राजनीति


तिक्तताबीच ओलीको अनुभूति : प्रचण्डले पार्टीलाई फुटबाट जोगाए

तिक्तताबीच ओलीको अनुभूति : प्रचण्डले पार्टीलाई फुटबाट जोगाए

सागर न्यौपाने
साउन १६, २०७७ शुक्रबार ११:१०,

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ। पार्टीका दुई अध्यक्षले नेतृत्व गरेका दुवै पक्षले केहि दिनयता समानान्तर गतिबिधि जारी राखेका छन्।

पार्टीको विवाद थप बल्झिँदै गएपछि त्यसलाई समाधान गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी दिइएको थियो। तर, दुई अध्यक्षबीच केहि दिनयता संवाद हुन सकेको छैन।

साउन १३ गते तय भएको स्थायी कमिटीको बैठक ओलीले एकलौटी रुपमा स्थगित गरेपछि कार्यकारी अध्यक्षको हैसियतमा प्रचण्डले सो बैठक सञ्चालन गरेका थिए।

सो बैठकले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री ओलीसँग छलफल गरेर बैठकका लागि नयाँ मिति तोक्ने निर्णय गरेको थियो। बैठक सकिएको तीन दिन भैसक्दा पनि दुवै शीर्ष नेताबीच प्रत्यक्ष संवाद हुन सकेको छैन।

पार्टी विभाजनकै झल्को दिनेगरी भएको सो बैठकयता ओली र प्रचण्डबीच कुनै संवाद हुन नसकेको नेता देबेन्द्र पौडेलले बताए।

साउन ६ गते भएको सो स्थायी कमिटीको बैठकले निर्धारण गरेको मिति अर्थात् साउन १३ गतेको बैठक प्रधानन्त्री ओलीले स्थगित गरेपछि पार्टीको एउटा पक्षको सहभागिता र अर्को पक्षको अनुपस्थितिमा सम्पन्न भएको थियो।

बहुमत सदस्यको सहभागितामा भएको सो बैठकले स्थायी कमिटीबाट तय भएको बैठक अध्यक्ष ओलीद्वारा एकपक्षीय रुपमा स्थगन गर्नु विधानबिपरित भएको ठहर गरेको थियो।

४४ सदस्यीय स्थायी कमिटीमा रहेकामध्ये सो बैठकमा २९ जना सहभागी थिए। तर, ओली पक्षका ११ सहित पुर्वमाओवादी तर्फका ४ नेता सहभागी भएनन्।

गृहमन्त्री समेत रहेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा बैठकमा नगएका हुन्। रायमाझी र मणि थापाले बैठक स्थगित भएको सूचना पाएपछि बीचबाटोबाट फर्किएर आफ्नो काममा लागेको बताए।

दैनिकरुपमा भेटवार्ता गर्ने दुई अध्यक्ष पार्टीभित्रको संकट थप बल्झिएर संवादबाट सुल्झाउने जिम्मेवारी पाएको तीन दिन भइसक्दा पनि ओली–प्रचण्डबीच संवाद भएको छैन।

‘विवाद समाधानका लागि पहल लिनुपर्ने दुई अध्यक्षबीच अझै छलफल भएको छैन,’ पौडेलले भने, ‘उहाँहरुबीच प्रत्यक्ष संवाद नभई विवाद समाधान हुने अवस्था छैन।’

ओली–प्रचण्डबीच प्रत्यक्ष संवाद नभएपनि विभिन्न नेतामार्फत सन्देश आदानप्रदान भने भइरहेको छ।

बिहीबार विहान महासचिव विष्णु पौडेलले प्रचण्डलाई खुमलटार पुगेर भेटेका थिए।

प्रचण्डले पौडेलमार्फत् ओलीलाई आफू एकताको पक्षमा रहेको बताउँदै विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्ने सन्देश पठाएको नेताहरुलाई बताएका छन्।

‘धेरैपटक छलफल भएपनि समाधान निस्केको छैन, अब चाहिँ सार्थक रुपमा विवाद समाधान हुनेगरी छलफलमा बसौं भनेको छु,’ प्रचण्डले ओलीलाई पठाएको सन्देश उद्धृत गर्दै खुमलटार पुगेका एक नेताले नेपालखबरसँग भने।

त्यसअघि बुधबार बेलुका ओलीलाई भेट्न विष्णु पौडेल हरिबोल गजुरेल, जनार्दन शर्मा, मणि थापा, देबेन्द्र पौडेल, चक्रपाणी खनाल, शंकर पोखरेल लगायतका नेता बालुवाटार पुगेका थिए।

भेटमा ओलीले पार्टी एकता भाड्ने गतिविधि भइरहेको गुनासो गरेको सहभागी एक नेताले जानकारी दिए।

‘स्थायी कमिटी बैठक भनेको छ, विवाद चर्काएको छ, अनि फेरि अहिले केन्द्रीय कमिटीको बैठक भनेर हस्तक्षेप गर्ने कोशिस भइरहेको छ, यो मलाई मान्य छैन,’ ओलीको भनाई उद्धृत गर्दै ती नेताले थपे, ‘वातावरण बिगार्ने गरी ल्याइने योजना सह्य हुँदैन।’

बालुवाटारमै पुगेका अर्का एक नेताका अनुसार ओलीले पनि अब आफू पनि हस्ताक्षर संकलन गरेर जानुपर्ने निष्कर्षमा पुगेको बताएका थिए।

‘बहुमतको बलमा साथीहरु पार्टी फुटाउन लागेको देखियो, सिग्नेचर क्याम्पियन चलाएका छन्, हामी पनि चलाउनुपर्छ कि क्या हो,’ ओलीले बालुवाटार पुगेका ती नेताहरुसँग भनेका थिए।

प्रधानमन्त्री ओलीले अर्को पक्षले आफूलाई कारवाही गर्ने सम्मको तयारी गरेको सूचना पाएको समेत बताएका थिए।

‘स्थायी कमिटी चलिरहेको बेला केन्द्रीय कमिटीको माग गरेर सिग्नेचर क्याम्पियन चलाउनु भनेकै कारवाही गरेर जाने योजनाले हो,’ प्रधानमन्त्रीले उनीहरुसँग भनेका थिए।

बुधबार नेकपाका १५२ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टीको केन्द्रीय कमिटी बैठक माग गरी दुई अध्यक्षलाई पत्र बुझाइएको थियो।

जवाफमा त्यहाँ उपस्थित सबै नेताले प्रधानमन्त्रीलाई प्रचण्डसँग मिलेर पार्टी एकता जोगाउनुपर्ने सुझाव दिएका थिए।

‘संख्याको खेलमा लाग्दा नेताहरुको तानातान हुन्छ, त्यसले अस्वस्थ गतिबिधि बढ्दै जान्छ त्यो गर्नु हुँदैन,’ प्रधानमन्त्रीलाई दिएको सुझाव उद्धृत गर्दै अर्का नेताले भने।

‘मंगलबारको बैठकमा प्रचण्डको भूमिका सकारात्मक’
तर मंगलबारको बैठकमा प्रचण्डले खेलेको भूमिकाबारे भने प्रधानमन्त्रीले प्रशंसा गरेका थिए। सो बैठकबाट पार्टी फुटको अवस्था सिर्जना हुनसक्ने अवस्था रहेकोमा अन्तिम बिन्दुमा प्रचण्डले जोगाएको भनी ओलीले ती नेताहरुलाई ब्रिफिङ गरेका थिए।

सुरुमा कस्तो रह्यो त बैठक ? भनेर सोधेका ओलीले अन्तिममा प्रचण्डले बैठक सञ्चालन गरेपनि त्यहाँ सन्तुलन कायम राखेर विभाजन हुनबाट रोकेको बताएका थिए।

‘प्रचण्डजीले बैठक त राख्नुभयो तर, त्यहाँ जे कुरा उठाउनुभयो, त्यसले पार्टी एकताप्रति उहाँ गम्भीर रहेको पाएँँ,’ बालुवाटारमा ओलीको भनाई सुनेका अर्का नेताले भने, ‘बैठकले बहुमतबाट कुनै निर्णय गरेर अघि बढेको भए परिस्थिति अर्कै भइसक्थ्यो, स्थितिलाई पोजिटिभ ढंगबाट कुलडाउन गराएर प्रचण्डजीले राम्रो भूमिका खेल्नुभयो।’

त्यसो त सोहि छलफलमा सहभागी अर्का एक नेताले सो कुराकानीमा प्रचण्डनिकट नेताहरुसमेत भएका कारण ओलीले त्यसप्रकारको अभिव्यक्ति दिएको हुनसक्ने बताए।

बुधबार ओलीलाई भेटेका मध्येकै नेताहरु बिहीबार बेलुका प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।

जनार्दन शर्मा, हरिबोल गजुरेल, देबेन्द्र पौडेल, टोपबहादुर रायमाझी, चक्रपाणी खनाल, मणि थापा, लगायतका नेता खुमलटार पुगेका हुन्।

‘म एकताको पक्षमा छु, अनावश्यक आशंका गर्नुपर्ने छैन, स्थायी कमिटीको बैठकमा पनि म समालिएको हुँ,’ प्रचण्डको भनाई उद्धृत गर्दै नेता मणि थापाले भने, ‘म भड्केको भए स्थिति बिग्रन्थ्यो।’

ती नेताहरुले प्रचण्डलाई एकताका लागि अझ गम्भीररुपमा लाग्न सुझाएका थिए।

‘हामी पार्टी एकता तलमाथि हुनुहुँदैन भनेर लागेका छौं,’ हरिबोल गजुरेलले प्रचण्डलाई दिएको सुझाव उद्धृत गर्दै भने, ‘हामी पनि यो पक्ष उ पक्ष भनेर लागेका छैनौं, तपाईले पार्टी एकता जोगाउन मुख्य भूमिका खेल्नुपर्‍यो।’

जवाफमा प्रचण्डले पार्टी एकता गर्दा भएका सहमतिबाट ओली नै पछि हटेकोले समस्या आएको बताएका थिए।

‘एकता प्रक्रिया बिग्रन्छ भनेर मैले अस्तीको बैठक पनि धेरै सन्तुलित बनाएको हो, सबै नेताहरुलाई मथ्थर पारेको हुँ,’ आफूलाई भेट्न पुगेका नेताहरुसँग प्रचण्डले भनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .