प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली पनि पक्राउ पर्ने दिन आउन सक्ने बताएका छन्।
मंगलबार नेपाल कम्युनिस्ट पार्टी नेकपाको फेसबुक लाइभमा पत्रकार राजेश राईसँग कुरा गर्दै नेता पाण्डेले नेकपा नेतृ रामकुमारी झाँक्रीको पक्राउ र रिहाइको विषयलाई लिएर ओली पक्राउ पर्ने दिन पनि टाढा नभएको बताएका हुन्।
उनले नेतृ झाँक्रीलाई बोेलेकै कारण पक्राउ गरिएको भए पनि उनलाई थुनेर राख्ने तागत ओली सरकारसँग नरहेको बताए।
'रामकुमारीमाथि बोेलेकै कारणले आक्रमण गर्ने काेशिस गरियो, जनताको तागतका कारण उहाँलाई थुनेर राख्ने साहास प्रहरी प्रशासन र ओली सरकारसँग थिएन’, उनले भने।
उनले रिहाइका माग गर्दै कार्यकर्तासँगै आफू पनि प्रहरीमा पुगेको बताउँदै झाँक्रीलाई जसरी गिरफ्तार गरिएको हो त्यसैगरी घर पुर्याउनु पर्ने अडान लिएको बताए।
‘संसद पुनर्स्थापना भयाे भने उहाँ सांसद हो, कानुन बनाउने मान्छेलाई कानुन पढाउने?, घरबाट जसरी ल्याउनु भएको थियो त्यसैगरी लगेर छाड्नुपर्यो’, प्रहरीसँग आफूले भनेको भनाइ स्मरण गर्दै नेता पाण्डेले भने, ‘प्रधानमन्त्री ओलीलाई समात्नु भयो भने कसलाई जिम्मा लगाएर पठाउनुहुन्छ?’
उनले म्यान्मारको उदाहरण दिँदै ओली पक्राउ पर्ने दिन पनि धेरै टाढा नरहेको जिकिर गरे।
‘ओली पक्राउ पर्ने दिन आउँदैन? आउन सक्छ नि’, नेता पाण्डेले भने, ‘हिजो बर्मामा सेनाले ‘कू’गर्दै त्यहाँको प्रधानमन्त्रीलाई लगेर नजरबन्द र थुनामा राखेको छ भने सँगसँगै अहिले हामी आन्दोलन गरिरहेका बेला नेपालमा घटना घटेको छ। ओलीको पनि यो दिन धेरै टाढा छैन।’
नेता पाण्डेले हिजो जनतामा आफूहरुले गरेको वाचा उपयुक्त भए पनि गलत पात्र चयन गरेका कारण लज्जित हुने अवस्था आएको बताए। उनले विगतबाट पाठ सिक्दै नेतृत्वलाई नियन्त्रित हिसाबले अगाडि बढाउछौँ भनेर प्रतिवद्धता व्यक्त गर्नुपर्ने दिन आएको बताए।
हेरौँ भिडियो

प्रतिक्रिया