गएको माघ २३ गते नेपाली कांग्रेस गण्डकीको बैठकलाई सम्बोधन गर्ने क्रममा सभापति गगन थापाले दुईवटा कुरामा विशेष जोड दिए।
पहिलो, अब की बार गगन सरकार भन्ने हैन, सय पार भन्नुहोस्।
दोस्रो, गएको चुनावमा २७ लाख जनताले समानुपातिकतर्फ कांग्रेसलाई मत दिएका थिए, ती मतदातासम्म पुग्नुहोस्।
उनले त्यसका निम्ति हिजो कांग्रेस छाडेकाहरूलाई पनि घर फर्काउने र निष्क्रिय बसेकालाई पुनः सक्रिय बनाउनुपर्नेमा जोड दिएका थिए।
उनले भनेका थिए, ‘यो नयाँ कांग्रेस हो, तपाईंको घर हो। हिजो २७ लाखले समानुपातिकमा कांग्रेसमा मतदान गरेका हुन्। गुनासो थियो, तर मत हालेका हुुन्। तपाईंले उहाँहरूलाई चिन्नुहुन्छ। हिजो चित्त दुख्दा पनि मत दिनुभयो। अहिले कांग्रेसका, तपाईंका केटाहरूले हिम्मत गरेर पार्टी बदलेका छन् भन्ने मेरो सन्देश घरघर पुर्याउनुस्।’
२०७९ सालमा देशभरबाट २६ लाख ७३ हजार २७ जनाले समानुपातिकतर्फ कांग्रेसको रुख चिन्ह रोजेका थिए। प्रत्यक्षतर्फ ५७ सिट जितेको कांग्रेसले समानुपातिकमा पाएको मतको आधारमा संसदमा ३२ सिट प्राप्त गर्दै संघीय संसदमा पहिलो पार्टी बनेको थियो।
अहिले नेपाली कांग्रेसले गगनलाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेको छ भने प्रत्यक्षतर्फ देशका १५५ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको छ। २६५ सांसद संख्या रहेको प्रतिनिधि सभामा ठूलो दल बन्नका निम्ति प्रत्यक्षतर्फ मात्र नभएर समानुपातिकमा पनि उत्तिकै मत ल्याउनुपर्छ। प्रत्यक्षतर्फ मतदाताले उम्मेदवार हेर्छन्। दलको वास्तविक हैसियत कति छ भन्ने समानुपातिकको मतले निर्धारण गर्छ भने सत्ताको जोड–घटाउ पनि त्यहीँबाट सुरु हुन्छ।
त्यसैले कांग्रेस सभापति गगन यो चुनावमा समानुपातिक मत नघटोस् भन्ने चाहन्छन्। आम मतदाताको चासो प्रत्यक्ष चुनाव लडेका उम्मेदवारप्रति बढी भए पनि सबैजसो दलहरूको ध्यान समानुपातिकको मत परिणाममा केन्द्रित छ।
कांग्रेस सभापति गगनले अघिल्लो चुनावकै जति मतको अपेक्षा गरे पनि केही वर्षयता पुराना दलहरूको समानुपातिक मत क्रमशः घट्दो छ र त्यसको फाइदा नयाँ दलले पाइरहेका छन्। कांग्रेसकै कुरा गर्ने हो भने, २०७४ सालमा उसले ३१ लाख २८ हजार ३८९ मत ल्याएको थियो। २०७९ सालमा त्यो घट्यो।
२०७४ सालको चुनावमा ३१ लाख ७३ हजार ४९४ मत प्राप्त गर्दै पहिलो दल बनेको एमाले २०७९ सालमा आइपुग्दा २८ लाख १ हजार ८७० मा खुम्चियो। २०७४ सालमा १३ लाख ८५ हजार ५५८ मत ल्याएर तेस्रो बनेको माओवादी केन्द्र २०७९ सालमा ११ लाख ६३ हजार ८५ मतसहित तेस्रो नै कायम रह्यो। तर, २०७९ मा चौथोमा चाहिँ एकाएक राष्ट्रिय स्वतन्त्र पार्टी स्थापित बन्यो। रास्वपाले ११ लाख २४ हजार ६१४ मत प्राप्त गरेको थियो र त्यही संख्याको बलमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्न पुगेका थिए।
रास्वपाले प्राप्त गरेको कुल समानुपातिक मतमा गण्डकीको योगदान १ लाख ७७ हजार २५ रहेको थियो। प्रत्यक्षतर्फ जितका निम्ति तनहुँ १ को उपनिर्वाचन कुर्नु परेको रास्वपाले त्यही शक्तिको बलमा गण्डकीबाट ढाकाकुमार श्रेष्ठ र शिव नेपालीलाई संघीय संसद् पुर्याएको थियो। ढाकाकुमार चाहिँ पछि निलम्बनमा परे।
रवि नेतृत्वको रास्वपा अहिले सबैभन्दा उत्साही छ र प्रत्यक्ष र समानुपातिक दुवैतर्फको परिणाम आफ्नो पक्षमा पार्दै सत्ताको नेतृत्व गर्ने सुरमा देखिन्छ। त्यसका निम्ति गण्डकीलाई आधारभूमि बनाइने यसका नेताहरूले बताउँदै आएका छन्। ९ लाख ५५ हजार ५१६ महिलासहित १८ लाख ७० हजार ६५ जना मतदाता रहेको गण्डकीका १८ मध्ये १७ निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार छन्। मनाङको निम्ति रास्वपाले नवीन गुरुङलाई टिकट दिएको थियो तर उनी मनोनयन दर्ता गर्न नै गएनन्। मनाङमा कांग्रेस र एमालेबीच लामा गुरुको उपस्थितिमा चिठ्ठा थुत्दा कांग्रेसका टेकबहादुर गुरुङ भाग्यमानी दरिएपछि एमालेका पोल्देन गुरुङले पनि उम्मेदवारी छाडिसकेका छन्। म्याग्दीमा चाहिँ रास्वपाका उम्मेदवारले अर्का स्वतन्त्र उम्मेदवार महावीर पुनलाई सघाउने घोषणा गरे पनि उम्मेदवारी कायमै छ।
त्यसबाहेक उपनिर्वाचनमा उपाध्यक्ष डा स्वर्णिम वाग्ले विजयी बनेको तनहुँ क्षेत्र नम्बर १ सहित गण्डकीको राजधानी कास्कीका ३ वटै क्षेत्रमा विजयी हुने उसको आकलन छ। रास्वपा कास्कीका अध्यक्ष यदुनाथ अधिकारी यसअघि प्राप्त मत र अहिले रास्वपाप्रति देखिएको रुझानका कारण गण्डकीको राजधानी पोखराका तीन वटै क्षेत्रमा विजय प्राप्त हुने दाबी गर्छन्। कास्कीको क्षेत्र नम्बर १, २ र ३ मा रास्वपाले क्रमशः खड्गराज पौडेल ‘गनेस’, उत्तम पौडेल र विना गुरुङलाई उम्मेदवार बनाएको छ।
‘गण्डकीमा हामी बहुमत ल्याउने अवस्थामा छौँ र त्यसको सुरुवात कास्कीबाट हुन्छ। मान्छे बाहिर बोल्न चाहँदैनन् तर रास्वपाले यो पटक नसोचेको समानुपातिक मत पनि पाउँछ,’ कास्की अध्यक्ष यदुनाथको जिकिर छ, ‘यहाँ अन्य दलका नेताका छोराछोरीले पनि हामीलाई भोट दिन्छन्। पुुरानोले पाउने भनेको त आश्वासनमात्र हो।
उत्साही रास्वपाले यसपटक गोरखाका दुवै क्षेत्र, लमजुङ, नवलपुर, तनहुँ, बागलुङ, पर्वतसहित कम्तीमा १२ निर्वाचन क्षेत्रबाट विजय प्राप्त गर्ने रास्वपा गण्डकीका अध्यक्ष राजन गौतमको दाबी छ। उनी नवलपुर १ बाट उम्मेदवार छन्। गएको चुनावमा सो क्षेत्रबाट कांग्रेसका डा शशांक कोइराला विजयी बनेका थिए। शशांकले २७ हजार ६७ मत ल्याउँदा तेसो बनेका राजनको २४ हजार ३०५ मत रहेको थियो।
यद्यपि,सो क्षेत्रमा कांग्रेस र एमालेको पनि जित्ने आकलन छ। कांग्रेसले यो क्षेत्रबाट बालकृष्ण घिमिरेलाई उम्मेदवारको रूपमा अगाडि सारेको छ भने एमालेबाट भागीरथ सापकोटा उम्मेदवार छन्। क्षेत्र नम्बर २ मा चाहिँ रास्वपा केही कमजोर रहेको तर स्थिति सुधारोन्मुख रहेको महासचिव नवीन त्रिपाठी बताउँछन्।
‘नवलपुरलाई हाम्रा सभापति रवि लामिछानेको प्रभावले राम्रो बनाउने हो। गोरखा १ मा सुदन गुरुङ निर्विकल्प हुनुहुन्छ भने २ मा कविन्द्र बुर्लाकोटीले अघिल्लोपटक नै तहल्का मच्चाउनुभएको हो। लमजुङमा धर्म केसीको, तनहुँमा स्वर्णिमको कुरै गर्न पर्दैन,’ उनी भन्छन्, ‘हामीले अहिले पर्वत र बागलुङ १ लाई रेड जोनमा राखेका छौँ। मुस्ताङ पनि रेड जोन नै हो तर समानुपातिकमा चाहिँ हामी कतै कमजोर छैनौँ। ८ सिट कतै जाँदैन, १२ बाट बढ्दा पनि आश्चर्य नमान्नुहोला।’
कांग्रेस गण्डकीका महामन्त्री विष्णु लामिछाने कांग्रेसले लगातार जित्दै आएको नवलपुर १ बाट यो पटक पनि कांग्रेस उम्मेदवार नै विजयी हुने जिकिर गर्छन्।
‘यो हाम्रो आधार भूमि हो र यो जिल्लाको भूगोल बुझेका हाम्रा उम्मेदवार नै जनताको वास्तविक प्रतिनिधि हुनुहुन्छ,’ उनले भने, ‘मैदानमा हामी मात्र नभएको पक्का हो तर जित चाहिँ हाम्रो नै हो।’
जिल्लागत रूपले पूर्ण विवरण नआइसकेको बताउने महासचिव लामिछाने सुधारिएको कांग्रेसको पक्षमा लहर बढ्दै गएको र त्यसले गण्डकीमा राम्रो परिणाम दिने दाबी गर्छन्। मनाङबाट विजयको शंखघोष गर्ने सुरसारमा रहेको कांग्रेस यो पटक अर्को हिमाली जिल्ला मुस्ताङ, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ र कास्कीमै पनि बलियो रहेको उनको जिकिर छ।
‘अहिले हुने भनेको त्रिपक्षीय प्रतिस्पर्धा हो। कांग्रेसको मत पहिलेजस्तो अन्यत्र जाँदैन। हिजो निष्क्रिय भएकाहरू सक्रिय बन्नुभएको छ। समानुपातिकमा कांग्रेस पहिलो हुन्छ नै, प्रदेशसभामा आएको जस्तै परिणाम ल्याउने गरी लागेका छौँ। बहुमत हाम्रै हो,’ महामन्त्री लामिछानेको जिकिर छ।
एमालेले पनि कांग्रेस महामन्त्रीकै भनाइको वरपर रहेर चुनावी परिणामको आकलन गरिरहेको छ। एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङकै भनाइ सापट लिने हो भने यो पटक जनता हल्लाको पछि लाग्ने छैनन्। एमालेको वेगलाई रोक्ने सामर्थ्य अन्य दलहरूसँग छँदै छैन।
एमाले गण्डकीका सचिव धनञ्जय दवाडी पनि उपाध्यक्ष गुरुङको भनाइसँग सहमत छन्। उनी मनाङको कुरा गर्न चाहँदैनन् तर लमजुङमा पृथ्वीसुब्बा निर्विकल्प भएजस्तै यहाँका १५ वटा क्षेत्रमा एमाले अहिले पनि पहिलो शक्ति भएको दाबी गर्छन्।
‘आजको दिनसम्म म यत्ति भन्न सक्छु, राष्ट्रिय राजनीतिमा सुझबुझपूर्ण निर्णय लिनसक्ने नेता भनेका हामीसँगै हुनुहुन्छ। पहिलो शक्ति हामी नै बन्ने निश्चित छ। गण्डकीबाट एमालेले उपाध्यक्ष पीएस कमरेडको सिटसहित स्पष्ट बहुमत ल्याउने छ,’ उनको भनाइ छ।
तर, एमालेकै अर्का एक नेताले चाहिँ यो पटक एमाले म्याग्दी, बागलुङ, कास्की १ र २, तनहुँ, गोरखा अनि स्याङ्जाको २ नम्बर क्षेत्रमा रक्षात्मक अवस्थामा पुगेको स्वीकारे।
नेपाली कम्युनिस्ट पार्टीले गण्डकीमा आफू कमजोर रहेको स्वीकारे पनि परिणाम आफ्नो पक्षमा पार्ने बताउँदै आएको छ। संयोजक प्रचण्डले यहाँ आयोजित कार्यकर्ता भेटघाटको क्रममा ‘गण्डकीमा नेकपा कमजोर रहेको तर कार्यकर्ताको उत्साहले परिणाम आफ्नो पक्षमा आउने’ दाबी गरेका थिए।
चुनावी परिणामबारे आकलन नगरेको नेकपाले बागलुङमा राष्ट्रिय जनमोर्चासँग तालमेल गरेको छ। बागलुङ १ बाट जनमोर्चाका कृष्ण अधिकारी उम्मेदवार बन्दा २ बाट नेकपाका ज्ञामनाथ गैह्रे उम्मेदवार रहेका छन्। नेकपाले बागलुङसहित गोरखाका दुवै क्षेत्र, कास्की क्षेत्र नम्बर १ र २ मा सकारात्मक परिणाम आउने आशा गरेको छ।
‘बागलुङ त निश्चित छ, गोरखाका दुवै क्षेत्र र कास्कीमा पनि हामी विजयी बन्छौँ,’ नेकपाका एक नेताले भने, ‘बढीमा ६ र कम्तीमा पनि २ क्षेत्रमा जित हात पार्ने हो। समानुपातिकमा सक्दो बढी ल्याउने हो,’ उनले भने।
राप्रपाले कास्की क्षेत्र नम्बर २ बाट उपाध्यक्ष हेमजंग गुरुङलाई उम्मेदवार बनाएको छ। राप्रपा यो पटक प्रत्यक्षतर्फ त्यति बलियो अवस्थामा नरहेको नेताहरूको स्वीकारोक्ति छ।
‘यो चुनावबाट देशले निकास पाउँदैन। आउँदो संसद् पनि त्रिशंकु नै हुने हो र सत्ताको हारालुछीमै सक्किने हो। त्यसपछि चाहिँ यो देशमा सबै आजित हुन्छन्। हिन्दुराज्य र राजतन्त्रको हाम्रो नारा त्यसपछि बल्ल सबैको बन्छ,’ राप्रपाका ती नेताले भने, ‘यो पटक समानुपातिकमा चाहिँ हामीले नसोचेको मत ल्याउँछौँ। लेखेर राख्नुहोला।’
Shares

प्रतिक्रिया