ad ad

राजनीति


सुदूरपश्चिम सरकार बनाउन सत्ता गठबन्धनलाई सहज, को बन्ला मुख्यमन्त्री?

सुदूरपश्चिम सरकार बनाउन सत्ता गठबन्धनलाई सहज, को बन्ला मुख्यमन्त्री?

गोकुल जोशी
मंसिर १३, २०७९ मंगलबार १५:२७, कञ्चनपुर

सुदूरपश्चिमको प्रदेशसभाका ३२ क्षेत्रमध्ये ३० वटाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। 

बाजुराका विभिन्न ठाउँमा मतदानकाा दिन विवाद हुँदा मतगणना सुरु हुन सकेको छैन। त्यहाँ मंसिर ४ गते चुनावका दिन दुईजना युवाले ज्यान नै गुमाएका थिए। 

प्रदेशसभाको ३० क्षेत्रको अन्तिम मतपरिणाम आएसँगै भावी सरकार निर्माणका लागि जोड–घटाउ थालिएको छ।

केन्द्रमा सरकार बनाउन गृहकार्य सुरु भएसँगै प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउन नेताहरू केन्द्रमा दबाब दिन थालेका छन्। 

सत्तारुढ गठबन्धनलाई बहुमत
सुदूरपश्चिममा सत्तारुढ गठबन्धनको बहुमत निश्चित छ। ३० क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा गठबन्धनले २१ क्षेत्रमा जितेको छ।

नेपाली कांग्रेसले ११, माआवादी केन्द्र ८ र नेकपा एकीकृत समाजवादीले २ गरेर सत्ता गठबन्धनले अहिलेसम्म  प्रत्यक्षतर्फ कूल २१ सिट आफ्ना पक्षमा पारिसकेको छ।

बाजुराको प्रदेशसभाका दुुई क्षेत्र र प्रदेशभरको समानुपातिकतर्फ अन्तिम मतपरिणाम आउन बाँकी नै छ।  सरकार बनाउँदासम्म सत्ता गठबन्धन कायम रहे सुदूरपश्चिमा गठबन्धनको सरकार बन्ने निश्चित छ।

नेपाली कांग्रेसबाट दिवानसिंह विष्ट, बहादुरसिंह थापा, बेलबहादुर राना, कमलबहादुर शाह, प्रकाशबहादुर बम, प्रकाशबहादुर देउवा, शिवराज भट्ट, विक्रमसिंह धामी, पृथ्वीबहादुर सिंह, मेघराज खड्का र मानबहादुर रावल प्रदेश सांसद चुनिएका छन्।

नेकपा माओवादी केन्द्रबाट ओमविक्रम भाट (सरल), रमेशसिंह धामी, खगराज भट्ट, मानबहादुर धामी, शिवसिंह ओली, भीमबहादुर भण्डारी, झपडबहादुर साउद र अक्कलबहादुर रावल गरेर प्रत्यक्षतर्फ ८ जना सांसद भएका छन्।

नेकपा एकीकृत समाजवादीका प्रकाश रावल र दीर्घबहादुर सोडारी निर्वाचित भएका छन्। नेकपा एमालेका वीरबहादुर थापा (पातल), सुरेन्द्रबहादुर पाल र चक्रबहादुर मल्ल गरेर तीन जनाले प्रदेशसभामा प्रत्यक्षतर्फबाट प्रतिनिधित्व गर्ने छन्।

नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी, लक्ष्मण किशोर चौधरी, रामेश्वर चौधरी, धनश्याम चौधरी र खुसीराम डगौंरा गरेर ५ जना प्रदेश सांसद निर्वाचित भएका छन्। यस्तै डडेल्धुराबाट ताराप्रसाद जोशी स्वतन्त्रका हैसियतले निर्वाचित भएका छन्।

सत्ता गठबन्धन कायमै रहे उसलाई प्रदेश सरकार बनाउन सहज हुने देखिएको छ। ३२ प्रत्यक्ष र २१ समानुपातिक गरेर सुदूरपश्चिम प्रदेशसभामा ५३ सांसद हुन्छन्। सरकार बनाउन बहुमत अर्थात् २७ सांसद आवश्यक पर्छन्।

समानुपातिकतर्फ अन्तिम नतिजा सार्वजनिक नभएकाले कांग्रेसबाट ४/५ र माओवादी केन्द्रबाट कम्तीमा ३ जना सांसद थपिने अनुमान छ। यसरी सत्ता गठबन्धनलाई सुदूरपश्चिममा सरकार बनाउन सहज अंकगणित आउने आकलन छ।

केन्द्रकै भर
सत्तारुढ गठबन्धनको बहुमत निश्चित भए पनि गठबन्धनले निरन्तरता पाउने/नपाउने ठेगान छैन। केन्द्रको राजनीतिक समीकरणअनुसार प्रदेश सरकार बन्ने नेताहरू बताउँछन्।

‘केन्द्रमा कुन किसिमको समीकरण तयार हुन्छ, त्यहीअनुसार प्रदेशमा पनि अगाडि बढ्ने हो’, कांग्रेसका एक नेताले नेपालखबरसँग भने, ‘केन्द्रमा अहिलेकै गठबन्धनले निरन्तरता पाए प्रदेशमा पनि सरकार बनाउँछौं।’

प्रदेश सरकारको सत्ता समीकरण केन्द्रमै निर्भर रहेको उनको भनाइ छ। ‘समानुपातिक र बाजुराको अन्तिम नतिजा आइसकेको छैन, त्यसले पनि सरकार निर्माणको चित्र स्पष्ट गर्छ’, उनले भने।

को बन्ला मुख्यमन्त्री ?
अहिलेकै गठबन्धनले निरन्तरता पाए गठबन्धनका दलमध्ये सबैभन्दा ठूलो नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी गर्ने छन्।

नेपाली कांग्रेसमा मुख्यमन्त्रीका आंकाक्षी धेरै छन्। कांग्रेसमा कञ्चनपुरबाट निर्वाचित बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कैलालीका प्रकाश देउवा, अछामका मेघराज खड्का र दार्चुलाका विक्रमसिंह धामीको नाम मुख्यमन्त्रीका लागि चर्चामा छ।

कञ्चनपुरका थापा र विष्ट संविधानसभा सदस्यसमेत रहिसकेकाले प्रदेशमा झर्दा मुख्यमन्त्रीका प्रबल दाबेदारका रूपमा हेरिएको छ।

कैलालीका देउवा प्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेकाले उनको नाम पनि मुख्यमन्त्रीका लागि चर्चामा छ।

अछामका खड्का कांग्रेस सुदूरपश्चिमका महामन्त्री हुन्। दार्चुलाका धामी ०७४ को चुनावमा प्रतिनिधि सभाको दौडमा रहँदा हारेका थिए।

यसपटक प्रदेशमा झरेकाले उनी पनि मुख्यमन्त्री पदका लागि चर्चामा छन्।नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीका प्रबल दाबेदार सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट हुन्।

उनले ०६४, ०७० र ०७४ को चुनावमा डडेल्धुराबाट कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवासँग प्रतिस्पर्धा गरे।

यसपटक गठबन्धनका कारण उनी प्रदेशसभामा चुनाव लडेर डडेल्धुरा प्रदेशसभा १ बाट निर्वाचित भएका छन्। गृहजिल्ला डडेल्धुराका चुनावी सभामा मत माग्दै प्रधानमन्त्री देउवाले भट्टलाई भावी मुख्यमन्त्रीका रूपमा अघि सारेका थिए।

‘अहिलेकै गठबन्धनको सरकार बन्छ, सहमतिअनुसार प्रदेशको नेतृत्व गर्ने पहिलो मौका माओवादीले नै पाउँछ’, भट्टनिकट माओवादीका एक नेताले भने, ‘मिलेर आलोपालोमा सरकार चलाउँछौं।’

कांग्रेस सुदूरपश्चिम कार्यसमितिका सभापति वीरबहादुर बलायर अहिले नै प्रदेश सरकार गठनका सम्बन्धनमा छलफल नभएको बताउँछन्। समानुपातिक मतगणना सकिएपछि पार्टी नेतृत्वसंँग यस विषयमा छलफल हुने उनले बताए।

गठबन्धन भत्किएमा सुदूरपश्चिममा सरकार बनाउन नागरिक उन्मुक्ति पार्टी निर्णायक हुने देखिएको छ। नागरिक उन्मुक्तिले कैलालीबाट ५ सिट जितेको छ। समानुपातिकतर्फ २/३ सिट भागमा पर्ने अनुमान छ। 

मुख्यमन्त्री दाबेदार पराजित
सुदूरपश्चिममा मुख्यमन्त्री पदका दाबेदारका रूपमा हेरिएका केही नेता चुनावमा हारेका छन्। कांग्रेसबाट मुख्यमन्त्रीका प्रबल दाबेदार सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर महरा कैलालीमा हारे। 

उनी ०७४ मा निर्वाचित भएर कांग्रेसको संसदीय दलको नेतासमेत चुनिएका थिए। नेकपा विघटन भएर कांग्रेसको नेतृत्वमा गठबन्धन बनेपछि प्रदेशमा कांग्रेसकै नेतृत्वमा सरकार बनाउन उनी सक्रिय थिए। तर सफल हुन सकेनन्। पछि मन्त्रीका रूपमा सरकारमा सहभागी भएका थिए।

उनी यसपटक पनि कांग्रेसका तर्फबाट मुख्यमन्त्रीको दौडमा थिए। तर चुनाव जित्न सकेनन्। यस्तै मुख्यमन्त्रीका आंकाक्षी सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले पनि चुनाव हारे। उनी डडेल्धुरामा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशीसँग हारेका हुन्। 

नेकपा एमालेका तर्फबाट मुख्यमन्त्रीका आंकाक्षी पूर्व भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहरा डडेल्धुरामा माओवादीका खगराज भट्टसँग हारे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .