राजनीति


‘प्रचण्डले आत्मसमर्पण गरे नेकपा जोगिन्छ, नत्र ओलीले फुटाउँछन्’

‘प्रचण्डले आत्मसमर्पण गरे नेकपा जोगिन्छ, नत्र ओलीले फुटाउँछन्’

सागर न्यौपाने
साउन २६, २०७७ सोमबार १३:३८,

सत्तारुढ नेकपाभित्रको विवाद गम्भीर मोडमा पुगेको छ।

असार १० गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएपछि सुरु भएको विवाद समाधान गर्न भएका सबै प्रयास असफल हुँदै आएका छन्।

पार्टी विभाजनको खतरा रहेको भन्दै नेकपाका ६३ जना सांसदले नेतृत्वलाई सचेत गराउन आइतबार हस्ताक्षर संकलन गरेका छन्।

पार्टीभित्र देखिएको विवाद अन्त्यका लागि तत्काल केन्द्रीय कमिटीको बैठक माग गर्दै साउन १४ गते १ सय ५२ नेताले हस्ताक्षर बुझाएका थिए।

साउन २१ गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका शीर्ष नेताहरुले सञ्चारकर्मीलाई बोलाएर ओलीकै कारण पार्टीमा समस्या आएको बताएका थिए। त्यसयता विवाद चर्किंदै गएको छ। केही दिन यता दुई अध्यक्षबीच संवाद पनि टुटेको छ।

यस्तो अवस्थामा नेकपाको विवाद कुन दिशातर्फ जाला त?

स्थायी समिति सदस्य मात्रिका यादवले प्रचण्डले आत्मसमर्पण नगरे पार्टी फुट्ने दाबी गरे।

‘आत्मसमर्पण गर्‍यो भने विभाजन हुँदैन, व्यवस्थित गर्ने हो भने विभाजन हुन्छ,’ प्रचण्डनिकट नेता यादवले भने, ‘पार्टीलाई विधि विधानमा चलायो भने ओलीले पार्टी फुटाउनुहुन्छ, उहाँसँग आत्मसमर्पण गर्‍यो भने तत्काल फुटबाट रोकिन्छ।’

अहिलेसम्म प्रचण्डले सहेकै कारण पार्टी फुटबाट जोगिएको उनको दाबी छ।

‘स्थिति धेरै गम्भीर छ, ओलीले पार्टी फुटाइसक्नु भएको हो, प्रचण्डले सहेर बसेर हो रोकिएको,’ उनले थपे।

तर, अर्का स्थायी समिति सदस्य भीम रावलले पार्टीमा गम्भीर गतिरोध आएपनि फुटिनहाल्ने बताए।

‘संवाद नहुनुको अर्थ पार्टी फुट्न थालेको, विभाजन हुन थाल्यो भन्ने होइन,’ रावलले भने,‘ त्यस्तो अवस्था भएको छैन। तर, ठूलो समस्या र गतिरोध छ।’

‘पार्टी फुट्दैन तर, अन्तरविरोध चर्केको अवश्य हो’, रावलले थपे, ‘संगठनात्मक रुपमा पनि पार्टीलाई विभाजन गर्ने अवस्था छैन, गुटबन्दी भने तल्लो तहमा पुगेको छ।’

पार्टीभित्रको विवाद सैद्धान्तिक, वैचारिक र संगठनात्मक विधिमाथिको मतभेदसँगै पदका कारण पनि भएको उनले स्वीकारे। 

‘पदको कुरा पनि सँगै उठ्यो, यसबाट पार्टीलाई बाहिर ल्याएर समस्या समाधान गर्नको लागि अख्तियार प्राप्त व्यक्तिहरुले काम गर्नुपर्ने भएपनि आवश्यकता अनुसारको समझदारी र संवाद हुन सकिरहेको छैन,’ रावलले भने।

प्रधानमन्त्री ओलीनिकट स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले भने पार्टी विभाजनको संघारमा पुग्नुमा प्रचण्ड, खनाल, नेपाल र श्रेष्ठ जिम्मेवार भएको आरोप लगाए।

‘४ नेताहरुले जसरी अर्काको इशारामा ओलीको राजीनामा माग गरेका छन्, त्यो छाडेर उहाँहरु आफ्नो साइजमा आउनुपर्छ,’ उनले भने, ‘महाधिवेशनसम्म सबै मिलेर जानुपर्छ। त्यसअघि प्रधानमन्त्री ओलीले राजीनामा दिनुहुन्न, मिल्दैन।’

उनले विभाजन रोक्न प्रयास भइरहेको र त्यो सफल नभए पार्टी फुट्ने खतरा टार्न नसकिने बताए।

‘हामी पार्टी विभाजन हुनु हुँदैन भनेर त्यसलाई रोक्ने पक्षमा छौं, हामीले थाम्दा थाम्दै पनि भएन भने पार्टी छोडेर जालान्,’ मण्डलले भने।

सरकार र पार्टी सञ्चालनमा ओली असफल भएको भन्दै प्रचण्डसहितका बहुमत स्थायी कमिटीका सदस्यले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने बताउँदै आएका छन्।

जसका कारण असार १८ गतेपछि नेकपाको स्थायी कमिटीको बैठक बस्न सकेको छैन।

साउन १३ गते ओलीले जबर्जस्ती स्थगित गरेको बैठक अध्यक्ष प्रचण्डले २९ जना स्थायी कमिटी सदस्य लिएर सञ्चालन गरेपछि नेकपाभित्रको विवाद फुटतर्फ उन्मुख भएको आकलन गरिएको थियो।

त्यसपछि ओली–प्रचण्डबीच एकहप्ता प्रत्यक्ष संवाद नै भएन।

साउन १८, १९ र २० गते वरिष्ठ नेता खनाल र स्थायी समिति सदस्य सुवास नेम्वाङलाई सँगै राखेर ओली–प्रचण्ड छलफलमा बसे। तर कुनै समझदारी हुन सकेन।

केन्द्रमा शीर्ष नेताहरुको विवाद चर्किएपछि सबै जिल्लामा गुटगत गतिविधि पनि हुन थालेका छन्।

ओलीले मदन भण्डारी फाउन्डेसनको नाममा देशव्यापी गुट चलाएको प्रचण्ड–नेपाल समूहको आरोप छ।

‘अन्तर्विरोध चर्केको अवश्य हो, तर पार्टी विभाजनको भित्रभित्रै सबै चिज भइसक्यो भन्ने कुरा होइन,’ रावलले भने, ‘गुटबन्दीका स्वरुपहरु देशव्यापी देखा परेको हुनाले गुटबन्दीले नै भोलि विभाजनको रुप लेला कि भन्ने चिन्ता र आशंका छ।’

मण्डलले भने प्रचण्डले कुरा फेरेका कारण भइसकेको सहमति भाँडिएको दाबी गरे।

‘साउन ३ गते अध्यक्ष प्रचण्डले महाधिवेशनमा जाने सहमति गर्नुभयो तर, केहीघण्टामै कुरा फेरेको कारण अहिलेको समस्या देखियो,’ उनले थपे।

साउन ३ गते बसेको सचिवालय बैठकमा मंसिरमा अर्ली महाधिवेशन गर्ने प्रस्ताव ओलीले राखेका थिए। त्यसमा प्रचण्डले पनि सहमति जनाएका थिए। तर, राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर सहमतिमा हस्ताक्षर गर्ने तयारी भइसक्दा ओलीले ‘जनताको बहुदलीय जनवाद’ लाई पार्टी लाइन मान्नुपर्ने सर्त राखेपछि प्रचण्ड भड्किएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad