राजनीति


ईयूआबद्ध देशका राजदूतसँग प्रधानमन्त्री शाहको आज सामूहिक भेट, यी हुन् मुख्य दुई चासो

ईयूआबद्ध देशका राजदूतसँग प्रधानमन्त्री शाहको आज सामूहिक भेट, यी हुन् मुख्य दुई चासो

फाइल फोटो


नेपालखबर
जेठ १२, २०८३ मंगलबार ७:१४, काठमाडौँ

प्रधानमन्त्री वालेन्द्र शाहले आज युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्दैछन्।

भेटवार्ता मंगलबार बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गर्ने तय भएको छ। 

भेटमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

यसअघि गएको चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट गरेका थिए।

आजको भेटमा नेपाललाई अतिकम विकसित देशको समूहमा यथावत् राख्न अन्तर्राष्ट्रिय समर्थन जुटाउन प्रयास हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। 

त्यसैगरी युरोपेली संघको हवाई सुरक्षा ‘कालोसूची’बाट नेपाललाई हटाउन पनि नेपालले आग्रह गर्ने तयारी छ। 

भेटमा इयू अन्तर्गतका २२ देशसहित दक्षिण–पूर्वी एसियाली मुलुकका गरी ३० भन्दा बढी कूटनीतिज्ञको सहभागिता रहने छ।  

१३ चैतमा प्रधानमन्त्री नियुक्त भएपछि शाहको यो दोस्रो कूटनीतिक भेट हो । प्रधानमन्त्री शाहले यसअघि नेपाल आएका अमेरिकी कूटनीतिज्ञ तथा बेलायती मन्त्रीसँग भने भेटेका थिएनन् ।

स्रोतका अनुसार यसअघिझैँ प्रधानमन्त्री शाहले आज पनि परराष्ट्र मन्त्रालयका कर्मचारीद्वारा तयार पारिदिएको छोटो लिखित भाषण पढ्नेछन् भने ईयूसम्बद्ध तथा अन्य राजदूतहरूले आफ्ना धारणा राख्ने गरी बैठक तय गरिएको छ।

भेटमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, एस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रिस, इटाली, लिथुआनिया, लक्जमबर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेनका राजदूत तथा नियोग उपप्रमुख सहभागी हुने बताइएको छ।

प्रधानमन्त्री शाहसँग भेट्नुअघि युरोपेली संघका २२ जना कूटनीतिज्ञले सोमबार परराष्ट्रमन्त्री शिशिर खनाल, शिक्षामन्त्री सस्मित पोखरेल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क पौडेलसँग भेटवार्ता गरेका थिए। 

युरोपेली कूटनीतिज्ञहरूले नागरिक समाजका प्रतिनिधिहरुलाई पनि भेटेका छन्। 

सो भेटपछि युरोपेली संघको नेपालस्थित कार्यालयद्वारा जारी विज्ञप्तिमा यो भेटवार्ताले नेपालको नयाँ सरकारसँग भेटेर युरोपेली संघ र नेपालबिचको बलियो सम्बन्धलाई पुनः पुष्टि गरेको उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad