राजनीति


बंगलादेशमा आज संसदीय चुनाव, के भन्छन् त्यहाँका पत्रपत्रिका?

बंगलादेशमा आज संसदीय चुनाव, के भन्छन् त्यहाँका पत्रपत्रिका?

नेपालखबर
पुस २२, २०८० आइतबार ७:५८, काठमाडौँ

बंगलादेशमा आज (आइतबार) १२औँ संसदीय निर्वाचन हुँदैछ। बंगलादेशी पत्रपत्रिकामा यसबारेका समाचार प्रमुख रूपमा छापिएका छन्। 

विदेशी पर्यवेक्षकले सबै मतदान केन्द्रमा जान नपाउने– ‘युगान्तर’मा प्रकाशित रिपोर्टमा सुरक्षा र दूरीका कारण विदेशी पर्यवेक्षकले आफ्नो स्वेच्छाले कुनै पनि मतदान केन्द्रमा जान नपाउने उल्लेख गरिएको छ। 

परराष्ट्र सचिव मसुद बिन मोमिनले दर्ता भएका पर्यवेक्षकहरू सडक हुँदै होटल सोनारगाउँबाट दुई घण्टाको दूरीमा रहेको मतदान केन्द्रमा जान सक्ने बताए। यसबाहेक ढाकाबाहिर हवाई सम्पर्क भएका जिल्लाहरूमा जान पाउनेछन्।

१२औँ प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले १२७ विदेशी पर्यवेक्षक र ७३ पत्रकार दर्ता गरेको छ।

रात बितेसँगै मतदान – यो ‘कालबेला’ दैनिक पत्रिकाले छापेको मुख्य समाचार हो। १२औँ प्रतिनिधिसभा निर्वाचनको तयारी पूरा भएको छ। अब मतदानको पर्खाइ मात्रै छ।

विपक्षीको हड्तालका बीच मतदान
चुनौतीका बीच मतदातालाई मतदान केन्द्रमा पुर्‍याउन निर्वाचन आयोग तयार – यो ‘समकाल’को पहिलो खबर हो। विवादास्पद राजनीतिक परिस्थितिमा आइतबार १२औँ राष्ट्रिय संसद्को निर्वाचन हुँदै छ। यसअन्तर्गत बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ। चुनावी नतिजाको प्रिभ्यु आए पनि चिन्ता र जिज्ञासा कायमै छ।

बीएनपीलगायत सबै सरकारविरोधी राजनीतिक दलले यो निर्वाचन बहिष्कार गरेका छन्। उनीहरुले शनिबारदेखि ४८ घन्टा देशव्यापी हडताल गरिरहेका छन्। शुक्रबार रातिदेखि नै देशका विभिन्न भागबाट मतदान केन्द्रमा विस्फोट र आगजनीका समाचार आइरहेका छन् । रेलमा आगलागीको घटना पनि भएको छ।

सत्तारुढ अवामी लिगले मतदान केन्द्रहरूमा मतदाताको संख्या बढाउन डमी उम्मेदवारहरू उभ्याउनेलगायत धेरै कदम चालेको छ। यस्ता डमी उम्मेदवारले कम्तीमा एक तिहाइ सिटमा कडा प्रतिस्पर्धाको वातावरण बनाएका छन्। जसका कारण यस्ता क्षेत्रमा निकै उत्साह छ।

एकचौथाइ मतदान केन्द्र संवेदनशील – यो दैनिक ‘संवाद’को मुख्य समाचार हो। आइतबार हुने संसदीय निर्वाचनका एकचौथाइ मतदान केन्द्रलाई संवेदनशील घोषणा गरिएको छ। ५३ केन्द्रलाई अति संवेदनशीलको श्रेणीमा राखिएको छ।

अन्य संसदीय क्षेत्रमा पनि धेरै संवेदनशील मतदान केन्द्र छन्। यी संवेदनशील र जोखिममा रहेका मतदान केन्द्रमा थप सुरक्षा व्यवस्था गरिएको छ। यी केन्द्रमा विशेष अनुगमन पनि गरिनेछ। निर्वाचन आयोगले यी संवेदनशील मतदान केन्द्रलाई अत्यन्तै महत्त्वपूर्ण रहेको बताएको छ।

निर्वाचनमा पारदर्शिता र प्रतिस्पर्धा
मतदानको चिन्ताका बीच वास्तविक लोकतान्त्रिक चुनावका लागि अपिल – यो ‘देश रुपान्तर’ले लेखेको समाचार शीर्षक हो। 

एसियन नेटवर्क फर फ्रि इलेक्सन्स (एएनएफआरईएल) ले आज जनवरी ७ मा हुने संसदीय निर्वाचनप्रति गहिरो चिन्ता व्यक्त गरेको समाचार पत्रले लेखेको छ। अखबारका अनुसार यी निर्वाचनमा पारदर्शिता र चुनावी प्रतिस्पर्धाको अभाव रहेको उसले बताएको छ।

यसले प्रजातन्त्रका सिद्धान्त र निर्वाचन प्रक्रियाको वैधानिकताका लागि आवश्यक अन्तर्राष्ट्रिय निर्वाचन मापदण्डको पालना भइरहेको छ कि छैन भन्ने प्रश्न उठेको बताइएको छ। 

निर्वाचन प्रक्रियामा सबै दलको सहभागिता र जवाफदेहीताको अभावका कारण पारदर्शिता र प्रतिस्पर्धात्मक निर्वाचन गराउनमा केही कमजोरी भएको एएनएफआरईएल भनाइ छ। यसले प्रतिपक्षको दमन, राजनीतिक स्वतन्त्रतामा ह्रास, नागरिकको निष्पक्ष सूचनामा सीमित पहुँच र निरन्तर राजनीतिक हिंसाजस्ता चुनौतीहरू निम्त्याएको उसको विश्लेषण छ। 

कडा सुरक्षाका बाबजुद पनि चासो र उत्साह – ‘युगान्तर’ पत्रिकाले आफ्नो रिपोर्टमा निर्वाचनको सुरक्षाका लागि झन्डै ८ लाख सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ। यसबाहेक दुई हजार निमित्त मजिस्ट्रेट र ६ सय ५३ न्यायिक मजिस्ट्रेट खटाइने उल्लेख गरेको छ। 

मतदानका लागि यति कडा सुरक्षा व्यवस्था भए पनि भुइँ तहमा त्रास र उत्साहको अवस्था छ। यस अवधिमा देशका विभिन्न स्थानमा मतदान केन्द्रमा आक्रमण र आगजनीका घटना बाहिर आएका छन्। कतिपय ठाउँमा विपक्षी उम्मेदवार र तिनका समर्थकलाई धम्की दिने, शिविरमा तोडफोडलगायतका आरोप पनि सार्वजनिक भइरहेका छन्।

बंगलादेश चुनावको १९७९ मोडल
७९ मोडल चर्चामा तर,  ‘मानव जमीं’ले ​​लेखेको छ– के मतदातालाई भोट हाल्न दबाब दिइँदै छ? निर्वाचन आयोगलाई विदेशी कूटनीतिज्ञहरूको यो प्रश्न अनौठो र बंगलादेशको इतिहासमा सायद पहिलो हो। तर, देशको निर्वाचनप्रति विदेशीको चासो नयाँ भने होइन।

बीएनपीलगायत धेरै राजनीतिक दलले यो निर्वाचन बहिष्कार गरेका छन्। जातीय पार्टी चुनावी मैदानमा भए पनि हालसम्म कम्तीमा ६० जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।  

अवामी लिगले नयाँ संसदमा फरक सिद्धान्त र आदर्शका मानिस राख्न चाहेको स्रोतले जनाएको छ। यस पृष्ठभूमिमा कतिपय विश्लेषकले १९७९ को चुनावको स्मरण गराइरहेका छन्। तर, अहिलेको निर्वाचन र त्यो निर्वाचनमा ठूलो अन्तर छ।

१८ फेब्रुअरी १९७९ मा भएको निर्वाचनमा धेरै राजनीतिक दलले भाग लिएका थिए। त्यतिबेला जिया–उर–रहमान सत्तामा थिए। बीएनपीले २०७ सिट जितेर निर्वाचनमा दुई तिहाइ बहुमत हासिल गरेको थियो। अब्दुल मलेक वकिलको नेतृत्वमा रहेको अवामी लिगले ३९ सिट जितेको थियो। अर्कातर्फ मिजानुर रहमान नेतृत्वको अवामी लिगको दोस्रो समूहले दुई सिट पाएको थियो। त्यसपछि मलेकको समूहलाई वास्तविक अवामी लिगका रूपमा स्वीकार गरियो।

आईडीएल–मुस्लिम लिग गठबन्धन डेमोक्रेटिक फ्रन्टले २० सिट र जेएडीले आठ सिट जितेको थियो। निर्वाचनमा बीएनपीले ४१ प्रतिशत मत प्राप्त गरेको थियो।

अहिलेको निर्वाचनमा देखिएको प्रतिद्वन्द्वीको अन्तिम तस्विरले निर्वाचनपछि बन्ने संसदमा अवामी लिगका नेता र समर्थकको संख्या सबैभन्दा बढी हुने स्पष्ट हुन्छ। बाँकीलाई पनि अवामी लिग निकट मानिने मध्येबाट छनोट गरिने छ। अर्थात् नयाँ संसद एउटा दलका समर्थकमा मात्र सीमित हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad