राजनीति


म अब स्वस्थ छु, झोला फालेर भाग्दिनँ: केपी शर्मा ओली

म अब स्वस्थ छु, झोला फालेर भाग्दिनँ: केपी शर्मा ओली

नेपालखबर
जेठ २०, २०८३ बुधबार १४:५५, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीको नेतृत्व गरिरहने र चुनौतीको सामना गर्दै अगाडि बढ्ने बताएका छन्। 

बुधबार एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो स्वास्थ्यमा पूर्ण सुधार आएको जानकारी दिँदै पार्टीलाई सफलताको मार्गमा अगाडि बढाउने उनको भनाइ थियो। ‘अहिलेसम्म मैले कमरेडहरूसँग अलि सघन ढंगले संवाद गर्न र कमरेडहरूको बीचमा पुग्न सकेको थिइनँ, यी सबै कारणहरूले। अब म फेरि स्वस्थ भएको छु र अब म कमरेडहरूको बीचमा तथा नेपाली जनताको बीचमा फेरि पुग्नेछु,’ ओलीले भने। 

पार्टीभित्र अनुकूल परिस्थितिमा उत्साहित हुने र प्रतिकूल समयमा जिम्मेवारीबाट पन्छिने प्रवृत्तिको राम्रो नभएको उनको भनाइ थियो। आफ्नो जिम्मेवारी पूरा नहुँदासम्म अध्यक्ष पद नछोड्ने उनले बताए। 

‘मलाई राम्ररी थाहा छ, कमरेडहरूले गएको पुस ३ गते मलाई अध्यक्ष छान्नुभएको थियो। महाधिवेशनका प्रतिनिधिहरूले मलाई अध्यक्ष छान्नुभएको थियो,’ ओलीले स्मरण गराए, ‘सजिलो पर्‍यो भने, अनुकूल वातावरण बन्यो भने, प्रधानमन्त्री बन्न पाइने भयो भने कसिएर अगाडि बढ्ने र प्रधानमन्त्री बन्ने, अनि अप्ठ्यारो अवस्था आयो भने झोला फालेर भागिहाल्ने भनेर होइन।’

अप्ठ्यारो परिस्थिति आउँदा निरास नबन्न उनले नेता तथा कार्यकर्तालाई सचेत गराए। ‘हामी एमालेहरू सजिलो परिस्थिति आयो भने फुरुङ्ग परिहाल्ने, केटाकेटीलाई दशैँ आएजस्तो आँगनमा निस्केर दशैँ आयो भनेर नाच्न थाल्ने, अप्ठ्यारो परिस्थिति आयो भने अनेक प्रकारका वितण्डा मच्चाउने, अनेक निहुँ खोज्ने, आफूले राम्रो गरेको तर अरूले नराम्रो गरेको भन्दै जनताका बीचमा जाने, आफ्नो कमी नदेख्ने र अरूको कमी मात्र देख्ने प्रकारका हुनुहुँदैन,’ उनले भने। 

अप्ठ्यारो अवस्था आएमा त्यसको सामना गर्नका लागि तयारी गर्न भनेरै आफूलाई अध्यक्ष छानिएको उनको भनाइ थियो। ‘कमरेडहरूलाई कतै आशंका हुनसक्छ, मैले बीचैमा झोला फालेर अलपत्र छोडेर हिँड्ने हो कि भन्ने। त्यो आशंका मनमा नलिनु होला,’ ओलीले भने, ‘म अप्ठ्यारा परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाउनेछु, पार्टीलाई सफलतामा पुर्‍याउनेछु।’

केही समयदेखि स्वास्थ्यका कारण कार्यकर्ता र जनताबीच सघन रूपमा पुग्न नसकेको स्वीकार गर्दै उनले अब आफू पूर्ण स्वस्थ भएको र सक्रिय रूपमा सार्वजनिक गतिविधिमा फर्कने बताए। पार्टीलाई सफल बनाएपछि विश्राम लिनुपर्ने अवस्था आएमा पार्टीको विधान, विधि र प्रक्रियाअनुसार विश्राम लिने उनले बताए। आफ्नो स्वास्थ्यका विषयमा अनेक टिकाटिप्पणी भए पनि आफू स्वस्थ रहेको उनको भनाइ थियो। 

‘अलिकति टाउको दुख्यो भने पनि, टाउको दुखेको थाहा पाएपछि अब मर्छ, मर्छ भनेको पनि धेरै भइसक्यो। मर्ने छाँट त देखिँदैन, बरु। म अब स्वस्थ छु,’ ओलीले भने। 

आन्दोलन र अहिलेको परिस्थितिलाई अत्यन्त गम्भीरताका साथ लिएको उनले उल्लेख गरे। यस परिस्थितिबाट पार्टीलाई, आन्दोलनलाई र देशलाई चुनौतीको सामना गर्दै अगाडि बढाउने संकल्न रहेको ओलीको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad