नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले सरकारले नागरिकको सम्मान गर्नुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद नेम्वाङले सुकुम्वासीलाई राज्यले बल प्रयोग गरेर हटाउने गलत भएको बताए। सुकुम्वासीमाथि दमन गर्नुको सट्टा उनीहरूलाई सरकार भएको अनुभूति गराउनुपर्ने उनको भनाइ थियो।
‘मैले समितिको बैठकमा पनि भनेको छु, राज्य वा सरकार सबैभन्दा बढी उनीहरूलाई चाहिन्छ, जसको केही छैन र कोही छैनन्। कोही नहुनेका लागि राज्य हुन्छ भन्ने मान्यताले नै विधिको शासनलाई जीवन्त, चिरस्थायी, र बलियो बनाउँछ,’ नेम्वाङले भने, ‘जसको स्रोत छैन वा पहुँच छैन, उनीहरूका लागि राज्य नै अन्तिम भरोसा हुनुपर्छ। उनीहरूलाई अपमानित गरेर देश बनाउने सपना हामी किन देखिरहेका छौँ?’
सुकुम्वासी तथा भूमिमाथि राज्यले गरिरहेको व्यवहार प्रतिउत्पादक हुने उनले चेतावनी दिए। ‘ती निमुखा, निर्धा र बेसहारामाथि हामीले जे व्याहार गर्यौँ। हामीले उनीहरूको क्रन्दन, चित्कारलाई यदि सुनेनौँ भने, ती विक्षिप्त, मलिन र उदास अनुहारलाई बुझ्न सकेनौं भने त्यसको मूल्य इतिहासमा धेरै ठूलो हुनेछ,’ उनले भने।
उनले भौतिक पूर्वाधार मात्रै सबैथोक नभएको जिकिर गरे। ‘फेरि पनि भन्छु, मान्छेहरूको सम्मान नगरी, न देश बन्छ, न राष्ट्रको मर्यादा नै उचो हुन्छ। त्यस कारण, भौतिक पूर्वाधारहरु जति भव्य बन्छ, ठिक त्यसैगरी सबै–सबैको आत्मसम्मान पनि उत्तिकै भव्य बनाइदिने गरी नीति निर्माणमा गरौँ,’ नेम्वाङले भने।
Shares

प्रतिक्रिया