ad ad

राजनीति


नवराज सिलवालसँग उदय शमशेरको ‘बदला’

यस्तो छ तरुण दलदेखि संघीय संसदसम्मको यात्रा
नवराज सिलवालसँग उदय शमशेरको ‘बदला’

केशव सावद
मंसिर ७, २०७९ बुधबार २:५३, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शमशेर राणाले २०७४ मा भोगेको पराजयको बदला लिएका छन्। ललितपुर–१ मा चिरपरिचित प्रतिद्वन्द्वी नवराज सिलवाल (नेकपा एमाले) लाई ४६ सय बढी मतले पराजित गर्दै विगतको पराजयको बदला लिएका हुन्।

ललितपुर–१ को निर्वाचन अधिकृतको कार्यालयले एमाले उम्मेदवार सिलवाल राणासँग ४ हजार ६१४ मतले पराजित भएका जनाएको छ। कार्यालयका अनुसार राणाले २३ हजार ८९२ र सिलवालले १९ हजार २७९ मत प्राप्त गरेका छन्। 

२०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राणा एमाले नेता सिलवालसँग नै पराजित भएका थिए। नेपाल प्रहरीका पूर्व एआईजी सिलवालले उनलाई ६ हजार २२२ मतले पराजित गरेका थिए। सिलवालले २६ हजार ९५१ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा राणाले २० हजार ७२९ मतमा चित्त बुझाउनु परेको थियो।

त्यसअघि २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभामा उनी ललितपुर– १ बाट संविधानसभा सदस्यमा विजयी भएका थिए। राणाले निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार मधुसुदन पौडेललाई झण्डै आठ हजार मतान्तरले पराजित गरेका थिए। उक्त निर्वाचनमा उनले १८ हजार ५६० र पौडेलले १० हजार ६८२ मत पाएका थिए। 

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने उनी तत्कालीन नेकपा माओवादीका नेता वर्षमान पुनसँग १ हजार ३१८ मतले पराजित भएका थिए। पुन १५ हजार ३२९ मतका साथ संविधानसभा सदस्यमा निर्वाचित हुँदा राणाले १४ हजार ११ मत प्राप्त गरेका थिए। 

२०५४ साल चैतमा उनी नेपाल तरुण दल ललितपुरको अध्यक्ष भएका थिए। त्यसपछि उनी नेपाल तरुण दलको केन्द्रीय सदस्य हुँदै २०६८ देखि २०७३ सम्म केन्द्रीय अध्यक्ष थिए। राणा गत मंसिरमा सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। 

राणाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारको पालामा अर्थ राज्यमन्त्रीको जिम्मेवारी सम्हाली सकेका छन्। 

राणाको प्राथमिक शिक्षा सेन्ट जेभियर स्कुल ललितपुरबाट सुरु भएको थियो। माध्यमिक तहको पढाई भारतको दार्जिलिङस्थित सेन्ट जोसेफ कलेज उत्तरबाट गरेका राणाले भारतकै लरेन्स स्कुल, सानावरबाट उच्च शिक्षा पूरा गरेका हुन्। उनले सेन्ट स्टिफन्स कलेज, दिल्ली विश्व विद्यालयबाट स्नातक तह पूरा गरेका थिए। 

राणाले संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेको कर्नेल विश्वविद्यालयबाट अन्तराष्ट्रिय सम्बन्धमा स्तानाकोत्तर तहको अध्ययन पूरा गरेका छन्। 

राणाले विभिन्न विषयको अनुसन्धान गरेर ‘नेपालको विदेश नीतिः भारत र चीनसँग सम्बन्धमा जोड’ विषयमा शोध निबन्धसमेत प्रकाशित गरेका छन्। 

उनको जन्म बाबु सागर शमशेर राणा र आमा बिन्दा राणाको कान्छा सन्तानको रुपमा विक्रम संवत २०२६ साल फागुन १६ गते ललितपुर महानगरपालिका–३ कुपण्डोलमा भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .