राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत नेताहरु आइतबार पर्वत जिल्लाको कुश्मा नगरपालिका-३ दुर्लुङमा पहिरो गई आठ जनाको ज्यान गएको स्थानमा पुगेका छन्।
शनिबार राती अविरल वर्षा हुँदा गएको पहिरो जाँदा त्यहाँ आठ जनाको निधन भएको थियाे भने एक जना अझै बेपत्ता छन्।
आफ्नै गृह जिल्लामा पहिरोबाट गाउँलेहरुमा ठूलो क्षति भएपछि उनी त्यहाँ पुगेका हुन्।
अध्यक्ष तिमिल्सिनाले घटनास्थतलको अवलोकन गर्नुका साथै मृतक परिवार तथा प्रभावित स्थानीयलाई भेटेर सान्त्वना व्यक्त गरेका थिए।

‘सो क्रममा अध्यक्ष तिमिल्सिनाले बेपत्ताको शीघ्र उद्दार, पीडितलाई राहत, पुनर्स्थापन तथा पहिरोबाट जोखिम रहेकाे वरपरको बस्तीको स्थानान्तरणमा तथा संरक्षणमा तदारुकताका साथ काम गर्न तीन तहका सरकारलाई आग्रह गर्नुभयो,’ अध्यक्षका प्रेस संयोजक अशोक पौडेलले बताए।

अध्यक्ष तिमिल्सिनासँगै पर्वतका प्रतिनिधसभा सदस्य पदम गिरी, गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरणमन्त्री विकास लम्साल लगायतले घटनास्थलको अवलोकन गर्नुका साथै मृतकका परिवार र जोखिममा रहेका स्थानीयलाई आफूहरुको साथ सहयोग रहने बताएका थिए।
राष्ट्रिय सभा अध्यक्ष, सांसद गिरी र लम्साल पर्वतबाटै निर्वाचित सांसदहरु हुन्।


तस्बिरहरु: अशाेक पाैडेल

प्रतिक्रिया