अमेरिकी वरिष्ठ नेता तथा डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदको उमेद्वार बन्ने दौडमा रहेका बर्नी स्यान्डर्सले कस्मिरमा भारतको कदम अस्वीकार्य भएको बताएका छन्।
उनले कस्मिरको अवस्थालाई लिएर आफू चिन्तित भएको समेत बताएका छन्।
स्यान्डर्सले भारत सरकारले कस्मिरमा सुरक्षाको नाममा स्थानीयको आवाज दबाएको तथा सर्वसाधारणलाई स्वास्थ्य सेवाबाट बञ्चित गराएको बताएका हुन्।
उनले भने,‘भारतमा कैयौं डाक्टर यो स्वीकार्न तयार छन् कि भारत सरकारले लगाएको प्रतिबन्धका कारण विरामीको जीवनरक्षा गर्न कठिन भएको छ।’
अमेरिकाको एक मुसलमानको सम्मेलनमा बोल्दै स्यान्डर्सले भारत सरकारले जम्मु–कस्मिरमा लगाएको संचार सेवाको प्रतिबन्ध तुरुन्त हटाउनु पर्ने धारणा राखे।
स्यान्डर्सले अमेरिकाले अन्तर्राष्ट्रिय मानवअधिकारको समर्थनमा प्रखर भएर बोल्नु पर्ने बताए।
यसअघि जी ७ सम्मेलनका क्रममा फ्रान्समा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटघाट भएको थियो।
सो क्रममा मोदीले कस्मिरको विषय भारतको आन्तरिक मामिला भएको बताएका थिए। ट्रम्पले पाकिस्तान र भारतले छलफलमार्फत् कस्मिर विवाद टुंग्याउने धारणा राखेका थिए।
भारतले संविधानको धारा ३७० हटाएर जम्मु कस्मिरलाई प्रदान गरेको विशेषाधिकार हटाएको छ।
भारतको उक्त कदमसँगै कम्मिर सरकार शासित बनेको छ। एजेन्सी

प्रतिक्रिया