समाज


छिमेकी दम्पतीको हत्या गर्न ४ लाख खर्च

छिमेकी दम्पतीको हत्या गर्न ४ लाख खर्च

नेपालखबर
साउन २६, २०७७ सोमबार १३:३३,

कन्चनपुरका एकजना व्यक्तिले चार लाख रुपैयाँ दिएर छिमेकी दम्पतिको हत्या गर्न लगाएको खुलासा भएको छ।

कन्चनपुरको बेलौरी नगरपालिका ७ भगतपुरका घनश्याम खाती र उनकी श्रीमती बेलीदेवी खातीको साउन १६ गते राति घरमै हत्या भएको थियो।

६८ वर्षीया बेलीदेवीको घटनास्थलमै र घनश्यामको उपचारका क्रममा साउन २५ गते ज्यान गएको थियो। उनीहरुको हत्या अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको कन्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अम्मर थापाले बताए।

प्रहरीले सुरुमा मृतकका छोरालाई नै पक्राउ गरेर अनुसन्धान गरेको थियो। तर उनी निर्दोष रहेको पाइएपछि उनलाई छाडिएको छ। बृद्ध दम्पतीको हत्या छिमेकीको योजनामा स्थानीय चार जनाले नै गरेको समेत प्रहरीले जनाएको छ।

हत्यामा संलग्न रहेको आरोपमा सोही ठाउँका ५३ वर्षीय प्रकाश ऐर, गणेशपुरका ३५ वर्षीय दिनेश राना, ३६ वर्षीय होरी राना र कृष्णपुर नगरपालिका–२ का ४५ वर्षीय रबि राना पक्राउ परेका छन्।

उनीहरुले धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेको छ। हत्यालगत्तै उनीहरु फरार भएपछि प्रहरीले केनाइन शाखा धनगढीबाट तालिमप्राप्त कुकुर समेत झिकाएर प्रहरीले अनुसन्धान गरेको थियो।
सुरुमा मृतकको छोरा राजेश खाती र दिनेश रानालाई प्रहरीले पक्राउ गरेको थियो। तर उनीहरुको संलग्नता नदेखिएपछि छाडिएको डीएसपी थापाले बताए।

अनुसन्धानका क्रममा छिमेकीसँग पहिलेदेखि नै दुश्मनी रहेको खुलेपछि प्रहरीको अनुसन्धान त्यता केन्द्रित भएको थियो। उनीहरुले रबी रानालाई चारलाख रुपैयाँ दिएर छिमेकीको हत्या गर्न लगाएको प्रहरी अनुसन्धानमा खुलेको छ।

प्रकाश ऐरले धनश्याम खातीलाई बोक्सीको आरोप लगाएपछि उनीहरुबीच रिसिइबी देखिएको र सोही निहुँमा हत्या गर्ने सम्मको योजना बनाएको पाइएको छ।

हत्याको समयमा मृतकका छोरा राजेशलाई दिनेश राना र होरी रानाले लगेर रक्सी खुवाएका थिए। घरमा बृद्ध दम्पती मात्रै भएको मौकामा रबि रानाले धारिलो हतियार प्रहार गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

बृद्ध दम्पतीमाथी आक्रमण गरिसकेपछि दिनेश रानाले मोटरसाइकलमा घरमा लगेर छाडिदिएका थिए। साउन १९ गते राजेशले किटानी जाहेरी दिएका थिए।

प्रहरीले रबि रानाको घरबाट एक लाख ५० हजार रुपैयाँ समेत बरामद गरेको छ। उनीहरुविरुद्ध ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी थापाले बताए।

घटनापछि फरार रबि रानालाई सोमबार गुलरिया क्षेत्रबाट पक्राउ गरेको छ। उनीहरुलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad