ad ad

राजनीति


८ सिटसहित कांग्रेसको अग्रता, को कहाँ विजयी?

८ सिटसहित कांग्रेसको अग्रता, को कहाँ विजयी?

केशव सावद
मंसिर ७, २०७९ बुधबार ४:४१, काठमाडौँ

प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनाको अन्तिम नतिजा आउने क्रम जारी छ। गत आइतबार सम्पन्न मतदानमा बुधबार बिहानसम्म नेपाली कांग्रेसले प्रतिनिधिसभा तर्फ ८ सिट जितेको छ। 

निर्वाचन आयोगका अनुसार कांग्रेसले मुस्ताङ, मनाङ, काठमाडौं, ललितपुर र रसुवा गरी ८ प्रतिनिधिसभा क्षेत्रमा जित हात पारेको हो। कांग्रेस संघीय राजधानी रहेको जिल्ला काठमाडौंका ४ निर्वाचन क्षेत्रमा विजयी भएको छ। 

मुस्ताङबाट विजयी सुरुवात गरेको कांग्रेसले पछिल्लो जित ललितपुर–१ मा निकालेको छ। मुस्ताङमा योगेश गौचन थकाली प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।

उनले नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई ९१४ मतले पराजित गरेका थिए। आयोगका अनुसार थकालीले ३ हजार ९९२ मत प्राप्त गर्दा एमाले उम्मेदवार तुलाचनले ३ हजार ७८ मत ल्याएका छन्। 

ललितपुर–१ मा कांग्रेस केन्द्रीय सदस्य उदय शमशेर राणाले २०७० को निर्वाचनमा एमाले नेता नवराज सिलवालसँग भोगेको पराजयको बदला लिएका छन्। उनले सिलवाललाई ४६ सय बढी मतले पराजित गर्दै विगतको पराजयको बदला लिएका हुन्।

ललितपुर–१ को निर्वाचन अधिकृतको कार्यालयले एमाले उम्मेदवार सिलवाल राणासँग ४ हजार ६१४ मतले पराजित भएका जनाएको छ। कार्यालयका अनुसार राणाले २३ हजार ८९२ र सिलवालले १९ हजार २७९ मत प्राप्त गरेका छन्। 

मनाङमा एमाले उम्मेदवार पाल्देन छोपाङ गुरुङलाई हराउँदै कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन्। उनी २ हजार ५७५ मतका साथ निर्वाचित हुँदा एमाले उम्मेदवार गुरुङ २ हजार २४७ मतमा चित्त बुझाउनु परेको छ। 

मुलुकको संघीय राजधानी काठमाडौंको मुटु मानिने क्षेत्र नम्बर १ मा नेता प्रकाशमान सिंहले लगातार चौथो जित निकालेका छन्। उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई १२५ मतले हराएका छन्। सिंह ७ हजार १४३ मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा मिश्रको ७ हजार १८ मत आएको छ। 

काठमाडौं–३ मा एमालेका कृष्णबहादुर राईलाई पराजित गर्दै सन्तोष चालिसेले संसद्को यात्रा सुरुवात गरेका छन्। चालिसे १५ हजार १५८ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा एमाले उम्मेदवार राईले ११ हजार १९६ मतमा चित्त बुझाउनु परेको छ। 

कांग्रेस महामन्त्री गगन थापाले काठमाडौं–४ मा ‘ह्याट्रिक’ गरेका छन्। एमाले उम्मेदवार डा। राजन भट्टराईलाई दोस्रो पटक पराजित गर्दै उनले ‘ह्याट्रिक’ गरेका हुन्। आयोगका अनुसार थापाले २१ हजार ३०२ र राजन भट्टराईले १३ हजार ८५५ मत ल्याएका छन्। 

काठमाडौं–५ मा युवा नेता प्रदीप पौडेल एमालेका दोस्रो वरियताका नेता ईश्वर पोखरेललाई हराएका छन्। निर्वाचन आयोगका अनुसार उनी पोखरेललाई ५ हजार ६५ मतअन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। 

गत आइतबार सम्पन्न मतदानमा यहाँ ४५ हजार ९८७ मत खसेको थियो। जसमध्ये पौडेलले १५ हजार २३७ मत र पोखरेलले १० हजार १७२ मत पाएका छन्। २०७४ मा सम्पन्न निर्वाचनमा पौडेल तनहुँ–२ ‘क’ मा मात्र ५ मतले प्रदेशसभा सदस्यमा पराजित भएका थिए।

रसुवामा मोहन आचार्य एमाले उम्मेदवार छोवाङ तेन्जिन तामाङलाई पराजित गरेका छन्। आचार्य १८ हजार २३५ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा तामाङले ८ हजार ६१४ मत प्राप्त गरेको आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .