राजनीति


रामकुमारी झाँक्री पक्राउ प्रकरणमा भीम रावल, नारायणकाजी श्रेष्ठ र विष्णु रिजालका कडा प्रतिक्रिया

रामकुमारी झाँक्री पक्राउ प्रकरणमा भीम रावल, नारायणकाजी श्रेष्ठ र विष्णु रिजालका कडा प्रतिक्रिया

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार ०:२२,

प्रतिनिधि सभा विघटन गरेका कारण यसै पनि आलोचित भइरहेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शर्मा ओलीको विरोध नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्री पक्राउ प्रकरणपछि त झन् व्यापक बनेको छ।

केही हप्ताअघि गोरखामा सभालाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति भण्डारीविरुद्ध गरेको आलोचनाका आधारमा नेतृ झाँक्रीलाई ‘राज्यविरुद्ध कसुर’ आरोप लगाई बिहीबार पक्राउ गरिएको थियो। तर व्यापक विरोध भएपछि प्रहरीले उनलाई हिजै (५ घण्टापछि) रिहा गरिसकेको छ।

यो प्रकरणपछि राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध आलोचना गर्ने क्रम अझ बढेर गएको हो।

यसै क्रममा नेतृ आबद्ध दल नेकपाका ३ जना केन्द्रीय नेताले सामाजिक सञ्जालमार्फत गरेका टिप्पणी यस्ता छन् :

भीम रावल (स्थायी कमिटी सदस्य) : राष्ट्रपति र प्रधानमन्त्री नै राज्य होइनन्। ती पदाधिकारीका असंवैधानिक र गलत कामको आलोचना लोकतन्त्रमा गर्न पाइन्छ।आलोचनालाई राज्यविरूद्धको अपराध भन्नु हास्यास्पद छ। निरंकुशता र दमनले मनपरीतन्त्र नटिक्ने तथ्य नेपालमा पुष्टि भइसकेको छ। यसको राष्ट्रपति र प्रधानमन्त्रीले स्मरण गरुन्।

नारायणकाजी श्रेष्ठ (प्रवक्ता) : कथित राज्यविरुद्धको कसुरको आरोपमा गिरफ्तार गरिनुभएका हाम्रो पार्टीका केन्द्रीय कमिटीका सदस्य क. रामकुमारी झाँक्री रिहा। प्रतिगामी सरकार झुक्न बाध्य।

विष्णु रिजाल (केन्द्रीय सदस्य) : जुन मुद्दा लगाए पनि मञ्जुर छ : रामकुमारी झाँक्री प्रकरणबाट थप प्रस्ट भएको छ– विद्या भण्डारी राष्ट्रपति हुन सर्वथा अनुपयुक्त र अयोग्य पात्र हुन्। आलोचना गर्नेमाथि मुद्दा लगाउनु तानाशाही र निरंकुशताको पराकाष्ठा हो।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेयता उनीहरूविरुद्ध देशव्यापी आलोचना र आन्दोलन भइरहेका छन्।

सबैभन्दा उग्र रूपमा सत्तारुढ नेकपाकै एउटा खेमा प्रचण्ड–नेपाल पक्ष प्रस्तुत भइरहेको छ।

भर्खरै मात्र पनि उसले यही माघ २८ गते काठमाडौंमा विशाल विरोध सभा गरेर राष्ट्रपति र प्रधानमन्त्रीको कदमको कडा आलोचना गरेको थियो। नेतृ झाँक्रीले पनि पुनः राष्ट्रपतिका साथै प्रधानमन्त्रीविरुद्ध कडा टिप्पणी गरेकी थिइन्। त्यसको भोलिपल्टै उनलाई गिरफ्तार गरिएको थियो।

याे पनि :  

गणतन्त्रमा यसरी गिरफ्तार भइन् जनआन्दोलनकी ‘पोस्टर गर्ल’

गिरफ्तारीपछि झाँक्रीलाई प्रहरीले सोधेका चार प्रश्न

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .