सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले चीनबाट आर्थिक विकासका लागि सहयोगको अपेक्षा राखेको बताएका छन्।
चिनियाँ विदेशमन्त्रीको भ्रमणको पूर्वसन्ध्यामा बेइजिङस्थित नेपाली राजदूतावास र चाइना कमर्सियल स्टक इन्टरप्राइजेजले राजधानीमा शनिबार आयोजना गरेको नेपाल–चीन आर्थिक तथा व्यापार सहयोग मञ्च उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चीनको विकासमा नजिकको असल छिमेकीको हैसियले नेपालले गर्व गरेको बताए। उनले नेपालको विकास र समृद्धिमा चिनियाँ सरकार र जनताको सहयोग रहने विश्वास समेत गरे।
नेपालको आर्थिक विकास र समृद्धिका लागि चिनियाँ जनता, सरकार र व्यवसायीबाट नेपाल सरकारले ठूलो आशा र अपेक्षा राखेको छ’, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘यही प्रक्रियामा भएका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र म प्रधानमन्त्री हुँदा भएको भ्रमणले यो प्रक्रिया बिस्तारै अगाडि बढ्दै छ भन्ने विश्वास दिलाएको छ।’
उनले नेपालीको मात्रै नभएर विश्वशान्ति, स्थिरता र समृद्धिका लागि मानव जातिले नै अहिले चीनतिर आशा र भरोशाको दृष्टिले हेरिरहेको बताए।
अध्यक्ष प्रचण्डले नेपाली जनताले लामो र कठिन संघर्षपछि नेपालमा राजनीतिक स्थिरताको वातावरण बनाएका र कम्युनिस्ट नेतृत्वमा लोकतान्त्रिक प्रक्रियाबाटै बलियो सरकार बनेको दावी गरे।
उनले आफूहरु यो राजनीतिक परिस्थितिलाई आर्थिक विकास र समृद्धिको नयाँ यात्रामा रुपान्तरण गर्न चाहेका बताउँदै चीनसँग सहयोगको अपेक्षा गरेको बताए।
‘नेपालमा राजनीतिक स्थायित्व छ, लगानीमैत्री वातावरण बन्दै छ’, उनले भने, ‘नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट नेपाल सरकारले नियम कानूनलाई पनि लगानीमैत्री बनाउँदै छ।’ उनले चिनियाँ राष्ट्रपति सी चिन फिङले अगाडि सारेको रोड एन्ड बेल्ट इनिसियटिभमा आफूले नै पहिलो हस्ताक्षर गर्ने अवसर प्राप्त गरेकोमा गर्व समेत गरे।
‘एक चीन नीतिप्रति सधैं दृढ रहेको र नेपाली भूमिलाई कुर्नै पनि हालतमा चीनको विरोधमा प्रयोग गर्न नदिइने दृढता राख्दै आएको नेपाल अब आर्थिक वृद्धिका लागि चिनियाँ जनता र सरकारबाट तीव्र विकासका लागि सहयोगको अपेक्षा राख्दछ’, उनले भने।
नेपाल सरकार र कम्युनिस्ट पार्टी नेपालमा लगानीका निम्ति सकरात्मक वातावरण बनाउन लागिपरेको उनको भनाइ थियो। ‘भर्खरै चिनियाँ इन्टरप्राइजका तर्फबाट नेपालमा इन्ड्रस्टियल पार्क निर्माण गर्न बारेमा आफ्नो परियोजना यहाँ जसरी प्रस्तुत गर्नुभयो त्यसबाट तपाईहरुको नेपालमा लगार्नी गर्ने र नेपाली जनताको विकासको चाहनालाई सम्बोधन गर्ने तीव्र आकांक्षा रहेको प्रमाणित भएको छ’, उनले थपे।
अध्यक्ष प्रचण्डलेआफ्नो गृहजिल्ला चितवनमा इन्ड्रस्टियल पार्क बनाउन लागेकोमा थप धन्यावाद समेत दिए।

प्रतिक्रिया