ad ad

राजनीति


हेभिवेटलाई हराएर संसद् पुगिन् यी युवा नेता

हेभिवेटलाई हराएर संसद् पुगिन् यी युवा नेता

काठमाडौं २ मा विजयी सोविता गौतम


सागर न्यौपाने
मंसिर ७, २०७९ बुधबार ११:१८, काठमाडौँ

गहकिलो तर्कसहित तेजिलो बोल्ने क्षमता भएकी २७ वर्षीया सोबिता गौतमले संसदीय यात्रा तय गरेकी छन्।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार यो निर्वाचनमा संसद यात्रा गर्ने उनी सबैभन्दा कान्छी सांसद बनेकी छन्। 

मतदाताले सुरुदेखि नै ‘सुन्दरी उम्मेदवार’ भन्दै टेलिभिजन कार्यक्रम निर्माता, प्रस्तोता र अधिवक्ता गौतमको पक्षमा माहोल बनाउन खोजेका थिए। मीठो बोली र कमाण्डिङ शैलीका कारण सामाजिक सञ्जाल, टिकटक, फेसबुक र ट्विटरमा सोबिता छाएकी थिइन। कलाकारदेखि राजनीतिज्ञसम्म, विज्ञदेखि विश्लेषकसम्म उनलाई शुभकामना दिइरहेका थिए।

गौतमले काठमाडौं २ मा हेभिवेट र पुराना तथा परिवर्तनकारी उम्मेदवारलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्हबाट संसद भवन पुग्न सफल भएकी छन्। 

संयोग नै मान्नुपर्छ गौतमले कांग्रेसका महामन्त्री गगन थापा र युवा नेता प्रदीप पौडेलसँग रोष्ट्रममा उभिएर जनताका मुद्दा उठाउन पाउनेछिन्।

८० वर्षपछिको भविष्य हेरेर योजना बनाउने युवा पुस्ताले चुनाव जित्नुपर्ने बताउने उनी आफैँ जनताको भविष्य कोर्ने नीति बनाउने ठाउँमा उक्लिएकी छन्। 

काठमाडौं २ सधैँ चर्चामा रहने क्षेत्र हो। तर, यसपटक त्यहाँबाट माधवकुमार नेपाल रौतहट झरेपछि मैदानमा थिए, पूर्वसभामुख ओनसरी घर्ती, नेकपा एमालेका नेता तथा निवर्तमान बागमती प्रदेश सभा सदस्य मणिराम फुयाँल।

तर, गौतमले पूर्व सभामुख लगायत ‘हेभिवेट’ उम्मेदवारहरुलाई पराजित गर्न सफल भइन्।

चुनावी प्रचार अभियान र घरदैलोमा उनले मतदातासँग यसरी मत मागेकी थिइन– मैले जिते जनताको जित हुन्छ। 

चुनाव जितेपछि पनि उनले जनताको विजय भएको प्रतिक्रिया दिइन्। अब उनको असली परीक्षाण पनि सुरु भएको छ। 

चुनावी अभियानका क्रममा जनाएको प्रतिवद्धता पूरा गर्नुपर्ने चुनौती उनको काँधमा छ। 

पाँच वर्षमा व्यावहारिक–व्यावसायिक शिक्षा, स्वास्थ्य, रोजगारी, जलवायु परिवर्तन र कृषि प्रवर्द्धनको मुद्दा उठाउने उनको प्रतिवद्धता कति कार्यान्वयन होला? उनीसामु अनेक चुनौती छन्।

काठमाडौं २ को किस्सा 
पहिलो संविधान सभाको निर्वाचनमा (२०६४ चैत्र २८) माओवादीका झक्कुप्रसाद सुवेदीले पनि गौतमले जस्तै नतिजा निकालेका थिए।

१५ वर्षअघि सुवेदीले तत्कालीन एमाले नेता माधवकुमार नेपाललाई हराएर संविधान सभामा पुगेका थिए।

त्यसबेला त्यो क्षेत्रले नयाँ प्रतिनिधि चाहेको संकेत दिएको थियो। २०७४ मा एमाले–माओवादी गठबन्धनका कारण र नयाँ कुनै दलको प्रभाव नभएकोले नेपालले सजिलै जिते।

तर, यसपटकको चुनावमा मतदाताले फेरि नयाँ उम्मेदवारलाई अनुमोदन गरेका छन्। र त्यसमा सफल भएकी छन, सोबिता गौतम।

सोबिताले समाजिक सञ्जालमा मतदातासँग जनाएको प्रतिवद्धता पनि लोभलाग्दो थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .