कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।
शुक्रबार शुभकामना सन्देश जारी गर्दै देउवाले संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन संविधान दिवसले प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।
‘लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने छ,’ देउवाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ।
सभापति देउवाले लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरुमा जीवन उत्सर्ग गर्ने वीर शहीदहरुप्रति उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन्।
‘कांग्रेस नेतृत्वमा संविधानसभाबाट नेपालको संविधान जारी भएको घटना लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि हो। संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गरेको छ’, सन्देशमा भनिएको छ।

प्रतिक्रिया