ad ad

राजनीति


भरतपुरमा रेनुका बागी जगन्नाथ पौडेल भन्छन् : चुनावी मैदानमा गइसकेँ, अब ब्याक हुन्न

सधैं त्याग गर्न सक्दैनौं, ग्राउन्डले उम्मेदवार बनायो
भरतपुरमा रेनुका बागी जगन्नाथ पौडेल भन्छन् : चुनावी मैदानमा गइसकेँ, अब ब्याक हुन्न

फाइल तस्बिर


रुपक चौलागाईं
बैशाख १५, २०७९ बिहिबार १३:३८, काठमाडौँ

प्रमुख सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले भरतपुर महानगरपालिकालाई ‘प्रतिष्ठा’को विषय बनाएपछि उत्पन्न राजनीतिक समस्या झन जटिल बनेको छ। गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहालले उम्मेदवारी दर्ता गरिसकेकी छन्। यद्यपि सत्ता गठबन्धनबाटै कांग्रेस नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दर्ता गराएपछि गठबन्धनमा ‘खैलाबैला’ मच्चिएको छ।

कांग्रेसबाट भरतपुरको प्रमुखमा उम्मेदवारी दर्ता गराएका पौडेललाई लगातार पार्टी केन्द्रबाट उम्मेदवारी फिर्ता लिन आग्रह भइरहेको छ। पौडेलका अुनसार उनलाई माओवादी अध्यक्ष प्रचण्डले मात्र नभई कांग्रेसकै सभापति शेरबहादुर देउवाले पनि टेलिफोनमार्फत उम्मेदवारी फिर्ता लिन आग्रह गरिरहेका छन्। 

गृहमन्त्री बालकृष्ण खाँड त बुधबारदेखि नै चितवन पुगेर पौडेललाई फकाउने प्रयासमा तल्लीन छन्। त्यसो त, राज्यमन्त्री उमेश श्रेष्ठलाई पनि पौडेललाई मनाउन देउवाले दूत बनाएर चितवन पठाएका छन्।

दुई मन्त्रीसहित चितवन कांग्रेसका नेताहरुको जमघटमा भएको प्रयास भने सफल हुन सकेको छैन। बिहीबार बिहानको वार्तापछि नेपालखबरसँगको टेलिफोन संवादमा पौडेलले ‘अडानबाट कुनै हालतमा पछि नहट्ने’ प्रतिक्रिया दिएका छन्। देउवा र प्रचण्डको टेलिफोनबाट ‘कन्भिन्स’ हुन नसकेका पौडेल जुनसुकै हालतमा चुनावी मैदानमा उत्रिने दाबी गर्छन्। 

प्रस्तुत छ नेपाखबरसँगको कुराकानीको सम्पादित अंशः

गठबन्धनका शीर्ष नेताहरु तपाईंलाई भेट्न धाइरहनुभएको छ। खास के कुरा भइरहेको छ?
होइन, म आफ्नो अडानमा प्रतिबद्ध छु। म आफ्नो उम्मेदवारी छाड्दिनँ। किनभने चुनाव भनेको मैदानमा जाने हो। यहाँ मेरो निष्‍ठाको विषय पनि जोडिएको छ। म लगायत मेरा साथीहरु सबैजना मैदानमा गएर चुनाव लड्ने भन्ने नै भएको छ। हामीबीच छलफल भएको छ। हामी कुनै हालतमा छाड्ने पक्षमा छैनौं।

तपाईंसँग आजै मात्र भेट्नुभएका राज्यमन्त्री उमेश श्रेष्ठले त छलफल सकारात्मक भएको प्रतिक्रिया दिनुभएको छ नि?
सकारात्मक त सकारात्मक नै हो। तर, चुनाव लड्ने कुरामा सकारात्मक भएको हुँ। 

यसको अर्थ तपाईंले उम्मेदवारी फिर्ता लिन्छु भनेर भन्नुभएको छैन?
म उम्मेदवारी फिर्ता लिदिँन। मेरो अडान यथावत नै छ। 

सबैको चासो रहेको भरतपुरमा गठबन्धनका अन्य दलसँग निर्वाचन लडेर आफ्नो जित सुनिश्चितता देख्नुभएको छ?
यो चुनावी मैदान हो। मैदानमा उत्रिएपछि जित र हार भन्ने कुरा स्वभाविक प्रक्रियामा पर्ने कुरा हो। 

दुई दिनअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सुटुक्क चितवन झर्नुभयो? तपाईंसँग भेट भयो?
होइन, उहाँसँग मेरो भेट भएको छैन। उहाँले मलाई टेलिफोन गर्नुभएको थियो। यहाँ तपाईंले छाडेर अवस्था सहज बनाउनुपर्‍यो भनेर भन्नुभयो। तपाईंहरुले पनि त्यो कुरा छाडेर मलाई सहज बनाइदिँदा हुन्छ भनेर मैले आफ्नो कुरा राखेको छु। 

निर्वाचनमा होमिने भइसकेपछि कसरी तयारीमा अघि बढ्नुभएको छ?
प्रक्रियामा अघि बढेको छु। भोलिसम्मका लागि फिर्ता लिने कुराको मिति छ। तर, फिर्ता लिदिँन। म पक्रियाबाट यहाँको निर्वाचन जित्नेगरी अघि बढ्छु। 

कांग्रेस केन्द्रबाट तपाईंहरु सभापति वा अन्य नेताले केही भन्नुभएको छैन?
सम्माननीय प्रधानमन्त्रीज्यूले फोन गर्नुभएको थियो। उहाँले काठमाडौं आउनुस् भन्नुभएको थियो। मैले अहिले म आउन असमर्थ छु भनेँ। त्यसपछि उहाँले अब सबै कुरालाई हेरेर बोलाउनुभएको हो। मैले म आउन सकिँन, अहिलेलाई भनेको छु। 

कांग्रेस चितवनमा त लामो समयदेखि अन्तरविरोध चलिरह्यो। निर्वाचनको मुखमा चितवनको अवस्थालाई कसरी मूल्यांकन गर्नुभएको छ?
पार्टी कार्यकर्ता र नेताज्यूहरू खुलेर लाग्न २/४ जना नसके पनि अन्य धेरै लागेको अवस्था छ। गठबन्धनमा भन्दा पनि कांग्रेसले यहाँ के भन्छन् भने, सधैंभरी हामीले मात्र त्याग गर्न जरुरी छैन।

सधैं हामीले त्याग गर्नुहुन्न भन्ने कुरा मलाई ग्राउन्डबाट प्राप्त भएको छ। ती तमाम कार्यकर्ताको समर्थनमा म अघि बढेको हुँ। म ग्राउन्ड लेभलबाटैको समर्थन छ। मेरो सम्पूर्ण अन्तवार्ता देख्नुभएकै छ। म मेरो अडानबाट ब्याक हुन्नँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .