहेको छ। यो विषय सम्पूर्ण देश र जनताको भविष्यसँग जोडिएको हुनाले सरकारको प्रमुखका हैसियतले प्रधानमन्त्रीले ती सुझावहरू सुन्नुपर्ने र उठेका प्रश्नहरूको स्पष्टीकरण दिनुपर्ने उनको तर्क छ।
उनले भने, ‘सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम कुनै एउटा दलको मात्र नभई सम्पूर्ण २७५ जना प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभाका सांसदहरूको मर्यादाको विषय हो। यो ३ करोड नेपाली जनताको वर्षभरिको मार्गचित्र भएकाले यसमा गरिने सुधार र निर्देशनका सम्बन्धमा प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनैपर्छ।’
सांसद श्रेष्ठले गत वैशाख २८ गते राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बीचमै बाहिरिएको प्रति असन्तुष्टि व्यक्त गर्दै त्यसलाई अमर्यादित कार्यको संज्ञा दिए।
प्रधानमन्त्रीले आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा पूर्ण समय नदिएको भन्दै आजको छलफलमा उनको अनिवार्य उपस्थितिको माग गरिएको हो।
Shares

प्रतिक्रिया