राजनीति


पाँच वर्षपछि बालुवाटारमा भेटेर प्रचण्ड र भट्टराईले सम्झिए जनयुद्ध गर्दाको त्यो सहकार्य

पाँच वर्षपछि बालुवाटारमा भेटेर प्रचण्ड र भट्टराईले सम्झिए जनयुद्ध गर्दाको त्यो सहकार्य

नेपालखबर
फागुन १, २०७७ शनिबार १६:५२,

संविधान जारी भएलगत्तै तत्कालीन एकीकृत नेकपा माओवादीबाट अलग्गिएका डा. बाबुराम भट्टराईले पहिलोपटक शनिबार जनयुद्धकालीन सहयोद्धा पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथि बनाएर कार्यक्रम आयोजना गरेका छन्।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले जनयुद्धका दिवस (फागुन १ गते) दिन आफ्नो पुस्तक ‘गुमनाम आमाहरूको कथा’ लोकार्पण कार्यक्रम आयोजना गरी नेकपा (प्रचण्ड–नेपाल समूह) का अध्यक्ष प्रचण्डलाई वक्ताका रूपमा सहभागी गराएका हुन्। 

राजनीति फरक ढंगले अघि बढाउने भन्दै २०७२ असोजमा माओवादी छाडेका भट्टराईसँग प्रचण्ड पहिलाेपटक एकै ठाउँमा उभिएका हुन्। दुवैले संविधान बचाउन एकै स्थानमा आएको बताए।

काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जनता समाजवादी पार्टीका नेता अशोक राई, डा मीना पौडेल, नागरिक अभियन्ता तुलनारायण साह पनि वक्ता थिए।

prachanda baburamgumnam

प्रचण्ड, डा. भट्टराई र पौडेल तीनै जना प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भएको दाबी गर्दै पुनःस्थापना माग गरिरहेका नेता हुन्।

बालुवाटार प्यालेसमा आयोजित कार्यक्रममा प्रचण्डले आफू र डा. भट्टराई एउटै मञ्चमा उपस्थित हुनु सामान्य प्राविधिक घटना मात्रै नभएको बताए।

’अर्काले आयोजना गरेको कार्यक्रममा एकपटक (भट्टराई) सँगै सहभागी हुनुभएको थियो। तर भट्टराईले आयोजना गरेको कार्यक्रममा (प्रचण्डको) सहभागिता पहिलोपटक हो,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने।

कार्यक्रममा प्रचण्डले भट्टराईसँगको २५ वर्षे राजनीतिक सहकार्यका विषयमा चर्चा गरे। ‘अहिले बाबुराम र म एउटै पार्टीमा छैनौं। तर मुद्दाका हिसाबले हामी एकै स्थानमा आइपुगेका छौं,’ उनले भने।

प्रचण्ड र भट्टराई दुवैले अहिले संविधानविरुद्ध प्रहार गरिएकाले एकै स्थानमा आएको धारणा राखे।

तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको दिन अर्थात् फागुन १ गते आयोजित कार्यक्रममा दुवै नेताले सशस्त्र विद्रोहको औचित्यबारे प्रकाश पारे।

जनयुद्धका बेला यी दुई नेता एकअर्काका पुरकका रूपमा थिए। भट्टराईले आफूले माओवादी पार्टी छाड्नुको अर्थ जनयुद्ध ठीक थिएन भन्ने नभएको बताए।

‘दसवर्षे जनयुद्ध सुगौली सन्धिपछिको सबैभन्दा ठूलो राजनीतिक घटना थियो,’ कार्यक्रममा मन्तव्य राख्दै भट्टराईले भने, ‘जनयुद्धको इतिहासबारे औपचारिक इतिहास लेखन गर्न आवश्यक छ।’

दुवैले अहिलेको संविधानमा रहेका संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र निर्वाचन प्रणाली, त्यही सशस्त्र विद्रोहको जगमा अडिएको बताए।

‘अहिले ओलीको नेतृत्वमा प्रतिगमन मात्रै होइन, प्रतिक्रान्ति नै हुँदै छ,’ भट्टराईले भने।

कार्यक्रममा नेताहरूले पुस्तक (गुमनाम आमाहरूको कथा) बारे कम राजनीतिक विषयमा बढी धारणा राखेका थिए।

‘माओवादी पार्टी छाड्नुको अर्थ माओवादी आन्दोलन नै छाड्नु होइन। कतिलाई के भ्रम परेको छ भने यसले जनयुद्ध परित्याग गर्यो। यस विषयमा धेरैले भ्रम छर्न खोज्नुहुन्छ,’ भट्टराईले भने, ‘जनयुद्धले एउटा कार्यभार पूरा गर्‍याे अब भने फरक ढंगले जाऊँ है मात्र भनेको हुँ। बाटो र विचार पनि अलिकति विकास गरौं भनेका हुँ। यस विषयमा हामीबीच सहमति बन्न सकेन। त्यसैले मलगायत केही साथी अलग्गै हिँडेका हौं।’

भट्टराईले लेखेको पुस्तकमा जनयुद्धको अन्त्यतिर आफ्नो आमाको निधन हुँदा उनले लेखेका लेखसहितका लेखको संग्रह हो।

‘आमाको निधन हुँदा पहिलोपटक जानकारी हेडक्वाटर (प्रचण्ड) बाट प्राप्त गरेको थिएँ,’ उनले भने, ‘सशस्त्र विद्रोहको समयमा पार्टीको च्यानलबाट हेडक्वाटरमा खबर भएछ। त्यसपछि मैले बुबालाई फोन गरेको सोधेको हो।’

२०४८ सालमा प्रचण्डको नेतृत्वको नेकपा मशाल र भट्टराई नेकपा मसालमा थिए। हरिबोल गजुरेलको नेतृत्वमा भट्टराईसहितका नेताले प्रचण्डसँग पार्टी एकीकरण गरेका थिए। बौद्धिक छविका नेता भट्टराई जनमोर्चा नेपालका अध्यक्ष थिए र उनको प्रभाव बढी थियो। सशस्त्र विद्रोहका बेला प्रचण्ड र भट्टराईबीच जति सहकार्य थियो उत्ति नै अन्तरसंघर्ष पनि थियाे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad