राजनीति


भारतसँग वार्ता गर्न सरकारको व्यग्र प्रतीक्षा, निरन्तर ताकेता भइरहेको परराष्ट्रमन्त्रीको भनाइ

भारतसँग वार्ता गर्न सरकारको व्यग्र प्रतीक्षा, निरन्तर ताकेता भइरहेको परराष्ट्रमन्त्रीको भनाइ

शरच्चन्द्र भण्डारी
जेठ २७, २०७७ मंगलबार ११:५४,

सरकारले सिमानालगायत भारतसँगका सबै समस्या वार्ताको माध्यमबाट समाधान गर्न चाहेको दोहोर्‍याउँदै त्यसका लागि व्यग्र प्रतीक्षा गरिरहेको स्पष्ट गरेको छ।

नयाँदिल्लीसँग वार्ताका निम्ति निरन्तर प्रयास र ताकेता गरिरहेको र उसको प्रत्युत्तरको प्रतीक्षा भइरहेको पनि सरकारले बताएको छ।

प्रतिनिधिसभामा विनियोजन विधेयक २०७७ माथिको छलफलका क्रममा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित विषयहरूमा सांसदहरूले उठाउनु भएका प्रश्नहरूको जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले वार्ताको विकल्प नसोचेको बताए।

कूटनीतिक माध्यमबाट धेरै जटिल समस्या समाधान भएका तर्क गर्दै उनले भारतसँगका मुद्दा पनि वार्ताकै माध्यमबाट हल हुनेमा आफू आशावादी रहेको बताए।

कोभिड–१९ को महामारीका बेला पनि चीन र भारतबीच गत शनिबार वार्ता भएको प्रसङ्ग उल्लेख गर्दै उनले नेपालसँग वार्ता गर्न भारतले नमान्नुपर्ने कारण आफूले नदेखेको बताए।

नेपाल–भारत सीमासम्बन्धी नसुल्झिएका विषयलाई सुल्झाउन कूटनीतिकस्तरमा वार्ता गर्न नेपालको तर्फबाट निरन्तर प्रयास हुँदै आएको र नेपाल–भारत सम्बन्धलाई अझ मजबुत र सुदृढ बनाउँदै लैजान इतिहासदेखि थाती रहेका विषयहरुलाई सम्बोधन गर्न जरुरी भएको उनले बताए। नेपालले सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा छिमेक लगायत सबै मित्रराष्ट्रहरुसँगको सम्बन्धलाई सुदृढ बनाउँदै लैजाने नीति सरकारको रहेको उनको कथन थियो।

सरकारबाट सक्रिय र सार्थक कूटनीतिक प्रयास जारी रहेको तथा कूटनीतिक वार्ता मार्फत नेपालको सीमाभित्र पर्ने भूमिमाथि हाम्रो नियन्त्रण कायम गर्नेलगायत नेपाल–भारत सीमा समस्याका अन्य विषयहरुको निकास निकाल्न सरकारले हरसम्भव पहल गर्नेमा आफू विश्वस्त रहेको उनले बताए।

परराष्ट्र मन्त्रालयले नेपालको संविधानले गरेको मार्गनिर्देशन र नीतिअनुरुप परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्दै आएको बताउँदै मन्त्री ज्ञवालीले भने, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय हित तथा विदेशमा रहेका नेपाली नागरिकको हित रक्षाका खातिर सरकारले पूर्ण प्रतिबद्धताका साथ काम गरिरहेको छ।’

‘संविधानले गरेको मार्गनिर्देश अनुरुप राष्ट्रिय हित प्राप्तिमा संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्वशान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरि हित, सार्वभौमिक समानता, पारस्परिक सम्मान, सिमानाको सुरक्षा र आर्थिक समुन्नतिलाई नेपालको राष्ट्रिय हितका र पारस्परिक लाभको आधारमा नेपालले स्वतन्त्र, सन्तुलित र असंलग्न परराष्ट्र नीति सञ्चालन गरिआएको छ र यस नीतिलाई अझ प्रभावकारी रुपमा सञ्चालन गरिनेछ’ उनले भने।

 नेपालको परराष्ट्र नीतिको एउटा प्रमुख लक्ष्य विश्वभरका विभिन्न मुलुकहरु र अन्तर्राष्ट्रिय संस्थाहरुसँग सुमधुर र फलदायी सम्बन्ध विकास गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षाअनुरुप देश विकास र जनताको जीवनस्तर सुधार गर्न आवश्यक अनुकूल वाह्य वातावरण तयार गर्नमा नै सरकार लागेको बताउँदै परराष्ट्रमन्त्रीले परम्परागत रुपमा विदेशी सहायतामा रहिआएको मुलुकको निर्भरतालाई क्रमशः कम गर्दै लैजाने सरकारको नीति रहेको स्पष्ट पारे।

अन्तर्राष्ट्रिय, क्षेत्रीय र भू–राजनीतिक परिस्थितिमा तीव्र परिवर्तनहरू आइरहेका, विश्वको शक्ति सन्तुलनमा नयाँ समीकरण देखापरेको, विश्वको आर्थिक र राजनीतिक केन्द्रहरूको अवस्थिति बदलिँदै गएको र हामीले अभ्यास गर्दै आएको विद्यमान बहुपक्षीय विश्व प्रणाली र संस्थाहरूमाथि गम्भीर चुनौतीहरू देखा पर्न थालेको चर्चा गर्दै उनले शक्ति राष्ट्रहरूबीच आर्थिक स्वार्थको बढ्दो टकराव, प्रविधिको अनियन्त्रित प्रयोगका कारण उत्पन्न अनपेक्षित चुनौती, आर्थिक असमानता एवं स्रोत साधनको असमान वितरण, जलवायु परिवर्तन, बढ्दो अतिवाद एवं आतङ्कवाद, द्वन्द्व र हिंसा, शस्त्रास्त्रको होडबाजी र महामारीले दिगो विकासको लक्ष्य र शान्ति हासिल गर्ने उद्देश्यमा व्यवधान खडा हुने यथार्थ प्रस्तुत गरे।

परराष्ट्र नीतिजस्तो संवेदनशील र जटिल विषयको कार्यान्वयनमा सहयोग नपुग्ने र अव्यावहारिक धारणा सार्वजनिक गर्न नहुनेमा जोड दिँदै उनले आन्तरिक नीति र वाह्य परिस्थितिबीच तालमेल मिलाउँदै परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने वास्तविकता औँल्याए।

परराष्ट्र नीति सञ्चालन र सम्बन्ध विस्तारमा आवश्यक सावधानी नअपनाउँदा देखा पर्ने विचलन र त्रुटिले गम्भीर संकट निम्त्याउन सक्ने भएकाले राष्ट्रको एकल आवाज र ऐक्यवद्धतालाई प्रतिविम्बित गर्न राज्यले स्थापित संयन्त्रमार्फत राजनीतिक, प्रशासनिक र अन्य तह तथा माध्यमहरुबाट मात्र परराष्ट्र सम्बन्ध सञ्चालन गर्नुपर्ने यथार्थ बिर्सन नहुने मन्त्री ज्ञवालीको अभिमत थियो।

पछिल्लो समय विश्व मानचित्रमा कोरोना महामारीबाट सिर्जित अति नै चुनौतीपूर्ण परिस्थितिले परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धका प्राथमिकतामा केही समयका लागि विषयान्तर हुने भए पनि बदलिएको परिस्थिति र थपिएको जटिलताबीच पनि अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत स्तम्भहरुलाई केन्द्रमा राखेर आफ्ना क्रियाकलापहरु पुनःपरिभाषित गर्दै नवीन प्रविधिका माध्यमबाट परराष्ट्र नीति सञ्चालन गर्ने र राष्ट्रिय हित प्राप्तिमा प्रतिबद्ध रहने उनले बताए।

विकास साझेदारी वा अन्य कुनै पनि प्रसङ्गमा नेपाल कुनै पनि प्रकारका सैन्य वा रणनीतिक गठबन्धनमा संलग्न नहुने, दातृराष्ट्र तथा विकास साझेदारहरुबाट कुनै प्रकारको सहयोग राष्ट्रिय हित प्रतिकूल हुने गरी नलिइएको र भविष्यमा पनि त्यसरी नलिइने स्पष्ट नीतिप्रति सरकार प्रतिबद्ध रहेको मन्त्री ज्ञवालीले स्पष्ट गरे।

‘अमेरिकी तथा अन्य विकास साझेदारको सहयोग परिचालन गर्दा नेपाल सरकारले आफ्नो राष्ट्रिय हितलाई सर्वोपरि राख्दै भौगोलिक अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय स्वतन्त्रताको प्रतिकूल नहुने कुराको सुनिश्चतता गर्दै आएको छ,’ मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सहित अन्य वैदेशिक सहायताबारे प्रष्ट पार्दै उनले भने।

बेलायती रक्षा राज्यमन्त्रीलाई सम्बोधन गरी ब्रिटिश गोर्खाहरुले उठाएका जायज मागहरु र सन् १९४७ को त्रिपक्षीय सन्धिमाथि विस्तृत छलफल गर्ने विषयमा आफूले पत्र पठाएको, पूर्व गोर्खाका माग सम्बोधनका लागि ल्याइने ‘प्याकेज’हरु सम्बन्धित पक्षहरुसँग छलफल गरी सर्वस्वीकार्य हुने गरी तयार गरिनु पर्नेमा आफूले जोड दिँदै आएको मन्त्री ज्ञवालीले बताए। कुनै पनि सम्झौता सार्वभौम समानताका आधारमा हुनुपर्नेमा अडिग रहँदै नेपाल र बेलायतबीच पनि पारस्परिक सम्मान, समानता र पारस्पारिक हितका आधारमा द्विपक्षीय सन्धि गर्ने सरकारको प्रयासलाई निरन्तरता दिइने वचनबद्धतालाई उनले दोहोर्‍याए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad