चिकित्सा शिक्षा क्षेत्रको समग्र सुधारको माग राख्दै सत्याग्रह चलाइरहेका डा गोविन्द केसीको स्वास्थ्य क्षीण बन्दै गएपछि सम्पादहरूले तत्काल निर्णायक वार्ता गर्न सरकारसँग आग्रह गरेका छन्।
बुधबार साँझ विज्ञप्ती जारी गर्नै लाग्दा सरकारले तीन सदस्यीय वार्ता टोली गठन गरेको खबर आएपछि २१ जना सम्पादकहरूले भनेका छन्, ‘हामीले यो सामूहिक वक्तव्य जारी गर्नैलाग्दा भर्खरै वार्ता टोली बनेको खबर छ। यसले निर्णायक म्यान्डेटसहित सार्थक अग्रसरता तुरुन्तै देखाउनुपर्छ।’
सत्याग्रही केसीले यो १९ औं अनशनका क्रममा उठाएका मागहरू सरकारले सम्बोधन गर्न चाहेका राष्ट्रिय सरोकारसँग समेत जोडिएका विज्ञप्तीमा उल्लेख छ।
‘यसर्थ अभिभावकीय जिम्मेवारी लिँदै सरकारले डा केसीसँग उच्च तहबाट अविलम्ब वार्ता थाल्नुपर्छ’, थप भनिएको छ, ‘उनका सबै मागहरू आजै सुनुवाई हुन नसक्लान्, तर तार्किक छलफलहरूबाट नै त्यसले टुंगो पाउँछ। आरोप प्रत्यारोप दुवै पक्षबाट हुनु उचित छैन।’
सम्पादकहरूको वक्तव्यको पूर्णपाठ :
चिकित्सा शिक्षा क्षेत्रको समग्र सुधारका माग राख्दै सत्याग्रह चलाइरहेका डा। गोविन्द केसीको स्वास्थ्य क्षीण बन्दै गएको छ। परराष्ट्रमन्त्री तथा प्रवक्ता प्रदीप ज्ञवालीको टिप्पणीलाई छाड्ने हो भने अनशनको २४ औं दिन बित्दासम्म सरकारबाट औपचारिक प्रतिक्रिया प्राप्त छैन। प्रधानमन्त्री केपी ओलीले डा। केसीसँग वार्ता प्रक्रिया अघि बढेको आन्तरिक बैठकहरूमा टिप्पणी गरेका छन्। तर हिजो मंगलबार शिक्षासचिवको नेतृत्वमा डा। केसी भेट्न गएको प्रतिनिधिमण्डललाई उनले कार्यादेशबेगरको टोली भनेर फर्काइदिएका छन्। त्यस अर्थमा वार्ता अवरुद्ध छ। हामीले यो सामूहिक वक्तव्य जारी गर्नैलाग्दा भर्खरै वार्ता टोली बनेको खबर छ। यसले निर्णायक म्यान्डेटसहित सार्थक अग्रसरता तुरुन्तै देखाउनुपर्छ। अनावश्यक ढिलाई कसैको हितमा हुने छैन।
विश्वव्याधि कोरोना भाइरस संक्रमणका उत्पन्न कोभिड १९ ले हाम्रो देश पनि जेलिएका बेला डा। केसीको सत्याग्रह चलिरहेको छ। राज्यका सामू यो विषाणुका कारण जनस्वास्थ्य बचाउनपर्ने, अर्थतन्त्रको सम्भावित संकट टार्नुपर्ने गुरुत्तर दायित्व छ। के याद गर्नुपर्छ भने, सत्याग्रही केसीले यो १९ औं अनशनका क्रममा उठाएका मागहरू सरकारले सम्बोधन गर्न चाहेका राष्ट्रिय सरोकारसँग समेत जोडिएका छन्।
यसर्थ अभिभावकीय जिम्मेवारी लिँदै सरकारले डा। केसीसँग उच्च तहबाट अविलम्ब वार्ता थाल्नुपर्छ। उनका सबै मागहरू आजै सुनुवाई हुन नसक्लान्, तर तार्किक छलफलहरूबाट नै त्यसले टुंगो पाउँछ। आरोप प्रत्यारोप दुवै पक्षबाट हुनु उचित छैन।
हाम्रो समाजमा इमान र आशाको प्रतीकका रुपमा डा। केसी लामो समयदेखि अग्रसर छन्। चिकित्सा शिक्षा विधेयक र केदारभक्त माथेमा नेतृत्वको चिकित्सा शिक्षा सुधार कार्यदल निर्माण केसीकै सत्याग्रहको सकारात्मक नतिजा हो। यसर्थ उनको जीवन र कर्म यो राज्य तथा सिंगो समाजका लागि महत्वपूर्ण छ। केसीको जीवन बचाउनु भनेको जनस्वास्थ्य बचाउने उत्तरदायित्वअन्तर्गतकै काम हो।
यसर्थ हामी सरकारसँग अविलम्ब सार्थक वार्ताका लागि पहल गर्न अपिल गर्छौं।
अखिलेश उपाध्याय
अमित ढकाल
अरुण बराल
कसमस विश्वकर्मा
किरण नेपाल
कृष्णज्वाला देवकोटा
गुणराज लुइँटेल
दिलभूषण पाठक
नारायण वाग्ले
पूर्ण बस्नेत
प्रकाश रिमाल
प्रतीक प्रधान
प्रशान्त अर्याल
बसन्त बस्नेत
राजेन्द्र दाहाल
शिव गाउँले
सन्जीव सतगैंया
सुधीर शर्मा
सुभाष घिमिरे
हरिबहादुर थापा
युवराज घिमिरे

प्रतिक्रिया