राजनीति


ओलीले कसलाई रिझाउन पशुपतिमा विशेष पूजा गरे?

ओलीले कसलाई रिझाउन पशुपतिमा विशेष पूजा गरे?

यज्ञराज जोशी
माघ १२, २०७७ सोमबार १२:११,

२०७४ साउनमा सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा डा. प्रदीप ढकाललाई नियुक्त गरेको थियो। 

त्यसयताको साढे तीन वर्षमा प्रधानमन्त्री केपी ओली पहिलो पटक पशुपतिनाथ मन्दिर पुगेर सोमबार औपचारिक पूजा गरे।

‘म यहाँ सदस्यसचिव भएपछि सम्माननीयज्यू पहिलोपटक औपचारिक रुपमा आउनुभएको हो,’ ढकालले नेपालखबरसँग भने, ‘बिहान साढे ८ बजे आउनुभएको थियो। उहाँले एकघण्टा पूजाआजा गर्नुभयो।’

प्रधानमन्त्री पशुपति आउने सूचना कोषलाई आइतबार दिइएको थियो। सोहीअनुसार सोमबार कोषले विशेष पूजाको आयोजना गर्‍यो।

प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्प गर्दै विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गरेका थिए।

141376477_475962663397680_5315162747456327515_n.jpg

पत्नी राधिका शाक्यसहित मन्दिर पुगेका ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गरेको सदस्यसचिव ढकालले बताए।

त्यसक्रममा ओलीले पशुपति क्षेत्रका गतिविधिका बारेमा जानकारी पनि लिएका थिए। पशुपति क्षेत्रलाई वैदिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न उनले कोषका पदाधिकारीलाई निर्देशनसमेत दिए।

२०७४ साल फागुनमा प्रधानमन्त्री नियुक्त भएका ओली यसअघि २०७५ भदौमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पशुपति क्षेत्र पुगेका थिए। तर, उनी पूजामा भने सहभागी भएका थिएनन्। बिम्स्टेक सम्मेलनमा सहभागी हुन नेपाल आएका मोदीसँग ओलीले पशुपति क्षेत्रमा रहेको धर्मशाालको संयुक्त उद्घाटन गरेका थिए।

Modi Oli Pashupati

त्यसबेला मोदीसँग पशुपति गएका ओली त्यसयता संभवतः अहिले नै दोस्रो पटक गएका हुन्। र, नयाँ संविधानमा धर्मनिरपेक्ष राज्य घोषणा गरिएपछि नेपालका प्रधानमन्त्रीले पशुपतिमा पूजा गरेको सायद यो नै पहिलो पटक हो।

राजाहरूले आफ्नो सम्बोधनमा जहिले ‘पशुपतिनाथले हामी सबैको कल्याण गरुन्’ भनेर पुकार्थे। र, धार्मिक अवसरहरूमा पशुपति पुगेर पूजा पनि गर्थे। अहिले पनि पूर्वराजा ज्ञानेन्द्रले पशुपति जान र आफ्नो सम्बोधनमा पुकार्न छाडेका चाहिँ छैनन्। यद्यपी अहिले राष्ट्रप्रमुखको हैसियतमा त्यो परम्परा राष्ट्रपतिमा सरेको छ।

तर ओली कम्युनिष्ट पार्टीका नेता हुन्, जुन सिद्धान्तले धर्म कर्ममा विश्वास नै राख्दैन। र, नेपालकै परम्पराको कुरा गर्ने हो भने पनि यसअघिका प्रधानमन्त्रीले पनि पशुपति गएर पूजा गर्ने चलन छैन।

त्यसो भए ओलीले पशुपति पुगेर किन सवा लाख दीप प्रज्वलन गर्दै विशेष पूजा गरे त?

संसद् विघटन गरेर चुनाव घोषणा गरेका प्रधानमन्त्री ओलीले खासगरी देशका हिन्दुवादी जनसंख्या र भारतको हिन्दुत्ववादी संस्थापनलाई रिझाउने उदेश्यले पशुपतिमा पूजा गरेको विश्लेषक राजेन्द्र महर्जन बताउँछन्।

‘प्रधानमन्त्री पहिलेदेखि नै धर्म निरपेक्षताको विपक्षमा थिए। उनले हिन्दुत्वको पक्षमा कुरा गर्दै हिँडेका छन्। उनको निजी व्यवहार, संस्कारमा पनि त्यो देखिन्छ,’ विश्लेषक राजेन्द्र महर्जन भन्छन्, ‘प्रधानमन्त्रीले यस कदमबाट नेपालमा रहेको हिन्दु मानसिकतालाई आकर्षित गर्न र भारतीय संस्थापन पक्षलाई आफू पनि हिन्दुत्वको पक्षमा रहेको सन्देश दिन खोजेका हुन सक्छन्।’

प्रधानमन्त्री ओलीको संसद् विघटनको कदमलाई भारत सरकारले समर्थन गरेको आम बुझाइ छ। यता प्रचण्ड–माधव नेपाल समूहसँग छुट्टिएपछि अल्पमतमा परेका ओली देश दौडाहामा छन्। उनले विभिन्न ठाउँमा भेला–सभा गर्दै अनेक समुदाय र संघसंस्थाका मानिसलाई आफ्नो पक्षमा लाग्न आग्रह गरिरहेका छन्।

141560732_1057424821402488_1194832001365734825_n.jpg

 

आइतबारमात्रै ओलीले अपांगता भएका मानिसहरुको कार्यक्रममा सहभागी भई आफ्नो धारणा राखेका थिए। त्यसबाहेक ओली काठमाडौंदेखि धनगढीसम्मका सभामा सहभागी भएका छन्। पशुपतिमा पूजालगत्तै उनी सोमबार दाङ पुगेका छन्।

केही समययता हिन्दु राष्ट्रका पक्षधरहरुले पनि आन्दोलन गरिरहेका छन्। तिनलाई पनि आफ्नो पक्षमा ल्याउन प्रधानमन्त्रीले यो काम गरेको हुनसक्ने अर्का विश्लेषक हरि रोकाको भनाइ छ।

‘धार्मिक रुपमा हिन्दु भावना राख्नेलाई आफ्नो पक्षमा पार्ने स्टन्ट हुनसक्छ। यो उहाँले मोदीबाट सिक्नुभएको हो,’ रोकाले भने, ‘यतिबेला उहाँलाई आफ्नो पक्षमा ठूलो संख्या देखाउनु छ। हिन्दु भावना बोक्नेहरु आफ्नो पक्षमा उभिऊन् भनेर उहाँ पशुपतिनाथ पुगेको हुनसक्छ।’

‘संविधानमै नभएको अधिकार प्रयोग गरि उहाँले संसद विघटन गरेर भयांकर ठूलो गल्ती गर्नुभएको छ,’ रोकाले थपे, ‘सोहीकारण उहाँ राजनीतिक संकटमा पनि हुनुहुन्छ। त्यही संकटबाट पार लगाइदिन पशुपतिनाथ गुहार्न पुग्नुभएको हो।’

नेपाललाई हिन्दु अधिराज्य बनाउन माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता मोहन श्रेष्ठ भने प्रधानमन्त्रीको सांकेतिक सन्देश जेसुकै भए पनि मुलुकको प्रमुख कार्यकारी प्रमुख बहुसंख्यक नेपालीको भावनालाई प्रतिनिधित्व गर्दै पशुपति जानु सकारात्मक भएको बताउँछन्।

‘संसद् विघटन गरेपछि पक्ष र विपक्षमा जनमत विभाजित हुँदा प्रधानमन्त्रीले आफू हिन्दु भावनाको पक्षमा रहेको सांकेतिक सन्देश दिन खोजेको देखिन्छ,’ श्रेष्ठले भने, ‘अहिले परिस्थिति भिन्न भएपनि केपी ओलीको रुझान पहिलेदेखि नै हिन्दुत्वमा देखिन्छ। उहाँले सम्बोधनहरुमा एउटा न एउटा हिन्दुत्वको उपमा दिइरहनुभएको हुन्छ।’

उनले विदेश वा भारतबाट विभिन्न पार्टीका नेता आउँदा उनीहरुको भ्रमणको कार्यसूची मै पशुपतिनाथको दर्शन पर्ने गरेको तर नेपाली नेताले उपेक्षा गरेको बताए।

‘यस्तोबेला प्रधानमन्त्री पशुपतिनाथ जानु सकारात्मक हो,’ श्रेष्ठले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .