राजनीति


बालिका र किशोरीहरूको जीवन रक्षाका लागि विद्यालयमा साइबर सेक्युरिटीको कक्षा सञ्चालन गर्न माग

बालिका र किशोरीहरूको जीवन रक्षाका लागि विद्यालयमा साइबर सेक्युरिटीको कक्षा सञ्चालन गर्न माग

नेपालखबर
असार १, २०८३ सोमबार १३:१७, काठमाडौँ

रास्वपाकी सांसद सृजना श्रेष्ठले विद्यालय तहको पढाइमै साइबर सेक्युरिटी र साइबर बुलिङको कक्षा सञ्चालन गर्नुपर्ने माग गरेकी छन्। 

सोमबारको प्रतिनिधिसभा बैठकमा उनले पछिल्लो समय किशोरीहरूमाथि सामाजिक सञ्जालको प्रयोग गरेर आपराधिक घटना बढ्न थालेको भन्दै उनले त्यस्तो माग गरेकी हुन्। 

आफूलाई हिजो मात्रै एक बालिकाकी आमाले साइवर बुलिङ्को हृदयविदारक घटना सुनाएको भन्दै श्रेष्ठले यसप्रति सरकारको ध्यानाकर्षण गराइन्।

‘ती बालिका आत्महत्यासम्म पुग्न खोजेकी रहिछन्, उनकी आमा रुँदै आएर मलाई यो घटना सुनाउनु भयो,’ उनले भनिन्, ‘फेक आइडी बनाएर आपराधिक मानसिकता भएको व्यक्तिले बालिकाको तस्बिरलाई अन्य केटाहरूको तस्बिरसँग जोडेर सामाजिक सञ्जालमा भाइरल बनाउने धम्की दिएको रहेछ। सोही कारण बालिकाले आत्महत्या गर्ने प्रयास समेत गरेकी रहिछन्। तर, समयमै बालिकाको उद्धार भएकाले ज्यान जोगिएको छ।’

उनले पछिल्लो समय बालिका र किशोरीहरूको आत्मसम्मानमा चरम ब्लाकमेलिङ हुन थालेको बताइन्। 

‘समयमै उद्धार हुँदा ती बालिकाको त ज्यान जोगिएको छ, तर धेरै छोरीहरू अपराधिहरूको जालमा परिरहेका छन्,’ उनले भनिन्, ‘यसप्रति म सरकार, गृह, सूचना तथा मन्त्रालयको ध्यानाकर्णण गराउन चाहन्छु।’

उनले देशैभरीका विद्यालयमा कक्षा सातदेखि १० सम्मका विद्यार्थीका लागि महिनामा दुईदिन मात्रै भए पनि अनिवार्य रूपमा साइबर सेक्युरिटी र साइबर बुलिङको कक्षा सञ्चालन गर्न माग गरिन्।  

‘प्रहरीको साइबर ब्युरोको सेवालाई काठमाडौँ बाहिर पनि विस्तार गरिनुपर्छ,’ उनले भनिन्, ‘पीडितहरूले स्थानीय तहबाटै न्याय पाउने गरी सुरक्षा व्यवस्था मिलाउन सकियो भने पनि आपराधिक घटना न्यूनीकरणमा सहयोग पुग्छ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad