त्यसो त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई चुनाव लड्नै नपरी वरिष्ठ नेता बनाउने निर्णय गरिसकेको छ। पहिलो महाधिवेशन गरिरहेको रास्वपाले सभापति पनि रविलाई बनाउने सहमति गरिसकेको छ।
विधानअनुसार रास्वपाको चुनाव दुई चरणमा हुन्छ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको चुनाव हुन्छ।
लामिछानेसँग कसैले प्रतिस्पर्धा गर्ने छैनन्। तर वरिष्ठ नेता कसरी चुनिन्छन् त?
किनकि रास्वपाको निर्वाचित ९९ जना केन्द्रीय सदस्यले पदाधिकारीका लागि मत दिन पाउने व्यवस्था छ। त्यसो हो भने प्रधानमन्त्री बालेन केन्द्रीय सदस्यको चुनाव लड्न पर्छ?
रास्वपाको केन्द्रीय सदस्य बन्न हजार बढी आकांक्षी छन्। मन्त्रीदेखि सांसद, अहिलेका बहालवाला पदाधिकारी पनि केन्द्रीय सदस्य जितेरै आउनु पर्ने भएकाले धेरै मत पाउन मरिमेटेर प्रचारमा छन्।

सामाजिक सञ्जाल, आफ्नो सचिवालयलाई प्रचारमा खटाएर मात्र नपुगेको भन्दै प्रत्येक प्रतिनिधि भेटिरहेका छन्।
उनीहरूको तयारी हेर्दा निकै मिहिनेत गर्नुपर्ने देखिन्छ।
तर, प्रधानमन्त्री बालेनले उनीहरूले जति मिहिनेत गरेका छैनन्। उनी आइतबार मात्र काठमाडौँबाट चितवन भरतपुर ओर्लिए। अहिले भरतपुरबाट झन्डै १९ किलोमिटर टाढा रहेको एक रिसोर्टमा उनी सपरिवार आराम गरिरहेका छन्।
पुस १३ गते आफ्नो समूह लिएर रास्वपासँग एकता गरेपछि नेपाली राजनीतिमा प्रवेश गरेका बालेन छोटै अवधिमा प्रधानमन्त्री बन्न सफल भए।
सांसदले मत दिएर प्रधानमन्त्री हुन पाए पनि चार हजार बढी प्रतिनिधिको मन जित्नुपर्ने छ। तर, प्रधानमन्त्री ढुक्क छन्।
बास बसेकै होटेलमा सभापति रवि लामिछानेका स्वकीय सचिवलाई गीत गाउन लगाएर मध्यराति सामाजिक सञ्जालमा पोस्ट् गर्छन्।
वरिष्ठ पदका लागि किन निर्धक्क छन् बालेन?
रास्वपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार संशोधित विधानमा थपिएको वरिष्ठ नेताको पदले उनी केन्द्रीय सदस्य निर्वाचित हुनै पर्दैन।
‘सुरुमै सभापति र वरिष्ठ नेता निर्विरोध निर्वाचित गर्ने भन्ने छ,’ उनले भने, ‘बालेनज्यूका लागि हामीले विधानमै विशेष व्यवस्था गरेकाले उहाँले केन्द्रीय सदस्य जित्न परेन। उहाँ ९९ जनाभित्र पर्नुभएन।’
विधानको विशेष व्यवस्था हिजो (आइतबार) अनुमोदन भएको छ। अब केन्द्रीय समितिले निर्वाचित गर्ने पदाधिकारीमा रवि-बालेनबाहेकका लागि चुनाव हुने उनले बताए।

विधान संशोधन कार्यदलका संयोजकसमेत रहेका सहमहामन्त्री बिपिन आचार्यले पनि वरिष्ठ नेता केन्द्रीय समितिबाट निर्वाचित हुन नपर्ने जानकारी दिए।
चितवनको उखरमाउलो गर्मीमा असिनअसिन भएर प्रतिनिधि मत मागिरहेका छन्। त्यसो त यही महाधिवेशनबाट निर्वाचित भएपछि सभापति रवि लामिछाने थप शक्तिशाली बन्नेछन्।
उनीसँग यति धेरै मनोनीत अधिकार दिइएको छ कि, अहिले महाधिवेशन प्रतिनिधि चयनमै सो कुरा देखिइसकेको छ। सुरुमा तीन हजार प्रतिनिधि हुने अनुमान गरेको रास्वपाले उद्घाटन सत्रमा ४२ सय भन्दा बढी हुने निर्णय गर्यो। अहिले फेरि सो संख्या बढाउने भएको छ।
Shares

प्रतिक्रिया