राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मण लाल कर्णले आफूहरुको राष्ट्रियताको विषयमा आफुहरुमाथि शंका नगर्न आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा संविधानको दोस्रो संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुदै उनले मधेसवादी दलको राष्ट्रियतामा शंका नगर्न आग्रह गरेका हुन्।
‘हाम्र्रो राष्ट्रियतामा शंका नगर्न अनुरोध गर्दछु। नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताप्रति हाम्रो दुईमत छैन’, सांसद कर्णले भने।
उनले आफूले पटक पटक भन्दै आए पनि आफूहरुमाथि शंका हुँदै आएको गुनासो गरे। उनले आफू असली राष्ट्रवादी र अरु होइनने भन्ने खालको कुरा नगर्न आग्रह समेत गरे।
‘हामी पटक–पटक भनिरहेका छौँ। आज मैले सुन्दा जुन अर्नगल कुरा सरकारपक्षबाट आएको छ भने त्यस्ता कुरालाई हामीले समर्थन गर्न मिल्छ?’, उनले प्रश्न गरे, ‘त्यस किसिमबाट कसैले कसैलाई रगतको कुरा गर्न सकिन्छ? यदि रगतको कुरा गर्ने हो भने इतिहास हेर्नुपर्ने हुन्छ। त्यसकारण यस किमिका गम्भीर विषयमा म मात्रै राष्ट्रवादी हुँ अरु होइनन् भन्ने कुराको कल्पना नगर्नुहोस् मेरो अनुरोध छ।'
उनले सरकारले संविधान संशोधनको प्रस्ताव बनाउँदा भू भागसंग सम्बन्धित विषय भएकाले संविधानको धारा ४ को (क) र (ख) लाई पनि हेर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए।
‘सुगौली सन्धि भएकै हो । हार वा जीतको कुरा गर्ने होइन। समय सापेक्ष सुगौली सन्धि भएको हो। त्यसपछि देशले महाकाली सन्धि गरेको छ, १९ सय ५० को सन्धि गरेको छ’, उनले भने, ‘कस्ले कस्ले गरेको हो? आत्मालाई साँझी राखेर आज सोचोस्। यो इतिहासको कालघडीमा के के गर्नुभयो? राष्ट्रवाद त्यो हो? कस्ले भूमि गुमाए?’
भूमि फिर्ता गर्नका लागि सरकारबाट राम्रो कामको सुरुवात भएको भन्दै अझ विशेष गम्भीर रुपले चिन्तन गरेर कुटनीक माध्यमबाट समस्या समाधान खोज्न सुझाब दिए।

प्रतिक्रिया