ad ad

राजनीति


राजन दाहाल : पूर्वसहकर्मीलाई हराएर संघीय संसदमा उक्लिए

राजन दाहाल : पूर्वसहकर्मीलाई हराएर संघीय संसदमा उक्लिए

सिन्धुली २ मा विजयी माओवादी उम्मेदवार राजन दाहाल


सागर न्यौपाने
मंसिर ७, २०७९ बुधबार १५:३७, काठमाडौँ

आफ्नै पार्टीका उपमहासचिव हरिबोल गजुरेलको टिकट अन्तिम अवस्थामा खोसेर उम्मेदवार बनेका लेखनाथ दाहाल (राजन) ले प्रतिनिधि सभामा माओवादी केन्द्रबाट सिन्धुली २ मा चुनाव जितेका छन्। 

माओवादीका पूर्व नेतासमेत रहेका नेकपा एमालेका उम्मेदवार मनोजजंग थापालाई ६ हजार बढी मतान्तरले पराजित गर्दै दाहाल पहिलो पटक प्रतिनिधि सभामा पुगेका हुन्। 

सिन्धुलीका मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार दाहालले २७ हजार ५ सय १७ मत ल्याएर विजयी भए। उता एमालेका थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरे। 

संयोग नै मान्नु दाहालसँग पराजित थापा जनयुद्धदेखि नै सिनियर हुन्। माओवादीमा रहँदा प्रवास व्यूरो सचिव रहेका थापा नेकपा विभाजनपछि रामबहादुर थापा बादलहरुसँगै एमालेमै बसे। उनै थापालाई पराजित गरेर दाहाल प्रदेश सभाबाट संघीय संसदमा उक्लिन सफल भए।   

अहिले सिन्धुली जिल्ला इन्चार्ज रहेका दाहाल माओवादी केन्द्रमा पोलिटव्युरो सदस्य छन्। जनतासँगको सम्बन्ध अनि पार्टी संगठन नै जितको मुख्य आधार भएको उनले बताए।

‘मलाई यहाँका जनताले भारी मतान्तरले जिताउने विश्वास किन पनि थियो भने यहाँ माओवादी केन्द्रको संगठन बलियो र मजबुत छ,’ चुनाव जितेपछि नेपालखबरसँग कुरा गर्दै दाहालले भने, ‘जनताको सुखदुःखमा साथ दिइरहेको छु, म कस्तो नेता भन्ने जनतालाई थाहा छ, किनकी मैले यहाँ गरेको काम जनपक्षीय छन्।’

दाहाल माओवादीमा हकी स्वभावका नेता मानिन्छन्। २०७४ को चुनावमा सिन्धुली क्षेत्र नम्बर १ बाट प्रदेश सांसद बनेका उनी पहिलोपटक प्रतिनिधि सभामा पुगेका हुन्। 

सिन्धुली जिल्ला अध्यक्ष बनेपछि पार्टी कार्यालय भवन बनाएका उनको चर्चा माओवादीभित्र अहिले पनि छ। 

कार्यालय उद्घाटन गर्न पुग्दा माओवादी अध्यक्ष पुष्पकमल प्रचण्ड आफैँ पुगेर भनेका थिए–यति राम्रो कार्यालय भवन आफनै बलबुताले बनाउन सकिँदो रहेछ त। ‘हाम्रा सबै जिल्लामा यस्तै भवन बनाउनुपर्‍यो। साथीहरु लाग्नुपर्‍यो, राजनजीबाट सिक्नुपर्‍यो,’ उनले भनेका थिए। 

राजनीतिक यात्रा
पार्टी कार्यालय बनाएपछि लेखनाथ (राजन) को चर्चा थप चुलियो। २०३४ साल असार १० गते सुनकोशी गाउँपालिका ५ नाङ्गेडाँडामा जन्मिएका उनले २०४६ सालदेखि राजनीति थालेको बताउँछन्।

२०५२ मा जनयुद्धमा सहभागी भएका उनले तीन वर्ष जेल परेर २०५६ चैतमा मुक्त भए। 

शान्ति प्रक्रियामा आएपछि दाहालले रामेछाप जिल्लाको नेतृत्व गरे।

२०६६ मा सिन्धुली जिल्ला सह-इन्चार्ज भएपछि उनी सक्रिय बने पार्टी बनाए। माओवादीको संगठनलाई निकै मजबुत बनाएको उनी दाबी गर्छन्। 

२०६९ मा सिन्धुली जिल्ला इन्चार्ज र अध्यक्ष बनेका दाहाल जिल्ला बनाउन सफल भएको दाबी गर्छन्।

आफ्नै सहकर्मीसँगको भिडन्त
सिन्धुली क्षेत्र नम्बर २ माओवादीको गढकै रुपमा रहेको क्षेत्र हो। तर, यसपटक माओवादी र पूर्वमाओवादीबीच प्रतिनिधि सभामा प्रतिस्पर्धा भयो।

एमालेलेसमेत पूर्वमाओवादीलाई उम्मेदवार बनाउनुको कारण थियो, असन्तुष्ट मत तान्ने। 

एमालेको आफ्नो मतमा माओवादीको पनि तान्न सकिने आँकल गरेको थियो। माओवादीको केही असन्तुष्ट पक्षको मत तान्न सके नतिजा आफ्नो पक्षमा पार्न सकिने एमालेको विश्लेषण थियो।

तर, दाहालले आफनै पूर्वसहकर्मीलाई हराएर शानदार रुपमा संसद यात्रा तय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .