राजनीति


कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

नेपालखबर
भदौ ४, २०७७ बिहिबार २:२,

कर्णाली प्रदेशमा आज प्रदेश स्थापना तथा शहीद दिवस मनाइँदैछ। यस अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले प्रदेश मन्त्रिपरिषद् बैठकले हरेक वर्ष भदौ ४ गतेलाई प्रदेश स्थापना तथा शहीद दिवसका रुपमा मनाउने निर्णय गरेको जानकारी दिए।

विसं २०७२ साउन–भदौमा सञ्चालित प्रदेश प्राप्तिको आन्दोलनमा सहभागी सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिंह रजवार तथा जुम्लाका हरिबहादुर कुँवरले ज्यान गुमाएका थिए।

तत्कालीन सरकारले मृतकलाई शहीद घोषणा गर्नुका साथै अलग प्रदेश स्थापनाको माग पुरा गरेपछि आन्दोलन स्थगन भएको थियो। कर्णाली सरकारले यही दिनको सम्झनास्वरुप प्रदेश स्थापना दिवस मनाउने निर्णय गरेको हो।

के थियो आन्दोलन ?
नयाँ संविधानको मस्यौदा निर्माण अन्तिम चरणमा पुगेका बेला प्रमुख दलका नेताहरु सम्मिलित विशेष समितिले २०७२ साउन २३ मा ६ प्रदेशको खाका सार्वजनिक गरेपछि भेरी–कर्णाली क्षेत्र असहमति जनाउँदै आन्दोलित भयो।

त्यतिबेला सुदूरपश्चिमका नौ तथा मध्यपश्चिमका १० जिल्ला (रुकुम आधा) समेटेर एउटै प्रदेश प्रस्ताव गरिएको थियो । बेग्लै र स्वायत्त प्रदेशको माग राखी १३ दिनसम्म चलेको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सुर्खेतमा तीन र जुम्लामा एक जनाले ज्यान गुमाए, थुप्रै सर्वसाधारण घाइते भए।

भेरी–कर्णाली क्षेत्रमा आन्दोलन उत्कर्षमा पुग्न थालेपछि भदौ ४ गते प्रमुख राजनीतिक दल प्रस्तावित ६ प्रदेशको सीमाङ्कन पुनरवलोकन गर्न बाध्य भएका थिए। अन्ततः सात प्रदेशसहितको संघीय संरचना निर्माण गर्ने समझदारीअनुरुप साविक कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालीकोट, भेरीका दैलेख, सुर्खेत र जाजरकोट, राप्तीका सल्यान र रुकुम (पश्चिम भाग) समेटेर ६ नम्बर प्रदेश घोषणा भएको थियो।

यसलाई प्रदेशसभाको पहिलो अधिवेशनले ‘कर्णाली प्रदेश’ नामकरण गरिसकेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad