नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र प्रदेश २ सरकारमा आजै सहभागी हुने भएको छ। स्रोतका अनुसार मन्त्रालयको सबै संख्या टुंगो नलागे पनि मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस र माओवादीका एक एक जनालाई मन्त्री बनाउन लागेका हुन्।
कांग्रेसबाट रामसरोज यादव र माओवादी केन्द्रबाट भरत साह मन्त्री बन्ने निश्चित भएको स्रोतले जनायो।
यादव कांग्रेस प्रदेश २ संसदीय दलका नेता हुन् भने साह पनि प्रदेश २ माओवादी केन्द्रका संसदीय दलका नेता नै हुन्।
यादवले भौतिक पूर्वाधार तथा विकास मन्त्रालय दिने समझदारी बनिसकेको छ। तर, माओवादी केन्द्रका साहले पाउने मन्त्रालयको टुंगो लागेको छैन।
मन्त्रालयको विषय टुंगो लगाउन आज कांग्रेस र माओवादी केन्द्रबीच छलफल गर्ने र त्यसपछि मन्त्रालयको टुंगो लगाइने साहले नेपालखबरलाई जानकारी दिए।
‘हामीले प्रदेश २ सरकारलाई समर्थन गर्ने र सरकारमा सहभागी हुने निर्णय गरिसकेका छौँ,’ साहले भने, ‘केही प्राविधिक विषय टुंगो लगाउन अहिले केहीबेरपछि कांग्रेस र हाम्रो संयुक्त बैठक बस्छौं।’
‘हामीलाई आजै एक/ एक वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन आग्रह आएको छ, आजै हामी सरकारमा गएर बाँकी विषय पछि टुग्ंयाउन पनि सक्छौँ,’ साहले थपे।
मुख्यमन्त्री राउतले मन्त्रालय टुक्रयाएर कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन चाहेका छन्। मुख्यमन्त्री राउतले आइतबार महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका चार मन्त्रीलाई बर्खास्त गरेका थिए।

प्रतिक्रिया