राजनीति


चिनियाँ राष्ट्रपतिको स्वागतमा यसरी सिँगारिँदै छ काठमाडौं

चिनियाँ राष्ट्रपतिको स्वागतमा यसरी सिँगारिँदै छ काठमाडौं

रमेश लम्साल र नारायण ढु‌ंगाना
असोज १९, २०७६ आइतबार १३:५२,

दशैँको बिदामा राजधानी काठमाडौँका सडक सुनसान प्रायः छन्। अरु बेला भीडभाडले आवागमनमा असर पर्ने उपत्यकाको सडकमा अहिले असाध्यै कम सवारी गुडिरहेका छन्।

निजी सवारीसाधन अलिक बढी चलेका भए पनि सार्वजनिक सवारीसाधन कम चल्दा राजधानीले थकाइ मारेजस्तो देखिन्छ। दशैँले सबैलाई छोपे पनि केहीलाई भने दशैँभन्दा अरु नै महत्वपूर्ण कामले फुर्सद दिएको छैन। राजधानीका सडक सिँगार्ने, नयाँ बिरुवा रोप्ने, सडकका किनारमा लगाइएका बिरुवा काँटछाँट र गोडेमेल चलिरहेको छ। लाग्छ, उनीहरुलाई दशैँको छुट्टीको कुनै परवाह छैन।

राजधानीको मुटुमा रहेको तीनकुनेलाई नयाँ आकार दिन रामचन्द्र बस्नेत र उहाँको समूह लागिपरेको छ। कल्की, पाम, धुपीका बिरुवा रोपिएका छन्। विभिन्न प्रजातिका फूल रोपिएको छ। काठमाडौँ महानगरका कर्मचारी पनि उत्तिकै मेहनत गरिरहेका छन्। कोही ढुङ्गा मिलाइरहेका छन् भने कोही बिरुवा रोपिरहेका छन्। ‘त्यो बिरुवा अलिक ठाडो बनाएर रोप्नु प-यो’, दुबोको चपरी मिलाइरहेका एक कामदारले आफ्ना सहकर्मीलाई भने, ‘सबै बिरुवा र फूल मिलाएर रोप्नुपर्छ के? अनि पो राम्रो हुन्छ त।’

काठमाडौँ महानगरपालिकाको बा १ ग ३३९९ नम्बरको ट्यांकर उनीहरुको अगाडि रोकियो। भर्खरै टाँसिएको दुबोको चपरीमा पानी सिञ्चन गर्न थाल्यो। ‘अलिक मिलाएर है, अलिक मिलाएर, ट्यांकरका चालकले पानी सिञ्जन गर्न लाग्दै गर्दा अर्का कामदारले भने, राम्रो हुनुपर्छ, पानी हाल्दा बिरुवा ढल्केलान् नि! आफ्नै छोराछोरीजस्तै माया लाग्छन् यी बिरुवाका पनि’, परिचय दिनभन्दा आफ्नै काममा व्यस्त देखिए ती कामदार।

NP_KTM_20191006__MG_1499.JPG

तीनकुनेको खाली जग्गालाई बगैँचा बनाउन शिवपुरी नर्सरीका बस्नेत र उनको आठ जनाको समूह खटिएको छ। ‘सात हजार चपरी त लाग्ला कि?’ उनले भने, ‘कूल छ हजार चपरी लाग्ने अनुमान भए पनि मिलाएर लाग्दा थप एक हजार बढी लाग्ने देखिएको छ।’

दुबोको चपरी राख्न नेपाली सेनाका जवान पनि खटिएका छन्। महानगरका कर्मचारी, दैनिक ज्यालादारीमा ल्याइएका कामदार पनि छन्। ‘चाडबाडको मौकामा कामदार पाउन गाह्रो छ, तर यो जसरी भए पनि पूरा गर्नैपर्ने छ’, बिरुवा रोपिरहेका एक मजदूरले टाउको ठाडो नपारिकन नै भने।

चिनियाँ राष्ट्रपति सि चिनफिङको यही असोज अन्तिम साता हुने भ्रमणको पूर्वसन्ध्यामा काठमाडौँका सडक तथा विभिन्न क्षेत्र फूलका बिरुवा रोपेर सिँगार्न पाउँदा आफूलाई पनि खुशी लागेको बस्नेतको भनाइ छ। ‘दैनिक रु दुई हजारमा पनि कामदार पाउन गाह्रो छ। काम धेरै भए पनि दशैँको टीकाको भोलिपल्टसम्म त सकिएला कि?’, बस्नेतले अनुमान गरे। शिवपुरी नर्सरी सञ्चालन गर्दै आएका बस्नेतले चाडबाडको समयमा पनि राज्यले दिएको काम गर्न पाउँदा आफूलाई खुशी लागेको बताए।

फोहरमैला र अतिक्रमणले खण्डहर जस्तै बनेको तीनकुने पार्कले नयाँ जीवन पाउँदैछ। काठमाडौँ महानगरको संयोजनमा नितान्त नयाँ बन्दै गएको सो पार्कलाई थप स्थायित्व दिए राम्रो हुने स्थानीयको भनाइ छ। करीब दुई दशकपछि नेपाल भ्रमणमा आगेका चिनियाँ राष्ट्रपतिको स्वागतमा कुनै कमी कमजोरी नहोस् भनेर सबै खटेका छन्। विश्वमा नै भौतिक पूर्वाधारको विकासमा चमत्कार नै गरेको छिमेकी राष्ट्रका राष्ट्रप्रमुखको नेपाल भ्रमणलाई केन्द्रमा राखेर भइरहेका यावत तयारी हेर्दा लाग्छ, राजधानीलाई दशैँले होइन, कामले छापेको छ।

सडक कालोपत्रे गर्ने, ट्राफिक संकेत निर्माण गर्नेदेखि नयाँ राख्ने तथा सडक आसपास बोटबिरुवा रोप्ने काम धमाधम भइरहेको छ। काठमाडौँको तीनकुने पार्क क्षेत्रमा दुबो रोपेर सुन्दर बनाउन थालिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राजधानीको मुख्य शहर क्षेत्रमा यसरी सजावटको काम भइरहेको छ।

KTM singaR

यस्तै काठमाडौँको न्यूरोडमा फूलका बिरुवा रोपेर पानीका फोहरा निर्माणको कामसमेत चलिरहेको छ। धुलो भएको क्षेत्रमा बढार्ने र रङरोगनको काम तीव्र पारिएको छ। मजदूरहरु दशैँ नभनी माइतीघर मण्डलालाई सजाउन व्यस्त भएका छन्। मण्डलामा पनि विभिन्न प्रकारका रङको संयोजन गरिएको छ। नगर सजावटको काम भने काठमाडौँ महानगरपालिकाले लिएको छ। टीकाको भोलिपल्ट सम्ममा बोटबिरुवा रोप्ने काम सक्ने योजना रहेको तीनकुनेमा फूल रोप्दै गरेका एक मजदुरले जानकारी दिए। सजावटमा नेपाली सेना, नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाका कर्मचारीहरु खटिएका छन्।

विगतमा पनि अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिहरु नेपाल आउँदा यसैगरी सिङ्गार्ने गरिएको थियो। सडक पुल निर्माणाधीन क्षेत्रमा नेपालका प्राकृतिक सम्पदा तथा धार्मिक र पर्यटकीय क्षेत्रका सुन्दर ठाउँलाई ‘फ्लेस प्रिन्ट’ गरी ‘वाल’ बनाएर सजाइएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा, से फोक्सुन्डो ताल, विपी राजमार्ग, स्वयम्भूनाथ, पशुपतिनाथका ठूला ठूला तस्विर राखिएका छन्। सडक विभागले नियमितरूपमा नै गर्दै आइरहेको कालोपत्रे गर्ने कामसमेत गरिरहेको छ।

चिनियाँ राष्ट्रपति सिको भ्रमणका लागि सरकारले तयारी थालेको छ। सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा बस्न भनिएको छ भने सरकारी कर्मचारीलाई पनि आवश्यक पर्दा उपस्थित हुन भनिएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विश्वराज पोखरेलले उच्चस्तरका विदेशी पाहुन आउने भएकाले सोहीअनुसारको सुरक्षा दिने गरी तयारीमा रहेको जानकारी दिए।

यस्तै नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले पनि आआफ्नो क्षेत्रको तयारी गरिरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि राससलगायत अन्य सरकारी सञ्चारमाध्यमसँगको अन्तरवार्ताका क्रममा चिनियाँ राष्ट्रपतिको भ्रमण आपसी सम्बन्ध र सद्भाव वृद्धि गर्नमै केन्द्रित हुने बताएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad